केएमसीमा अत्याधुनिक बिएमडी, सिबिसिटी र मेमोग्राफी सेवा सञ्चालनमा
एक्सन खबर
काठमाडौं । स्वास्थ्य सेवामा अत्याधुनिक उपचार पद्धति विस्तार गर्दै आएको काठमाडौं मेडिकल कलेज (केएमसी)ले दन्त, हाडजोर्नी तथा स्तनसम्बन्धी रोगको पहिचान गर्न नयाँ प्रविधि भित्र्याएको छ ।
काठमाडौं सिनामंगल स्थित केएमसीले दन्तरोग सम्बन्धी सम्पूर्ण समस्याको पहिचान गर्न सिबिसिटी (Cone beam computed tomography), हाडजोर्नी सम्बन्धी समस्याको पहिचानका लागि बिएमडी (Bone Mineral density) तथा स्तनसँग सम्बन्धी सबै प्रकारका रोगहरू पत्ता लगाउन मेमोग्राफी सेवा सुरु गरेको हो ।
केएमसीका रेडियोलोजी विभागका इन्चार्ज डा. प्रदीप मिश्रका अनुसार दाँत तथ गिजाको सम्पूर्ण समस्या पहिचान गर्न केयरस्ट्रीम डेन्ट कम्पनीद्वारा निर्माण गरिएको अत्याधुनिक सिबिसिटी थ्रिडी सिटी स्क्यान भित्र्याइएको छ । यसले थ्रिडीमा तस्वीरहरू निकाल्ने भएकाले दाँत तथा गिजाको सिटी स्क्यानमा जुनसुकै प्रकारको समस्या पहिचान गर्न सहज हुनेछ । साथै, दाँत प्रत्यारोपणमा समेत सहयोग पुग्नेछ ।
यसैगरी केएमसीले रेडियोलोजी विभाग अन्तरगत उमेर बढ्दै जाँदा हड्डी कमजोर हुने (ओस्टियोपोरोसिस) जस्तो रोगको पहिचान गर्न बिएमडी (Bone Mineral density) पनि सञ्चालनमा ल्याएको छ । यसले बुढेसकालमा हड्डी कमजोर भएर भाँचिने समस्याको निदानको लागि ठूलो सहयोग पुग्ने डा. मिश्रले बताए । ‘उमेर बढ्दै गएपछि हाम्रो शरीरको हड्डीमा पाईने फस्फोरस, क्याल्सिएम, मिनरल्स जस्ता खनिज पदार्थको मात्र घट्दै जान्छ । बिएमडीले हड्डीमा भएको खनिज पदार्थको मात्राको अध्ययन गरी उपचारमा सहयोग पुर्याउने छ ।’ डा. मिश्रले भने ।
यस्तै केएमसीले स्तन क्यान्सर सम्बन्धी रोगको पहिचानका लागि अत्याधुनिक मेमोग्राफी समेत भित्र्याएको छ । यसले स्तनको डिजिटल एक्सरे गरी प्रारम्भिक चरणमै स्तन क्यान्सर भएको नभएको पत्ता लगाउन सकिन्छ । ४० वर्षभन्दा माथिका महिलाहरूमा स्तन क्यान्सर हुने सम्भावना प्रबल हुने भएकोले मेमोग्राफी गर्न आवश्यक रहेको डा. मिश्रले बताए । ‘प्रायः ४० वर्ष उमेर कटेपछि महिलाहरूमा स्तन क्यान्सर हुनसक्ने सम्भावना धेरै हुन्छ । सुरुवाती अवस्थामै स्तन क्यान्सरबाट बच्न तथा स्तनको स्वास्थ्य अवस्था थाहा पाउन हामीले भर्खरै भित्र्याएको मेमोग्राफीले ठूलो सहयोग गर्छ ।’ डा. मिश्रले भने ।
स्वास्थ्य सेवामा विश्व जगतमा पछिल्लो समय प्रयोगमा आएका नयाँनयाँ प्रविधिहरू भित्र्याउँदै गुणस्तरीय स्वास्थ्य सेवा दिन थालिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले बताए । उल्लेखित सेवाहरू सर्वसुलभ मूल्यमा प्रदान गरिरहेको दाहालको भनाई छ ।
केएमसीले अत्याधुनिक सिटी स्क्यान, १२८ स्लाइस डिजिटल एक्स–रे, पिएफटी, इको, फाइब्रोस्क्यान, इसिजी, इण्डोस्कोपी, कोलोनस्कोपी, टिएएमएस जस्ता गुणस्तरीय उपकरणहरु प्रयोगका ल्याएको छ । निकट भविष्यमै केएमसीले अत्याधुनिक थ्री टेस्ला एमआरआई समेत सञ्चालन गर्ने भएको छ ।
विराटनरमा नोबेल शिक्षण अस्पतालको सफल सञ्चालन गरेर पूर्वी नेपालमा ख्याति कमाएका डा. सुनिल शर्माको नेतृत्वमा केएमसी आएसँगै स्वास्थ्योपचारमा उल्लेखनीय फड्को मारेको छ । आम नागरिकले सर्वसुलभ मूल्यमा नेपालमै अन्तराष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्राप्त गर्न सकुन भनेर अत्याधुनिक सेवाहरू थप गरिएको डा. शर्माको भनाई छ ।
0 प्रतिकृया