Follow us:


Follow us

१० वैशाख २०८३, बिहिवार
१० वैशाख २०८३, बिहिवार


धरान उपमहानगरपालिकाकाे बजेट करिब ३५ करोडले घट्याे

एक्सन खबर
असार, ११, २०७९


धरान उपमहानगरपालिकाकाे बजेट करिब ३५ करोडले घट्याे

धरान । सुनसरीकाे धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० को लागि १ अर्ब ६८ करोड बजेट सार्वजनिक गरेकाे छ । शुक्रबार धरानको ११ औं नगरसभामा उपप्रमुख अइन्द्रबिक्रम बेघाले आगामी बर्षको लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट प्रस्तुत गरे ।

धरानकाे आगामी आर्थिक बर्ष २०७९/८० को बजेट चालु आर्थिक बर्ष २०७८/८९ को भन्दा करिब ३५ करोड कम रहेकाे छ । चालु आर्थिक बर्षमा धरानको बजेट २ अर्ब ३ करोड ६४ लाख थियाे ।

धरान उपप्रमुख बेघाले कुल बजेटको ४९.४६ प्रतिशत अर्थात आगामी आर्थिक बर्षमा कुल विनियोजित बजेट मध्ये चालुतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४ सय २२ रुपैया विनियोजन गरेको जानकारी दिए । पूजीगततर्फ ८१ करोड ९५ लाख ५० हजार ५ सय ५८ रुपैया अर्थात, कुल बजेटको ४८.६१ प्रतिशत विनियाेजन गरिएकाे छ । वित्तिय व्यवस्थातर्फ  १.९३ प्रतिशत, ३ करोड २५ लाख विनियोजन गरिएको छ ।

नगरले आगामी बर्ष खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वका स्रोतबाट २५ करोड, संस्थागत आन्तरिक अनुदान ५ करोड २० लाख, संघीय सरकार अनुदानबाट ८३ करोड ४ लाख, प्रदेश सरकार अनुदान ३ करोड ५० लाख ७० हजार, संघीय राजश्व बाँडफाँटबाट २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजश्व बाँडफाँटबाट २० करोड अनुमान गरेकाे छ । साथै, अपुग हुने ११ करोड ३० लाख ८ हजार नगद मौज्दात परिवर्तनबाट व्यवस्थापन हुने अनुमान गरिएकाे छ ।

सार्वजनिक बजेटले खानेपानी, पुर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

बजेटमा धरानका २० वटै वडाको लागि ३१ करोड ५० लाख विनियोजन गर्दा शहरी योजना तथा भौतिक पुर्वाधार विकासतर्फ ३९ करोड १० लाख, शिक्षा युवा तथा खेलकुदतर्फ ४० करोड ९७ लाख, स्वास्थ्यतर्फ ४ करोड २ लाख, सामाजिक विकासतर्फ ५ करोड ८२ लाख २३ हजार विनियाेजन गरिएकाे छ ।

यस्तै, आर्थिक विकासतर्फ २ करोड ७२ लाख, पर्यटनतर्फ ३० लाख, सुचना तथा सञ्चारतर्फ २५ लाख, साहित्य कला र सँस्कृतितर्फ ४५ लाख विनियोजन गरिएको उपप्रमुख बेघाले जानकारी दिएका छन् ।

यसअघि नगरकाे नीति तथा कार्यक्रम पारित गरिएकाे थियाे । हिजाे नै सुनसरी उद्योग वाणिज्य संघको हलमा ११ औं नगरसभामा उपप्रमुख अइन्द्रबिक्रम बेघाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको थियाे ।

धरान उपमहानगरपालिकाकाे नीति तथा कार्यक्रमले शिक्षातर्फ स्थानीय शिक्षा पाठ्यक्रम लागु गर्ने, ट्राफिक नियमलाई पाठ्यक्रममा समावेश गरिने, बीचैमा विद्यालय छोड्ने विद्यार्थीहरुलाई शिक्षा पुरा गर्न प्रोत्साहनको लागि प्याकेज सञ्चालन गरिने, नगर प्रमुख सहायता कोष निर्माण गरेर विपन्न बालबालिकाहरुलाई निःशुल्क शैक्षिक सामग्री, पोशाक तथा छात्रवृत्ति व्यवस्था गरि सिपमुलक शिक्षा दिइने तथा सत्यसाई स्कुलसँगको सम्झौता अनुसार साइन्स पार्क निर्माण कार्य अघि बढाइने भनिएकाे छ ।

यस्तै, धरान नगरलाई खुल्ला बहुसाँस्कृतिक, बहुजातीय, बहुभाषिक संग्राहलयकोरुपमा विकास गर्न पुर्वाधार निर्माण गर्दा बहुसाँस्कृतिक पहिचान र मौलिकता झल्किने बास्तुकला, मुर्तिकला, चित्रकला जस्ता प्रतिकहरु निर्माण गरिने र बहुसाँस्कृतिक पार्क निर्माण गरिने, युवा तथा खेलकुदतर्फ विदेशबाट फर्केका युवाहरुको सिप र ज्ञान सदुपयोग गर्दै स्वरोजगार र उद्यमशीलता विकासको लागि प्रोत्साहनमुखी कार्यक्रम पनि गरिने, विदेश हैन बिजनेश भन्ने भावना जागृत गराएर स्वरोजगार उन्मुख गराइने भनिएको छ ।

यस्तै, एक वडामा एक व्यायामशाला नीति लिएर युवाहरुलाई प्रशिक्षणको व्यवस्था गरिने, धरानलाई सडक मानवमुक्त नगर बनाइने, एक वडा एक बाल उद्यान निर्माणलाई अभियानलाई निरन्तरता दिइने, वीपी प्रतिष्ठानमा धरानबासीहरुलाई मृगौला, मुटु, उच्चरक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचार प्रबन्ध मिलाइने, नगर प्रमुखबाट निःशुल्क विमा कार्यक्रम सञ्चालन गर्ने र हाललाई वडा नं ४ र २० का सम्पुर्ण जनतालाई निःशुल्क स्वास्थ्य विमा गर्ने भनिएकाे छ ।














0 प्रतिकृया