फ्लाइओभर र अन्डरपासकाे काम थाँति राखेर फाेहर व्यवस्थापनमा लाग्न थापाकाे सुझाव
एक्सन खबर
काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका सांसद गगन थापाले एकैपटक धेरै आयोजना बनाउँदा एउटा पनि नबन्ने अवस्था आउने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा भौतिक पूर्वाधार मन्त्रालय शीर्षकमा छलफलमा भाग लिँदै उनले कसले कम अंकको टेन्डर हात पार्छ भन्ने होइन, कसले कम समयमै आयोजना सक्छ त्यस्ता निर्माण व्यवसायीलाई टेन्डर दिनुपर्ने बताए ।
उनले ०७२ सालमा पारेको बजेट अहिले पनि कार्यान्वयन हुँदैछ भने यस्तो अवस्थामा एकैपटक धेरै आयोजना छुट्याउन नहुने बताए ।
सांसद थापाले आफ्नो निर्वाचन क्षेत्रमा सडक आयोजना बनाउन बेहोरेको सास्तीबारे फेहरिस्त प्रस्तुत गरे । उनले सडक समयमै बनाउन भन्दै निर्माण व्यवसायीको घरमा पुगेको, सडक कार्यालयमा धर्नासमेत दिइएको स्मरण गरे ।
उनले अहिले काठमाडौं वरिपरिको सडक फोहोरले भरिएको भन्दै हिजोको नेतृत्वले राम्रो काम नगरिदिएकाले यस्तो अवस्था आइरहेको उल्लेख गरे । फोहोर व्यवस्थापनका विषयमा अहिलेको काठमाडौं महानगर र सहरी विकास मन्त्रालयको नेतृत्वले उचित निर्णय लिइरहेको भन्दै प्रशंसा पनि गरे ।
‘सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकामा अहिले नयाँ नेतृत्व छ । यी दुवै नेतृत्वले प्रशंसायोग्य काम गरिरहनुभएको छ र फोहोर उठ्न थाल्यो भन्ने कुरा हामीले सुन्यौँ । तर आज फेरी अवरोध भयो भन्ने सुनेको छु ।’ थापाले अगाडी भने–‘फोहोरको समस्या समाधानमा कहाँ समस्या परेको हो सहरी विकास मन्त्रीले संसद्लाई भन्नुहोला, हामी सहयोग गर्न चाहन्छौँ’, थापाले भने ।
फोहोर व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयको बजेटले नपुग्ने भन्दै उनले यस वर्ष काठमाडौंमा फ्लाइओभर र अन्डरपास नबनाउन सुझाव दिए । फोहोर व्यवस्थापन गर्न अर्बौ रुपैयाँ चाहिने भएकाले उनले फ्लाइओभर र अन्डरपासको काम थाती राखेर फोहोर व्यवस्थापनमा जुट्न आग्रह गरे ।
0 प्रतिकृया