Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


काठमाडौंको फोहोर उठाउन मध्यराति जुट्यो १८ बुँदे सहमति

एक्सन खबर
जेठ, २७, २०७९


काठमाडौंको फोहोर उठाउन मध्यराति जुट्यो १८ बुँदे सहमति

काठमाडौं, २७ जेठ । दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर उठ्ने भएको छ । काठमाडौं महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच शुक्रबार बिहान १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो ।

सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह,  उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका-१ का अध्यक्ष पदमबहादुर श्रेष्‍ठ बलामी, ककनी गाउँपालिका-२ का अध्यक्ष तिलक बहादुर लामा, धुनीबेंसी नगरपालिका-१ अध्यक्ष बहादुर तामाङ र धुनीबेंसी नगरपालिका-३ का अध्यक्ष प्रकाश हमालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौं महानगरपालिकाबीच भएको १८ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ ।

यसअघि पनि आन्दोलनरत क्षेत्रका जनप्रतिनिधि र महानगरसँगै सहरी विकास मन्त्रालयबीच सहमति जुटेको थियो । तर, स्थानीयले आन्दोलन जारी नै राखेका थिए ।

सहमति अनुसार सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गरिने, फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिना भित्र मिलाउने सहमति भएको छ।

यसैगरी, फोहोरमैला प्रभावित क्षेत्रको वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने र अध्ययनले दिएको कार्यहरु कार्यान्वयन गर्न पहल गर्ने, फोहोरमैला व्यवस्थापनको कारण प्रभावित भएका क्षेत्रको विकास निर्माणका लागि काठमाडौ महानगरपालिकाले वार्षिक रुपमा बजेट विनियोजन गर्ने, फोहोरलाई स्रोतमा वर्गीकरण गरी व्यवस्थापन गर्ने कार्यको जिम्मेवारी महानगरपालिकाको हुने, प्रभावित क्षेत्रको शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरपालिकाले सहयोग गर्नेलगायतका विषय सहमति भएकाे छ।















0 प्रतिकृया