प्रधानमन्त्रीकाे अमेरिका भ्रमणकाे औचित्य माग, किसानलाई मल उपलब्ध गराउन रूलिङ
एक्सन खबर
काठमाडौं, २९ जेठ । यस्तै, प्रमुख प्रतिपक्षी दल एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।
सांसद ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउनुपर्ने माग गरेका हुन् । प्रधानमन्त्री देउवाको भ्रमण राजकीय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको रहेको भन्दै उनले यसबारे संसदमा जानकारी दिनुपर्ने बताएका हुन् ।
सत्तारुढ दलकै प्रमुख सचेतकले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द गर्नुपर्ने बताएको भन्दै सांसद ज्ञवालीले यो सामान्य विषय नभएकाले पनि सदनलाई जानकारी गराउनुपर्ने बताए ।
यसबारे प्रधानमन्त्री देउवाले संसदमा जानकारी गराउनुपर्ने भन्दै ज्ञवालीले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा सदन अनुत्तरित रहनु हुँदैन भन्ने मलाई लाग्छ । सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट यस विषयमा सदनलाई अविलम्ब जानकारी गराउनु आवश्यक छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु ।’
प्रधानमन्त्री देउवा आउँदो असारमा अमेरिका भ्रमणमा जाने तयारी गरेका छन् ।
किसानलाई मल उपलब्ध गराउन सभामुखको रुलिङ
सभामुख अग्निप्रसाद सापकोटाले किसानलाई मल उपलब्ध गराउन सरकारको नाममा रुलिङ गरेका छन् । प्रतिनिधिसभाको जारी ११औँ अधिवेशनका बैठकमा सांसदहरुले धान रोप्ने समय भइसक्दा पनि मल नपाएर किसान प्रताडित बनेको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले आइतबार सरकारको नाममा रुलिङ गरेका हुन् ।
आइतबारको बैठकमा सभामुख सापकोटाले किसानलाई यथाशीघ्र मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका हुन् ।
बैठकमा सभामुख सापकोटाले भने, ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र कृषकहरुलाई मल उपलब्ध हुनसक्ने गरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।
एमाले सांसद शेरबहादुर तामाङले प्रतिबन्धित् गाँजाको औषधीय गुणलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गाँजा बन्ने सीबीडी र सीबीडीबाट बन्ने औषधिले क्यान्सर, एड्सजस्ता प्राण घातक रोग निको पार्न सक्ने भन्दै व्यवस्थित गर्न आग्रह गरे ।
गाँजाको औषधीय गुणलाई वैधानिकता गर्न सरकारसँग माग गर्दै उनले गाँजा खेतीबाट नेपालको पूर्वाधार विकास र राज्यको १६ खर्ब ऋण एक दुई वर्षमा तिर्न सकिने दाबी गरे ।
गाँजालाई वैधानिकता दिनुपर्ने माग उठिरहेका बेला सांसद तामाङले यसको औषधीय गुण प्रयोग गर्न र गाँजा उत्पादन गरेर विदेश निर्यात गर्न माग गरेका हुन् ।
0 प्रतिकृया