Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


‘वार्षिक १ सय ५० अरब अमेरिकी डलर मानव बेचबिखनबाट आर्जन’ प्रहरी उपरीक्षक मल्ल

एक्सन खबर
असार, १५, २०७९


‘वार्षिक १ सय ५० अरब अमेरिकी डलर मानव बेचबिखनबाट आर्जन’ प्रहरी उपरीक्षक मल्ल

झापा, १५ असार । विश्वव्यापी रुपमा बार्षिक करीब १ सय ५० अरब अमेरिकी डलर मात्र मानव बेचबिखनरुपी व्यापारबाट आर्जन हुने गरेको एक तथ्याङ्कले देखाएको छ । बुधबार झापाको काँकरभिट्टामा आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सम्बन्धि अन्तरक्रिया तथा डिजिटल डिस्प्ले बोर्ड समुद्घाटनमा नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहल काठमाडौंका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले उक्त तथ्यांक प्रस्तुत गरे ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाकाे कार्यालय परिसरमा आयोजित कार्यक्रममा बाेल्दै प्रहरी उपरीक्षक मल्लले विश्वव्यापीरुपमा हुने मान बेचबिखनमध्ये ६६ प्रतिशत बेचबिखन यौनजन्य शोषणका लागि हुने, करीब २ करोड ७० लाख वयस्क र १ करोड ३० लाख बालबालिकाहरु बेचबिखनबाट पीडित रहेको जिकीर गरे ।

खासगरी मृगौला, कलेजो र रगत शारीरिक अंगहरु तस्करीका लागि बेचबिखन हुने तथा ३ जनामध्ये २ जना पीडित महिला हुने गरेको मल्लकाे प्रतिवेदनमा छ । आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य फस्टाउँदै जानु कथित सभ्य समाजको कलंक भएको उनकाे भनाइ छ ।

‘संसारमा फष्टाउँदो गतिमा रहेका प्रमुख तीनवटा अवैध संगठित अपराधहरु हातहतियार, मानव बेचबिखन तथा लागू औषध मध्ये मानव बेचबिखन दोस्रो ठूलो अपराधको रुपमा दर्ज भएको छ ।  जसमा प्रतिवर्ष करीब १ सय ५० अरब अमेरिकी डलर बराबरको कारोबार हुने गर्दछ ।’ मल्लले भने ।

कार्यक्रमका वक्ताहरुले मानव बेचबिखन तथा ओसारपसार जस्तो आपराधिक कार्य एक्लो प्रयासले मात्र सम्भव नहुने भएकाले यसलाई रोक्न प्रहरीसँगै नागरिक समाज र अधिकारकर्मीहरू एकजुट हुनुपर्ने बताए । नेपालका चेलीबेटीहरु विभिन्न बहानामा भारतको खाडीमा बेचिने गरेको र बढी भारतको कोठीमा केन्द्रित भई बेचिन पुगेकोमा उनीहरूले चिन्ता व्यक्त गरे । रोजगारीको बहानामा पनि मानव बेचबिखन हुने उनीहरुको भनाई छ ।

यस्तै, महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने र मनोरञ्जन उद्योगमा लगाई शोषण गर्नेजस्ता परम्परागत शोषणका कार्यबाट आज बेचबिखनको प्रवृत्ति फेरिँदै बदलिँदै गएको निष्कर्ष छ ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि मीना पोखरेल उप्रेती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महत्तो, माइती नेपालका १ नम्बर प्रदेश प्रमुख गोविन्द घिमिरेलगायतले मानब बेचबिखन, महिला याैन हिंसा, शरीर बन्धक लगायतका विषयमा चर्चा गरेका थिए ।

सोहि अवसरमा प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौंबाट प्राप्त सन्देशमुलक सन्देश प्रवाह गर्न जडित डिस्प्ले बोर्डको समेत नगरप्रमुख बुढाथोकीले उद्घाटन गरेका छन् । यो प्रकारको डिस्प्ले बोर्ड नेपालमै पहिलो पटक पूर्वीनाकामा राखिएकाे हो । व्यूरोले सन्देशमुलक सन्देश प्रवाह गर्न जडित डिस्प्ले बोर्ड देशका सवै भागमा राख्ने प्रहरी उपरीक्षक मल्लले जानकारी दिएका छन् ।













0 प्रतिकृया