निःशुल्क स्वास्थ्य परीक्षणले धरानबासी लाभान्वित
एक्सन खबर
धरान,५ असार । परिवर्तनका लागि सामाजिक अभियान नामक संस्थाद्वारा विगत ११ महिनादेखि आयोजना हुदै आएको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक १८ औं पटक सम्पन्न भएको छ ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परिक्षण भएको सो क्लिनिकमा मुटुरोग, रक्तचाप र मधुमेह सम्बन्धी परीक्षण गरिँदै आएको थियो । ७० वर्ष माथिका करिब १०७ जना बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको क्लिनिकमा यसपटक मुटुमा राखिएको पेसमेकरको अवस्थाको समेत जाँच गरिएको परिवर्तनका लागि सामाजिक अभियानका अध्यक्ष विष्णु बरालले जानकारी दिए ।
सो शिबिरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स शिल्पा श्रेष्ठले रक्तचाप परीक्षण गर्ने कार्य गरेकी थिइन् ।
बरालले यस पटकदेखि बिरामीहरुको मुटुमा राखिएको पेश मेकरको अवस्थाको मेशिनद्वारा निःशुल्क रुपमा जाँच गर्न शुरु गरेको बताए ।
उक्त शिविर त्रिभुवन बरालको संयोजकत्वमा भएकाे हाे भने वर्षा अग्रवाल, भोजराज श्रेष्ठ, विजय श्रेष्ठ, जेनिश शाक्य, हेम ढकाल लगायतका अभियन्ताहरुको सहभागिता रहेको छ ।
वडावडामा आयोजना गर्ने लक्ष्यअनुरुप १८ औं संस्करणको कार्यक्रम इलामेली समाज सुनसरीको सहकार्यमा आयोजना गरिएको र यो कार्यक्रम हरेक महिनाको पहिलो र तेश्रो शनिबार धरानका विभिन्न वडाहरुमा आयोजना गर्दे आईरहेको बराले बताए ।
अभियानले धरानको शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा काम गर्दै आईरहेको छ भने आर्थिक अबस्था कमजोर भएका परिवारका विद्यार्थीहरुलाई निःशुल्क अध्यापन गराउने कार्यक्रम ‘घरको स्कूल’ कार्यक्रम समेत अभियानले सञ्चालन गर्दै आइरहेको छ बराले जानकारी दिएका छन् ।
यसैबीच परिवर्तनका लागि सामाजिक अभियानले धरानका पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धन गर्ने मनसायले चित्रकला कार्यशाला आयोजना समेत गर्ने भएको छ ।
सुनसरी, मोरङ र झापाका वरिष्ठ कलाकारहरुको सहभागितामा भोलि ६ गते सोमबार, धरान घण्टाघर परिसरमा कार्यक्रम आयोजना गर्ने अभियानका अध्यक्ष बरालले बताए । कार्यशालामा चित्रकारहरुले धरानका पर्यटकीय क्षेत्रहरुको चित्र बनाउने समेत उनले बताए ।
0 प्रतिकृया