‘सुनसरी उद्योग वाणिज्य संघको गुमेको साखः फिर्ता ल्याउन मेरो उम्मेदवारी’ पवन अग्रवाल
एक्सन खबर
देशभर स्वतन्त्र उम्मेदवारको लहर चलेसँगै सुनसरी उद्योग वाणिज्य संघको असार २० गते हुन गइरहेको निर्वाचनमा व्यवसायी पवन अग्रवालले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । झण्डै ३० वर्षदेखि सुनसरी उद्योग वाणिज्य संघमा रहेर एक कार्यकाल अध्यक्ष तथा त्यसअघि कार्यवाहक अध्यक्ष भएर कुशलतापूर्वक संस्थालाई नेतृत्व दिएका अग्रवालले संघ भित्र पछिल्लो समय देखिएको राजनीतिक विकृतिविसंगति विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको जिकिर गरेका छन् ।
सुनसरी उद्योग वाणिज्य संघमा राजनीति घुसेको उनको बुझाई छ । व्यापारी व्यवसायीहरूको विशुद्ध हक अधिकारका लागि स्थापित संस्थालाई राजनीतिक दलका नेताहरूको पोल्टामा पुर्याएर भातृ संगठन जस्तो बनाएकाले त्यसबाट संघ लाई मुक्त गर्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको अग्रवालको भनाई छ । निर्वाचनमा उम्मेदवारी दिनुको कारण, संघको वर्तमान अवस्था, समस्या तथा निर्वाचनका एजेण्डा लगायतका विषयमा अग्रवालसँग गरिएको कुराकानीको संक्षेपः
तपाईं एक कार्यकाल अध्यक्ष भइसकेको व्यक्ति पुनः किन उम्मेदवारी दिनु भयो ?
यो समयको माग जस्तो लाग्छ । पछिल्लो समय सुनसरी उद्योग वाणिज्य संघ आफ्नो ट्रयाक भन्दा बाहिर गइरहेको छ । विगतका कार्य समितिदेखि वर्तमान कार्य समितिले पनि संघ लाई अगाडि बढाउन निष्पक्ष रुपमा काम नगरेको आम उद्योगी व्यापारीको गुनासो रहँदै आएको छ । मैले यो विषयमा विगत लामो समयदेखि जतिपनि नेतृत्व आएका छन् सबैलाई भन्दै आउँदा ‘तपाईंहरू ट्रयाक भन्दा बाहिर जानुहुन्छ भने म पुनः नेतृत्वमा आउँछु’ भन्दै खबरदारी गर्दै आएको थिए । सोही सिलसिलामा योपल्ट धरानका सबै उद्योगी व्यवसायीले ‘संस्था बनाउन अब तपाईं नै आउनु पर्यो’ भनेपछि मैले उम्मेदवारी घोषणा गरेको हुँ ।
तपाईंसँगै अध्यक्षको पदमा उम्मेदवारी घोषणा गरेका २ जनाले राजनीतिक दलको आड लिएका छन्, तपाईंको जित कसरी सुनिश्चित होला ?
उद्योग वाणिज्य संघ भनेको विशुद्ध उद्योगी व्यापारीहरूको हक अधिकारको लागि स्वतन्त्र रुपमा काम गर्ने सामाजिक संस्था हो । यसको उद्देश्य, विधि विधानले पनि कुनै राजनीतिक दलको विचार, भावना र नेतृत्वलाई स्वीकार गरेको छैन । तर, पछिल्ला नेतृत्वहरूले संस्था भित्र खुबै राजनीति गरे । संघको निर्वाचनमा राजनीतिक दलले उम्मेदवार बनाउने काम गर्दा संस्था भित्र पार्टीहरूको प्रवेश भयो । पार्टीको झण्डा ओढेर चुनाब जितेकाहरू संस्थामा गएपछि पार्टीको उद्देश्य र निर्देशन मात्रै लागू गर्ने, आफुलाई भोट दिने उद्योगी, व्यापारीको मात्र कुरा सुन्ने, उनीहरुको मात्र काम गर्ने, भोट नदिएकालाई वाइपास गर्ने काम गरे ।
नेतृत्वले त्यसो गर्नु हुँदैनथ्यो । मैले साथीहरुलाई उद्योग वाणिज्य संघ बाहिर जुनसुकै राजनीतिक दलको झण्डामा रहेपनि संघको भवनमा राजनीति नघुसाउनुस भन्दै आएपनि उहाँहरुले मान्नु भएन । फलस्वरुप अहिले विशुद्ध उद्योगी व्यवसायीहरुको साझा संस्था कुनै पार्टीको भातृ संगठन जस्तो भएको छ । तर, उद्योगी व्यापारीहरु त्यो चाहँदैनन् सबै उद्योगी व्यापारीहरुले स्वतन्त्र नेतृत्व हुनुपर्छ भनेर बुझिसके । मैले सम्पूर्ण उद्योगी व्यापारीहरूको प्रतिनिधित्व गर्दै स्तवन्त्र उम्मेदवारी दिएकाले मेरो जित सुनिश्चित छ ।
तर, तपाईंका प्रतिष्पर्धीहरु प्यानलै घोषणा गर्दै राजनीतिक दलका नेताहरु नै अगाडि सारेर भोट मागिरहेका छन्, एक्लै चुनाब जित्ने तपाईंका आधार के–के छन् ?
म एक्लो छैन । उद्योग वाणिज्य संघ लाई राजनीतिबाट मुक्त गर्नुपर्छ, सबै उद्योगी व्यवसायीहरूको साझा संस्था बनाउनु पर्छ भन्ने तमात उद्योगी व्यापारीहरु मेरो साथमा हुनुहुन्छ । मेरो चुनाब जित्ने आधार भनेकै स्वतन्त्र उद्योगी व्यापारीको मत हो । यसका अलावा मैले ३० वर्षसम्म पदमा रहँदा होस् वा नरहँदा यो संस्थाको अहित हुने कुनैपनि काम गरेको छैन । मलाई कुनैपनि उद्योगी व्यापारीका पक्षमा काम गर्न राजनीतिक विचार र आस्थाले रोक्दैन ।
अर्को कुरा मैले २०६० सालमा कुनै एउटा व्यक्तिसँग बन्धक रहेको संस्थालाई निकालेर अगाडि बढाएको इतिहास छ । ऋणमा डुवेको संस्थालाई आफ्नै भवन बनाएर स्थापित गर्न त्यसबेला मेरो नेतृत्वले धेरै काम गरेको यहाँहरुलाई थाहा भएकै कुरा हो । अब अहिले पनि संस्थामा धेरै समस्या छ । संस्थालाई राजनीतिबाट बाहिर ल्याउनु छ । संस्थालाई व्यवसायी मैत्री बनाउनु छ । प्रविधिमैत्री बनाउनु छ । संघ लाई पेपरलेस बनाउने मेरो सोच छ । उद्योगी व्यापारीका समस्या सुन्ने, उनीहरुका मुद्दालाई उठान गर्ने सवालमा अल्पकालिन, दिर्घकालिन योजना बनाएर जाने सोच छ ।
एउटा व्यक्तिले मात्रै चाँहदैमा संस्था सुध्रिएला त ?
पक्कै सुध्रिन्छ । गएको स्थानीय तहबाट धेरै स्वतन्त्र उम्मेदवारहरु उदाएका छन् उनीहरुको काम गर्ने शैली, प्रणालीले सिष्टमलाई सुधार्दैछ । मेरो भन्नुको तात्पर्य कुनैपनि संस्था, संगठन सुधार्न, बनाउन कुनै राजनीतिक दलको आस्था र विचारले भन्दापनि व्यक्तिको लक्ष्य र योजनाले काम गर्छ । उद्योग वाणिज्य संघको गुमेको साखः फिर्ता ल्याउन नै मेरो उम्मेदवारी हो । अर्को कुरा म एक्लो छैन, मसँग संस्था चलाउन योग्य र क्षमतावान साथीहरु हुनुहुन्छ ।
धरानका उद्योगी व्यवसायीहरुका साझा समस्या के के छन् ?
कु्नैबेला धरान नाङ्लोमा सुन बेच्थ्यो । तर, अहिले यहाँको व्यापार ब्यवसाय चौपट भएको छ । धरान पूर्वी नेपालको प्रमुख ब्यापारिक सहर थियो । अहिले इटहरी, विराटनगर गुल्जार भएका छन् । यहाँका ब्यवसायीहरु समेत पलायन हुने क्रम चलेको छ । यसलाई रोक्दै धरानलाई पुनः ब्यवसायीक केन्द्र बनाउन काम गर्नुपर्नेछ । उद्योगी व्यवसायीका समस्याहरु छन्, करका समस्या, भन्सारका समस्याहरु छन् । ती समस्याहरुलाई स्थानीय सरकारदेखि संघीय सरकारसम्म पुर्याउन आवश्यक छ । साथै, धरानका उद्योगी, व्यवसायीहरुले ढुक्कका साथ आफ्नो उद्योग व्यावसाय सञ्चालन गर्न सकेका छैनन् ।
समस्या समाधानका लागि कस्ता उपायहरु छन् ?
धरानलाई पुनः व्यापारिक नाका बनाउन अब धरानले आफ्नो व्यवसायिक पहिचान स्थापित गर्नुपर्छ । इटहरी, विराटनगर, जोगवनीका मान्छे धरान किन जाने ? धनकुटाका किन धरान आउने ? यो प्रष्टयाउनु पर्ने बेला आएको छ । हामीले धरानलाई चिनाउने एक मात्र आधार पर्यटन हो । धरानलाई पर्यटकीय शहरका रुपमा परिभाषित गर्दै पर्यटन व्यवसायलाई ब्यवसायीकरण गर्ने होभने धरानलाई पुनः गुल्जार बनाउन सकिन्छ । त्यो विरासत फर्काउन उद्योग वाणिज्य संघ एक्लैले त सक्दैन तर, सम्बन्धीत निकाय र सरोकारवालाहरु सँग लविङ गर्ने, लगानीकर्ताहरु जुटाउने, संभावनाका खोजी गर्ने काम गर्न सक्छ ।
उद्योगी व्यवसायीहरुका साझा समस्या समाधन गर्नका लागि स्थानीय तह, राजनीतिक दल, प्रदेश र केन्द्र संघ समन्वयकारी भूमिका निर्वाह गरेर अगाडि बढ्ने नेतृत्व चाहिन्छ जुन म गर्न सक्छु ।
अन्त्यमा, तपाईलाई पुनः सुनसरी उद्योग वाणिज्य संघको नेतृत्वमा किन पुर्याउने ?
मैले यसको कारणहरु लगभग माथि भनिसके, तैपनि अन्त्यमा भन्दछु । अहिले सुनसरी उद्योग वाणिज्य संघ संकटमा छ । राजनीतिकरणको चपेटामा छ । आम उद्योगी व्यवसायीहरुले मेरो संघ, मेरो संस्था भन्ने अवस्था छैन । म निर्वाचित भएर आएको अवस्थामा संघ भित्र रहेका सबै समस्या हल गर्दै आम उद्योगी व्यवसायीको साझा लिडर भएर काम गर्ने प्रतिबद्धता जनाउँछु ।
0 प्रतिकृया