भ्रष्टाचार गर्दिन भन्नु प्रतिवद्धता होइन भ्रष्टाचार नगर्नु प्रतिबद्धता हाे
एक्सन खबर
कुमार दाहाल
भरखरै स्थानीय तहको चुनाव सकिएर स्थानीय सरकार गठन भएको छ । स्थानीय सरकारका जनप्रतिनिधिहरु दोस्रो कार्यकालकालागि चुनिनु भएको छ । स्थानीय सरकारका थुप्रै नीति, नियम, कानूनहरु बनिसकेका छन् । पहिलो कार्यकाल भन्दा दोस्रो कार्यकालको परिवेश फरक छ । पाँच वर्षमा धेरै परिवर्तन भएका छन् । जनताको मत बदलिदो परिवर्तनको समर्थनमा छ । विश्वपरिवेश, बदलिदो परिस्थिति, युवाहरूको जोश, जाँगर बदलिँदै गएको छ । विकासको स्वरुप हामी नजिकैबाट हेरिरहेका छौं । चुनावका समयमा जनप्रतिनिधिहरुले जनतासमक्ष गरेका बाचालाई जनताले नियालिरहेका हुन्छन् । त्याग र प्रतिबद्धता गर्दा दुरदर्शी भएर गर्नुपर्छ, भोलितिनै विषय आफुलाई प्रत्युत्पादक हुनसक्छन भन्ने विषय चुनावको परिणामले देखाइसकेको छ ।
अहिले जनप्रतिनिधिहरु तलब नलिने, गाडी नचढ्ने, तलब दान दिने, सुविधा नलिने आदि त्याग व्यक्त गर्दै आउनुभएको छ । हामीलाई थाहा छ, नेपाली समाज बहुत सहिष्णु छ । हामी त्याग, सेवा, भावनालाई सम्मान गर्छाैं । त्यसैले हामी सर्वप्रथम त्याग र सेवा नै गर्न खोज्छौं । किनभने यही विश्वास हामीले अहिलेसम्म काेहिबाट पाएका छैनौ । तर त्याग र सेवा कृतिम हुनुहुँदैन । त्याग देखिनु हुँदैन । यो स्वभाविक हुनुपर्छ । सरल हुनुपर्छ र निरन्तर हुनुपर्छ ।
अहिलेको स्थानीय सरकारमा थुप्रै दायित्व छन् । जिम्मेवारीहरु छन् । मानिसमा बेरोजगारी छ । गरिबी छ । पिछडिएको वर्गको विकास गर्नुछ । आन्तरिक स्रोत बढाउनु छ । विकास, निर्माणका थुप्रै अधिकार छन् । अधिकारलाई उत्पादनमा परिणत गर्नु जरुरी छ । संघीयतालाई उत्पादक बनाउनु छ । विश्वास दिलाउनु छ । माला र खादा लगाको जोशमा गरिएको त्याग सधै उस्तै हुनुपर्छ । सरकारबाट दिएका सेवा सुविधा श्रमको मूल्य हो । श्रमको मूल्य दिनुपर्छ । मेहनत गरेको श्रमको मूल्य लिनुपर्छ । कुनै सुविधा नलिदा जीवन चलाउन गाह्रो पर्न सक्छ । त्यसैले तलबभत्ता त्याग गर्नु भन्दापनि स्वार्थ विभेद त्याग्नुहोस् ।
सरकारी प्रक्रिया केही लामा र झन्झटिला हुन्छन् भन्ने कुरो जनप्रतिनिधिहरुलाई थाहा नहुनसक्छ । तर यो यथार्थ हाे ।
जनता, कुनै अमुक दलको हुँदैन । विचार र अधिकारको रुपमा नागरिक स्वतन्त्र हुन्छन् । त्यसैले जुनसुकै सेवाग्राहीलाई लागि सर्वप्रथम जनताको रुपमा हेर्नु सक्नु पर्छ । कुर्सीमा बस्दिन, तलब लिन्न भन्ने विषय त्याग होइन । कुर्सिमा बसेर पनि राम्रा र नराम्रा दुवै काम गर्न सकिन्छ । गाडी चढेर राम्रो र नराम्रो दुबै काम गर्न सकिन्छ । स्वार्थ मात्र त्यागेमा सेवा सुविधा त्याग्नु पर्दैन । यतिखेर गरेको त्यागले मूल्य खोज्छ । मूल्य खोज्ने गरी गरिएको त्याग स्वार्थबाट प्रेरित हुन्छ ।
अहिले विकासको खाँचो जनतालाई छ । स्थानिय बिकासमा सबैको समान सहभागिता र समन्वय सहि भएमा त्यो ठूलो त्याग हाे । त्याग, देखिँदैन अरुबाट मूल्यांकन हुन्छ ।
सरकारी कार्य पणाली प्रक्रियागत छ । नतिजामा पुग्न थुप्रै कार्यविधि पूरा गर्नुपर्छ । परम्परागत प्रशासन छ । प्रशासनमा प्रविधिको प्रयोग न्यूनतम छ । प्रविधिमा पैसा खर्च गरेपनि उन्नत हुन सकेको छैन । भर्खर जनताको मत लिएर आएका प्रतिनिधिहरुलाई छिट्टै नतिजा दिनुछ । जनताका बाचा पुरा गर्नुछ । सरकारी प्रक्रिया केही लामा र झन्झटिला हुन्छन् भन्ने कुरो जनप्रतिनिधिहरुलाई थाहा नहुनसक्छ । तर यो यथार्थ हाे ।
पालिकामा निर्णयमा पुग्न समन्वय, सहभागीता, पारदर्शिताको जरुरत पर्छ । कुनैपनि कामहरु बाहिर भनेजस्तो हुँदैन । कानुन अनुरुप काम गर्नुपर्छ । प्रक्रिया कुर्नु पर्छ । पालिका भित्र एउटा संस्कृति छ । संस्कार छ । पद्धति छ । विकास गर्ने तौरतरिका छन् । कर्मचारी छन् । कर्मचारीहरुका आफ्नै सम्बन्ध छन् । सम्पर्क छन् । कर्मचारीहरुमा एउटा काम गर्ने शैली छ ।संस्कृति छ । कानुन भित्र काम गर्न झन्झटिलो हुनसक्छ तर जति झन्झटिलो भएपनि प्रक्रिया पुरा गर्नु नै पर्छ । किनभने नतिजाले पनि प्रक्रिया खाेज्छ । इमान्दार र अनुशासनमा रहेर सरकारी निर्णय गरिदियो भने नतिजा प्राप्त हुन्छ । तर हामी यही नै चुक्छौं । यहीबाट स्वार्थ शुरु हुन्छन् याे हामीले भोगेको र अनुभव गरेको विषय हो । पालिका भित्रको संस्कृति, व्यवहार, ऐन, कानुन बुझ्न सक्नु नै आधा सफलता प्राप्त गर्नु हाे ।
भ्रष्टाचार गर्दिन भन्नु प्रतिवद्धता होइन भ्रष्टाचार नगर्नु प्रतिबद्धता हाे । भ्रष्टाचार नगर्न थुप्रै त्याग गर्नुपर्छ । अहिले स्थानिय बिकासमा खानेपानी, सरसफाइ, फोहोर मैला व्यवस्थापन, बालकल्याण, जग्गा व्यवस्थापन, बगैचा निर्माण, पुरातात्विक संरक्षण, बजारको विकास, कर नियमन, मूल्य नियमन, सामाजिक सुरक्षाका विषय जनताले पर्खेर बसेका छन् । के त्याग गर्ने भन्दापनि नागरिकसँग मिलेर काम गरेमा ठूलो फाइदा हुन्छ । वास्तविक प्रतिबद्धता यही हो ।
बजारमा थुप्रै स्वार्थ समूह छन् । चुनावमा पछि लागेको मान्छेले पालिकामा आफ्नो स्थान खोज्न सक्छ । ठेक्का पट्टा, परामर्शदाता आशामा उनीहरु नजिकै आउछन् । जब टाढा पुग्छन् अनि विरोध हुन सक्छ । सरकारी ऐन, कानून, नीति नियम, प्रक्रिया र व्यवस्थापनको कारणले बाहिरका समूहहरु पालिकासँग रिसाउँछन् । किनभने उनीहरु प्रक्रियाभन्दा बाहिर नतिजा खोज्छन् । जब प्रतिनिधिहरु पालिका भित्र प्रशासन बुझ्न थाल्नुहुन्छ त्यसपछि यथार्थकाे नजिकै पुगिन्छ । प्रणालीभित्र रहेर नतिजा दिन सक्नु नै सबैभन्दा ठूलो त्याग र प्रतिबद्धता हाे । प्रणालीभित्र नबस्दा बेरुजु, भ्रष्टाचार, अनियमितता बढेको छ । त्यसैले कुनै सेवा सुविधा त्याग गर्नु भन्दा कानुनको शासन भित्र बस्दा प्रतिबद्धताहरु पूरा गर्न सक्छ ।
विकासको व्यवस्थापन गर्नु नतिजा नजिकै पुग्नु हो । पालिकाको स्रोतलाई नीति, योजना, बजेट, कार्यक्रम र कार्यान्वयन सम्म नतिजाले पछ्याउनु पर्छ । पालिकामा सूचना प्रबिधि, अभिलेख, महत्वपूर्ण विषय हुन् । आवधिक योजना, मध्यकालीन खर्च संरचनाबाट आर्थिक अनुशासन कायम गरेमा विकास निर्माणमा फड्काे मार्न सकिन्छ । निजी, गैरसरकारी, सहकारी र पालिका मिलेर थुप्रै काम गर्न सकिन्छ । सहभागिता समन्वय महत्वपूर्ण विषय हुन् ।
कसैलाई काखा र कसैलाई पाखा नपारी व्यवहार गर्नु नै नतिजा प्रतिको प्रतिबद्धता त्याग हाे । र प्रतिबद्धता यसैमा झल्काउनु पर्छ । त्याग र प्रतिबद्धताको मूल्यांकन नतिजामा देखिन्छ । जनताले मूल्याङ्कन गर्छन् । आजदेखि नै हामी यता लाग्याैं भने जनमत सदुपयोग हुन्छ र स्थानिय सरकारमा सही र योग्य नेतृत्वको बिकाश सुरु हुन्छ ।
0 प्रतिकृया