चाँगुनारायण नगरपालिकाका प्रमुखलाई नेपाल इन्जिनियरिङ कलेजको बारेमा ब्रिफिङ
एक्सन खबर
काठमाडौं, १९ असार । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले नवनियुक्त मेयरलाई कलेजको वस्तुगत अवस्थाका बारेमा ब्रिफिङ गरेको छ ।
कलेज सञ्चालन बोर्डका सदस्य सचिव समेत रहेका प्रिन्सिपल प्राध्यापक डाक्टर हरिकृष्ण श्रेष्ठ नेतृत्वको टोलीले शुक्रबार नगरपालिकामा गएर कलेज सञ्चालक समितिका अध्यक्ष समेत रहेका मेयर जीवन खत्रीलाई कलेजको वर्तमान शैक्षिक तथा प्रशासनिक अवस्थाका बारेमा अवगत गराएका हुन् ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई सञ्चालित कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित कलेजहरू मध्ये कै उत्कृष्ट रहेको प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले अवगत गराए ।
नेपालको इन्जिनियरिङ शिक्षाको विकास, विस्तारसँगै दक्ष तथा गुणस्तरीय जनशक्ति उत्पादनमा कलेजले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै प्रिन्सिपल श्रेष्ठले पछिल्लो समय शिक्षा मन्त्रालयले चाँगुनारायण नगरपालिकाको प्रमुखको अध्यक्षतामा कलेज सञ्चालन बोर्ड गठन गरिदिएको र नगरपालिकाको २०७७ फागुन ६ गते बसेको नगरसभाले ऐन नै पारित गरेको जानकारी गराउँदै अब उक्त ऐन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
श्रेष्ठले नगरपालिकाले ऐन पारित गरिसकेपछि त्यसलाई कार्यान्वयन गर्न परिषद् र समितिहरू गठन गर्न आवश्यक भएकोले परिषद्, सञ्चालक समिति तथा अन्य समितिहरू गठन गर्न आग्रह सहित कलेजले विगतमा पत्राचार गरिसकेकोले छिट्टै ऐन कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
नगरपालिकाको शिक्षा, खेलकुद तथा युवा महाशाखाका प्रमुख वीरबहादुर खड्कासँग ऐन कार्यान्वयनको विषयमा विगतमा भएका छलफलहरू सकारात्मक रहेको प्रिन्सिपल श्रेष्ठले प्रष्ट्याए । नगरपालिकाले ऐन कार्यान्वयनमा परिषद् गठन गर्ने, नयाँ सञ्चालक समिति गठनमा नगर प्रमुखको महत्वपूर्ण भूमिका रहने बताउँदै श्रेष्ठले यसका लागि कलेज तयार रहेको पनि जनाए ।
उनले कलेजको विवाद सम्बन्धमा भइरहेका विषय र उपलब्धीहरूका बारेमा पनि मेयर खत्रीलाई अवगत गराए । नेपाल इन्जिनियरिङ कलेज विश्वविद्यालय बन्न क्षमता राख्ने कलेज भएको तथा पछिल्लो समय यसलाई विश्वविद्यालय नै बनाउनु पर्छ भनेर कुरा चलिरहेको जनाउँदै कलेज चाँगुनारायण नगरपालिकाको गहना नै भएको जिकिर गरे ।
कलेजका सहायक प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले ऐन पारित भइसकेपछि कानूनीरूपमा कलेज नगरपालिकाको अङ्ग भइसकेको जनाउँदै ऐन कार्यान्वयन गर्ने अधिकार नगरपालिकामै निहित भएकोले नगरपालिकाले नै ऐन कार्यान्वयन गर्न अग्रसरता जनाउनुपर्ने बताए ।
नगरपालिकाले ऐन कार्यान्वयनको कार्यक्रम वा कार्यतालिका कलेजलाई पठाए आफूहरू काम गर्न तयार रहेको पनि प्रष्ट पारे । ‘ऐन पास भइसकेकोले कलेज नगरपालिकाको अङ्ग भइसकेको छ । अङ्गले मेन बडीलाई चलाउने कुरै भएन । तपाईँहरूले कलेजलाई यो यो काम गर्नुस् भनी लेखेर दिनुस हामी त्यसै अनुसार कार्य गर्न तयार छौं ।’ भण्डारीले भने ।
नगरपालिकाको शिक्षा, खेलकुद तथा युवा महाशाखाका प्रमुख वीरबहादुर खड्काले कलेज सञ्चालन गर्न तथा ऐन कार्यान्वयन गर्न आउँदा दिनमा कलेज प्रशासन र नगरपालिकाविच छलफल गरेर अगाडि बढ्ने बताए ।
कलेजको विस्तृत जानकारी लिएपछि नगरप्रमुख जीवन खत्रीले नेपाल इन्जिनियरिङ कलेज सामाजिक शैक्षिक संस्थाकै रुपमा चलाउँदै ऐन कार्यान्वयनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आगामी दिनमा छलफलहरू गरेर जाने बताए । नगरको शैक्षिक विस्तार र विकासमा आफु सदैव सकारात्मक रहेको पनि मेयर खत्रीले बताए ।
सो अवसरमा कलेजका प्राज्ञिक संयोजक बाबुराम भट्टराई र प्रशासन शाखा प्रमुख श्रीमा शर्मा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पाण्डे, वडा नं. ८ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता जनक खत्री समेतको सहभागिता रहेको थियो ।
कलेज सञ्चालन समिति अध्यक्ष नगरपालिकाको प्रमुख रहने ब्यवस्था रहेको छ । स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका नगरप्रमुख खत्रीले कलेजको अध्यक्षको पदभार ग्रहण छिटै गर्ने अपेक्षा गरिएको छ ।
0 प्रतिकृया