नेपाल इन्जिनियरिङ कलेजमा राेबाेट बनाउने तालिम सुरू
एक्सन खबर
काठमाडाैं । भक्तपुर चाँगुनारायण नगरपालिका स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा रोबोट डिजाइन सम्बन्धि पाँच दिने तालिम सुरु भएकाे छ । रोबोट तथा मेसिन संयन्त्रको डिजाइनको लागि सहज सफ्टवेयर सम्बन्धि तालिम सुरु भएको हाे ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोगको क्षमतावृद्धी कार्यक्रम अन्तर्गत तालिम तथा विकास शीर्षक अन्तर्गत तालिम सञ्चालन भइरहेको कलेजले जनाएकाे छ ।
कार्यक्रमको उद्घाटन कलेजका प्राचार्य डा. हरीकृष्ण श्रेष्ठले गर्दै राेबाेट डिजाइन तालिमले सबैको क्षमता अभिवृद्धि गर्ने भन्दै सफलताकाे शुभकामना दिए । विश्वमा अन्तर विभागीय खोज तथा अनुसन्धानको अपरिहार्यता बढिरहेको सन्दर्भमा यो कार्यक्रम कलेजको शिक्षकहरु प्रति निर्देशित भई सो क्षेत्रमा क्षमता वृद्धीका लागि सहायक सिद्ध हुने कार्यक्रमका प्रमुख प्रशिक्षक उप प्राध्यापक निश्वान ढकालले बताए ।
रोबोट डिजाइन र मेसिन संयन्त्रको अनुकरण गर्नको लागि सोलिड वर्क्स भन्ने सफ्ट्वेयर सहायक देखिएको छ । मेसिन संयन्त्रहरुको डिजाइन र अनुकरण गर्न सो सफ्ट्वेयर चलाइ आएका सफ्टवेयरहरु भन्दा सहज रहेको र सोहिलाई तालिमको मुख्य केन्द्रबिन्दु राखिएको कार्यक्रमका प्रशिक्षक डा. अरुण सत्यालले बताए ।
नेपाल इन्जिनियरिङ कलेजबाट यस अघि कोरोना कोमहामारी उत्कर्षमा टेकु अस्पताललाई रोबोट नै बनाएर दिएकाे थियो । यो सफ्टवेयर चलाउन जाने त्यसभन्दा बहुआयामिक उपयोगमा आउनसक्ने रोबोट बनाउन सकिने सहभागी उप प्राध्यापक कृष्ण विक्रम शाहको भनाइ छ ।
त्यसैगरी सिभील तथा सिभील एण्ड रुरल विभागका सहभागी उप प्राध्यापकहरु निर्मला बोगटी र प्रतिभा पराजुलीले यस सफ्टवेयर अहिले चलाइआएको सफ्टवेयर भन्दा बहुआयामिक र सहज रहेको बताए ।
कार्यक्रममा पहिलो दिन सोलिडवर्क्स सफ्टवेयर सँग अवगत रहने, दोस्रो दिन स्केचहरु बनाउने, तेस्रो दिन मेसिनको पार्टसका त्रिआयामिक मोडेलहरु बनाउन सिकाइने, चौथो दिन ती पार्टहरुलाई सफ्टवेयरमा जोडेर मेसिनको प्रारुप दिने र पाँचौ दिन मेसिन संयन्त्रको अनुकरण गर्न तथा डिजाइन गर्न सिकाइने योजना रहेको छ । शैक्षिक उत्थानका लागि नेपाल इन्जिनियरिङ कलेजको यी गतिविधिहरु उत्साहवर्द्धक रहेकाे बताइएकाे छ ।
नेपालकाे इन्जिनियरिङ शिक्षाकाे विकास, विस्तार र प्रवर्द्धनमा नेककाे महत्वपूर्ण भूमिका रहँदै आएकाे छ । सामाजिक शैक्षिक संस्थाका रूपमा चाँगुनारायण नगरपालिका अन्तरगत सञ्चालनमा रहेकाे कलेज पाेखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रहेकाे छ ।
0 प्रतिकृया