धरानको माउण्ट मोरिया स्कुल नियम विपरित स्थानान्तरण
एक्सन खबर
धरान । धरान उपमहानगरपालिकाको एउटा वडामा सञ्चालित विद्यालय नियम विपरित अर्को वडामा स्थानान्तरण गरिएको छ । धरान वडा नं. १ मा सञ्चालित माउण्ट मोरिया बोर्डिङ स्कूलका सञ्चालकले नियम विपरित वडा नं. १७ मा स्कुल स्थानान्तरण गरेका हुन् ।
धरान उपमहानगरपालिकाको शिक्षा ऐन २०७८ दफा (१७) विपरित विद्यालय स्थानान्तरण गरेको पाइएपछि उपमहानगरपालिकामा उजुरी परेपछि उक्त कुरा खुलेको हो । विद्यालय सञ्चालकले स्कुल स्थानान्तरण गर्दा उपमहानगरपालिकाबाट अनुमति लिनुपर्नेमा सो समेत गरिएको छैन । यसैगरी स्थानान्तरण गरिएको वरपरका दुई विद्यालयबाट समेत सहमती लिनु पर्नेमा सो समेत नगरी विद्यालय स्थानान्तरण गरिएको छ ।
धरान उपमहानगरपालिका, शिक्षा ऐन २०७८ दफा (१७) बमोजिम विद्यालय एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्दा उपमहानगरपालिकाको अनुमति÷स्वीकृति लिनुपर्ने व्यवस्था रहेकोमा माउण्ट मोरिया आवश्यक प्रकृया पुरा नगरी विना अनुमति वडा नं. १ बाट वडा नं. १७ सियोन मार्गमा विद्यालय स्थानान्तरण गरेकोमा १ महिना भित्र उक्त विद्यालय बन्द गर्न उपमहानगरपालिकाले पत्र काटेको छ ।
धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले तोकिएको समयभित्र वडा नं. १७ बाट विद्यालय स्थानान्तरण नगरे कारवाही गर्ने चेतावनी दिएका छन् तर, विद्यालय सञ्चालकले धरान १७ बाट विद्यालय गर्न नसकिने बताउँदै आएका छन् ।
‘कुनैपनि विद्यालय एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्दा स्थानीय शिक्षा ऐन अन्तरगत स्थानीय तहको अनुमती र स्विकृति लिनुपर्छ । साथै, सो क्षेत्रका दुई विद्यालयको समय सहमति चाहिन्छ । माउण्ट मोरिया बोर्डिङ स्कुलले दुवै कार्य नगरेको पाइयो ।’ धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले भने ।
विद्यालय सञ्चालकले गत जेठ पहिलो हप्ता नै विद्यालय स्थानान्तरण गरेका हुन् । विद्यालयका प्रिन्सिपल निरकुमार राईले धरान १ मा विद्यालयले भाडामा लिएको घर तत्काल छाड्नु पर्ने परिस्थिति आएकाले कुनै प्रक्रिया अपनाउन नसकिएको बताए ।
0 प्रतिकृया