Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


‘सार्वजनिक पदमा रहेकाले यौन हिंसा गरे थप दुई वर्ष सजाय राखाैं’ ‘पुरुष पनि पीडित छन् नभुलाैं’

एक्सन खबर
जेठ, २३, २०७९


‘सार्वजनिक पदमा रहेकाले यौन हिंसा गरे थप दुई वर्ष सजाय राखाैं’ ‘पुरुष पनि पीडित छन् नभुलाैं’

काठमाडौं, २३ जेठ । संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि सैद्धान्तिक छलफल भइरहेको छ । प्रतिनिधिसभा बैठकमा जारी छलफलमा सहभागी सांसदहरूले विद्यालयदेखि कार्यक्षेत्रमा यौन हिंसा घटना सार्वजनिक भइरहेकाले कानुन कडा बनाइनुपर्ने बताएका छन् ।

हद म्याद राख्नुपर्ने र नपर्ने दुवै पक्षमा सांसदहरुले आ–आफ्नो धारणा राखेका छन् । जति चाँडै उजुरी दियो त्यत्ति चाँडो नै प्रमाण भेटिन र न्याय सम्पादनमा सहज हुने भनिए पनि अहिले ठिक उल्टो भइरहेको भन्दै उनीहरुले शिक्षित र सामान्य व्यक्तिको हकमा हद म्याद राख्नुपर्ने र बालबालिकाको हकमा भने विशेष व्यवस्था गरिनुपर्ने बताए ।

कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक पदमा रहेका व्यक्तिले यौन हिंसा गरेमा उसलाई थप दुई वर्ष कैद सजाय हुनेगरी कानुन बनाउनुपर्ने सुझाव दिएका छन् ।

उनले यौन हिंसाको घटनामा सार्वजनिक पद धारण गरेका व्यक्ति दोषी पाइपामा उसलाई थप दुई वर्ष कैद सजाय हुने व्यवस्था गर्नुपर्ने बताए ।  पीडितलाई पीडितले धम्काउने, प्रलोभनमा पार्ने कार्यमा सार्वजनिक पद धारण गरेका व्यक्ति संलग्न भएमा उसलाई दुई वर्ष कैद सजाय हुने व्यवस्था गर्नुपर्ने थापाको सुझाव छ ।

उक्त विधेयकमा ६ महिना बढी कैद भनिएको भन्दै उनले यसलाई कम्तिमा पनि दुई वर्ष बनाउनुपर्ने बताए ।

उक्त छलफलमा सहभागी सांसदहरुले हद म्याद राख्नुपर्ने र हदम्यादको समय भने बढाइनुपर्ने बताएका छन् । हदम्याद नराख्दा निर्दाेष व्यक्ति फसाउने षड्यन्त्रमा पनि हुन सक्ने भन्दै उनीहरूले हद म्यादसहित यौन हिंसाका विषयमा कडा कानुन बनाउनुपर्ने सुझाव दिएका छन् ।

सांसदहरूले यौन हिंसा घटनामा दोषी उम्कन नहुने र निर्दाेषले सजाय भोग्ने अवस्था सृजना नहुने गरी कानुन बनाउनुपर्ने बताएका छन् ।

सांसद गंगा चौधरीले महिला वा पुरुष जोसुकै दोषी भए पनि कारबाही हुने गरी कानुन बनाउनुपर्ने बताइन् । पुरुषका लागि पनि सांसदले आवाज उठाउनु पर्ने बताएकी उनले महिलाको मात्र होइन पुरुषको पीडाको लागि पनि कानुन बोल्नुपर्ने बताइन् ।

पुरुषको पक्षमा पनि कानुन संशोधन गर्नुपर्ने बताएकी उनले भनिन्, ‘पुरुष पनि पीडित छन् भन्ने कुरा भुल्नु हुँदैन ।’ निर्दाेष पुरुष नफस्ने गरी कुन कुन अवस्थाका लागि हदम्याद राख्ने भन्ने विषयमा ख्याल गर्नुपर्ने बताएकी उनले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने बताइन् ।

मन मिलेसम्म लभ र नमिले बलात्कारको आरोप लगाएर जेल हालेको सदनमै पूर्वसभामुखको घटना हेरेको भन्दै उनले भनिन्, ‘मन मिलेसम्म ’लभ’ र नमिलेपछि ’रेप’को संज्ञा दिने ? सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हेरेका छौं । बलात्कारको संज्ञा दिएर ६ महिना जेल कोचियो । यो कुरा हामीले भुल्नु हुँदैन ।’

आफूलाई महिलाको विरुद्धमा बोलेको आरोप नलगाउन आग्रह गर्दै उनले आफू सांसद रहेको र देशका लागि कानुन बनाउँदा सबै पक्षको ख्याल गरिनुपर्ने बताइन् ।













0 प्रतिकृया