Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


राजनीतिमा ७० वर्षपछि अवकास, गृहमन्त्रीकाे राजिनामा देखि काठमाडाैंकाे फाेहर र कृषकले भाेगेकाे सास्तीका कुरा

एक्सन खबर
जेठ, २५, २०७९


राजनीतिमा ७० वर्षपछि अवकास, गृहमन्त्रीकाे राजिनामा देखि काठमाडाैंकाे फाेहर र कृषकले भाेगेकाे सास्तीका कुरा

काठमाडाैं, २५ जेठ । प्रतिनिधि सभाकाे आजकाे बैठकमा बाेल्ने वक्ताहरूले काठमाडाैंकाे फाेहरकाे समस्या देखि कृषकले समयमै मल पाउन नसकेकाे तथा समाजमा बलाल्कार र हिंसाका घटना बढेकाे प्रति गृहमन्त्री बालकृष्ण खाँडकाे राजिनामा समेत माग गरेका छन् ।

संसदमा विनियाेजित विधेयकमाथिकाे छलफलमा सहभागी सांसदहरूले काठमाडाैंकाे फाेहर व्यवस्थापन, कृषकले मल नपाउँदा व्यहाेरेकाे सास्ती, राजनीति गर्न उमेर हदबन्दी तथा गृहमन्त्रीकाे राजिनामा माग गरेका हुन् ।

एमाले सचिव योगेश भट्टराईले ७० वर्ष नाघेकालाई राज्यको कुनै पनि निकायमा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताए ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले अन्य क्षेत्रमा जस्तै राजनीतिमा पनि अवकाशका लागि उमेर हदको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

‘संविधान अब केही विषयमा संशोधन गर्नुपर्ने हुन्छ । ६५ अथवा ५८ वर्षमा अवकाशका प्रणाली राखेको छौँ,’ उनले भने, ‘तर, राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ । अब ७० वर्ष नाघेका मानिसहरू कुनै पनि राज्यका निकायमा चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने ? हामीलाई र्‍यालसिंगान काढ्ने, कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिएको होइन । काम गर्ने चाहिएको हो ।’   

यस्तै नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गरे । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्र फोहोर व्यवस्थापन गर्न नसक्ने भन्दै उनले प्रधानमन्त्रीलाई पहलकदमी लिन माग गरेका हुन् ।

सांसद थापाले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने भन्दै काठमाडौंवासीलाई आग्रह गरेका छन् । उनले काठमाडौं उपत्यकाका अन्य नगरपालिकाले पनि फोहोर व्यवस्थापनमा सहयोग गर्न पनि सुझाव दिए ।

थापाले किसानलाई बेलैमा आवश्यकताअनुसार मल उपलब्ध गराउन नसक्नु राजनीतिज्ञ र सरकारको सामूहिक असफलता भएको बताए । उनले हरेक वर्ष मल आयातका लागि बजेट छुट्याए पनि मल आयात हुन नसकेपछि अब संरचना नै परिवर्तन गर्नुपर्ने बताए ।

सरकारले किसानलाई मल नदिने र सीमापारबाट ल्याएको मल खोसेर बहादुरी देखाउने गरेको टिप्पणी गरेकाे बताउँदै उनले मल आयात गर्ने संरचना नै परिवर्तन गर्नुपर्ने बताए ।

‘सरकारले मल उपलब्ध गराउन नसक्दा पीडा भोगेका किसानको आँशुले पोल्नेछ,’ उनले भने, ‘पैसा छ । मल छैन । पैसा भएर पनि मल आयात गर्न वर्षाैंदेखिको संरचना अब परिवर्तन गर्नुपर्छ ।’

यता एमाले सांसद खगराज अधिकारीले देशकै ठूलो त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म तालाबन्दी हुनुमा गृहमन्त्री बालकृष्ण खाँण दोषी भएको आरोप लगाए ।

उनले गृहमन्त्री खाँणको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी गरिएको आरोप लगाउँदै आफैं तालाबन्दी गर्न लगाउने अनि सुशासनको कुरा गर्न नसुहाउने भन्दै आपत्ति जनाए ।

सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको भन्दै गृहमन्त्री खाँडकाे राजिनामा माग गरिन् ।

‘बलात्कार र हिंसाका घटना टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ,’ उनले भनिन्, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन् । रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो । यसरी अशान्ति टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताकाे आधारमा राजीनामा दिनुपर्छ ।’

कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले उपसभामुख पद आवश्यक नभए खारेज गर्न माग गरेका छन् । सिंहले लामो समयदेखि उपसभामुख पद नहुँदा पनि संसद् चलेकाले यदि त्यो पद आवश्यक नभए खारेज गर्न उनले माग गरे ।

‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नू,’ उनले भने । सिंहले राज्य व्यवस्था समितिका सभापति पद पनि खाली भएकाले तुरुन्त सो पदमा नियुक्त गर्न माग गरेका छन् ।













0 प्रतिकृया