सुनसरी उवासंघको निर्वाचन आजः यी हुन् मतदाताहरु (नामावली सहित)
एक्सन खबर
धरान, २० असार । सुनसरीका उद्योगी व्यवसायीहरुको साझा संगठन सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन आज हुन गइरहेको छ । संघको कार्यालय धरानमा हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदका लागि तीन जना उम्मेदवारको कडा प्रतिष्पर्धा छ ।
आगामी कार्यकालका लागि पूर्वअध्यक्ष पवन कुमार अग्रवाल, बर्तमान उपाध्यक्ष शिवराज श्रेष्ठ तथा पूर्वउपाध्यक्ष विजय श्रेष्ठविच अध्यक्ष पदमा प्रतिष्पर्धा भइरहेको छ । संघको विगतको निर्वाचनहरु द्विपक्षीय भइरहेकोमो यो पल्ट त्रिपक्षीय भइदिँदा निर्वाचनमा कसले बाजी मार्ला पूर्वानुमान गर्न सक्ने अवस्था देखिएको छैन ।
व्यवसायिक हक अधिकारका लागि भन्दै दुई उम्मेदवारले राजनीतिक दलको आडमा निर्वाचन लड्दा एक उम्मेदवारले संस्थाभित्र राजनीति घुसाउन हुँदैन भन्ने मुख्य नारा अगाडी सारेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस सहित गठबन्धन दलको साथ लिएर विजय श्रेष्ठले उम्मेदवारी दिँदा अर्का अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठले भने नेकपा एमालेको साथमा निर्वाचन लडिरहेका छन् ।
अध्यक्षका प्रत्यासी श्रेष्ठद्वयले प्यानलै घोषणा गर्दा पूर्वअध्यक्ष पवनकुमार अग्रवालले भने उद्योगी व्यवसायीहरुको साझा संगठन भएकाले राजनीति घुसाउनु हुुँदैन भनेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको प्यानल छैन तथापि, स्वतन्त्र उम्मेदवार भएकाले धरान, इटहरी, इनरुवा, दुहवी, गढीसम्मका उद्योगी, व्यवसायी उनलाई पुनः एक कार्यकाल अध्यक्ष बनाएर संघको गुमेको साखः फिर्ता ल्याउने मनस्थितिमा छन् ।
श्रेष्ठद्वयले राजनीतिक दलको आड भसोरामा उम्मेदवारी दिएका छन् । उनीहरुलाई पूर्वअध्यक्ष, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी राप्रपा लगायतका दलहरुको समर्थन रहेको छ ।
संघको सदस्य पदकालागि बर्तमान कार्यसमितिका अधिकांश पदाधिकारीहरुले उम्मेदवारी दिएका छन् । संघको निर्वाचनमा नेकपा एमालेको समर्थनमा शिवराज श्रेष्ठको प्यानलबाट सदस्य पदमा चन्द्रप्रसाद बजगाईं, भोला श्रेष्ठ, ममता शाक्य, अमित अग्रहरी, उपेन्द्र चाम्लिङ, काजी गिरी, दिनेश राई, नविनराज भण्डारी, नविन लिम्बु, राजेश अग्रवाल, सिताराम आचार्य, अनिल ताम्राकार र नारायण लिम्बुले उम्मेदवारी दिएका छन् ।
यस्तै नेपाली कांग्रेसको साथ लिएर विजय श्रेष्ठको प्यानलमा सदस्य तर्फ वर्षा अग्रवाल श्रेष्ठ, किसन मास्के, जयप्रकाश शर्मा, विवेक अग्रवाल, मनोज कुमार अग्रवाल, रविकुमार राई, राजेश श्रेष्ठ, शैलेशकुमार आचार्य, शशी शाह, नविन कुमार तामाङ, रामश्वरुप शर्मा, पीयुषराज आचार्य, प्रभाव खतिवडा, महेन्द्र प्रधान, विष्णु बरालले उम्मेदवारी दिएका छन् ।
संघको योपल्टको निर्वाचनमा २ हजार ९ सय ७७ जना मतदाता रहेका छन् । यसमा सबैभन्दा धेरै वाणिज्य तर्फको मत रहेको छ । निर्वाचन समितिले प्रकाशित गरेको नामावली अनुसार वाणिज्य तर्फ १ हजार ८ सय ५८, उद्योग तर्फ १ हजार ३, बस्तुगत १८ र एशोसिएट तर्फ ९८ मतदाता रहेका छन् ।
निर्वाचन अगाडी चार जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । एशोसिएटतर्फ गोपाल श्रेष्ठ, अशोक जैन र राजु साह निर्विरोध निर्वाचित हुँदा उद्योग तर्फ महिला सदस्यमा स्तुति श्रेष्ठ निर्विरोध भइसकेकी छन् ।
संघको विधान अनुसार अध्यक्ष र सदस्यका लागि निर्वाचन हुनेछ । संघको प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, तीन सचिव, कोषाध्यक्ष पदमा निर्वाचित सदस्यहरुबाट मनोनित गर्ने प्रावधान रहेको छ । संघका अध्यक्ष गिरीधारी सापकोटाले आज अपरान्ह ४ बजेसम्म मतदान तालिका रहेको छ । मतगणना भने भोलीबाट थालनी हुने बताइएको छ ।
हेर्नुहाेस मतदाता नामावली
0 प्रतिकृया