गढी गाउँपालिकाकाे नीति तथा कार्यक्रम पारित
एक्सन खबर
दुहवी । सुनसरीको गढी गाउँपालिकाकाे आर्थिक वर्ष २०७९।८० को निति तथा कार्यक्रम पारित भएकाे छ । गाउँपालिकाकाे कार्यपालिका बैठकले नीति तथा कार्यक्रम पारित गर्दै बिहीबार सार्वजनिक समेत गरेकाे छ ।
गाउँ पालिकाका अध्यक्ष आश नारायण चौधरीले आर्थिक वर्ष २०७९/०८० काे नीति तथा कार्यक्रम पेश गर्दै गाउँपालिकाले ‘कृषि, शिक्षा पर्यटन र उद्योगमा अगाडी, स्वस्थ, सुन्दर, समतामुलक संमृद्ध गढी’ को मुल नारा लिएकाे बताए । पालिकामा विकासका आधारभूत आवश्यक्ताहरू समेत नभएकाे अवस्थामा आगामी आर्थिक वर्ष शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा राेजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएकाे जानकारी दिए ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० मा संघीय सरकारबाट २९ करोड ५७ लाख रुपैंया बजेट प्राप्त गरेकाे जनाउँदै पालिका प्रमुख चाैधरीले अन्य पालिकाहरूकाे भन्दा कम बजेट प्राप्त भएतापनि जनताका आधारभूत आवश्यक्ता र विकासका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
गाउँपालिकासँग आफ्नाे आम्दानीकाे श्राेत सिमित भएकाले संघीय सरकारसँग भरपर्नु पर्ने बताउँदै अध्यक्ष चाैधरीले सिमित बजेटका बाबजुद पनि काम गर्ने बताए ।
कोभिड–१९ बाट सिर्जित भएको र हुनसक्ने स्वास्थ्य संकट व्यवस्थापन गर्ने, कृषि क्षेत्रमा आधुनिकीकरण एवं व्यवसायीकरण गरेर उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्ने, सामुदायिक शिक्षाकाे सुधार गर्ने, अति आवश्यक भौतिक पूर्वाधारको विकास गर्ने, गाउँपालिकाबाट प्रवाह हुने सेवाहरुलाई चुस्त दुरुस्त, सरल, सहज र प्रविधिमैत्री बनाउने नीति लिइएकाे छ ।
यसैगरी, गाउँपालिकाकाे कामकारवाही प्रति नागरिकहरूकाे भरोसा बृद्धि गर्ने, लक्षित वर्गका लागि मुलप्रवाहिकरण सशक्तिकरण र रोजगारी सिर्जना गरी आत्मनिर्भर बनाउने पालिकामा रहेका स्वास्थ्य संस्थाहरूलाइ स्तराेन्नति गर्ने, सेवा प्रवाह बढाउने, युवाहरूकाे व्यक्तित्व विकास, क्षमता विकास गर्न यथाेचित कार्यक्रम ल्याइने, खेलकुद क्षेत्रकाे विकासका लागि गढी खेल मैदानलाई क्षेत्रियस्तरको रंगशालाको रुपमा विकास गर्ने, गाउँमै रोजगारीको अवसरहरु वृद्धि गराउने जस्ता कार्यक्रमहरु तयार पारिएकाे अध्यक्ष चाैधरीले जानकारी दिए ।
गढी गाउँपालिकाले महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूका लागि पनि समुचित कार्यक्रम बनाउने भनेकाे छ । विपन्न, दलित, तथा गरिबीकाे रेखामुनी रहेका जनताकाे जिवनस्तर उकास्न सीपमुलक, राेजगार मुलक कार्यक्रम तयार गर्ने भनिएकाे छ । समाजमा विद्यमान सबैखाले विभेद, महिला तथा बालबालिकामाथि हुने हिंसाकाे अन्त्यका लागि अभियान सञ्चालन गर्ने भनिएकाे छ ।
0 प्रतिकृया