अर्थमन्त्री शर्माको कुरा नसुन्ने एमालेकाे अडान, अर्थसचिव पनि अनिश्चितकालिन विदामा
एक्सन खबर
काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट कर हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेको आरोपमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माको कुनै पनि प्रस्टीकरण नसुन्ने भएको छ ।
गत १४ जेठकाे मध्य राति अर्थमन्त्री शर्माले बजेट निमार्णको क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गरेको विषयमा धारणा राख्न तयारी गरिरहेको बेला एमालेले पनि कुनै पनि प्रस्टीकरण नसुन्ने भएको हो ।
‘बजेट जस्तो संवेदनशील विषयमा जसरी अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई प्रवेश गराउन भयो, त्यसले राष्ट्रको शिर निहुरिएको छ,’ प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘राज्यको लागि अपराध गरेको दण्डनीय व्यक्तिको धारणा हामीले सुन्नु छैन, हामी सुन्दैनौं ।’
सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीले रोष्ट्रममा उभिएर धारणा राख्न खोजेको अहिलेसम्म जानकारी नदिएको जनाउँदै जबरजस्ती गर्न खोजिए प्रतिकार गर्ने पनि उनको चेतावनी छ । ‘अर्थमन्त्रीले संसदमा बोल्ने बिषयमा सभामुख कसरी प्रस्तुत हुनुहुन्छ, त्यसअनुसार हाम्रो रणनीति हुन्छ, विरोध तथा बहिस्कार दुवै हुनसक्छ ।’
उनका अनुसार अर्थमन्त्री शर्मालाई पदबाट बर्खास्त गर्नुपर्ने तथा संसदीय छानबिनजस्ता भरपर्दो आश्वासन नदिएसम्म एमालेको विरोध जारी रहनेछ ।
अर्थसचिव बिदामा
अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएका बेला अर्थसचिव मरासिनी बिदामा बसेका छन् ।
अर्थसचिव मरासिनी सन्चो नभएर बिदामा बसेको मन्त्रालयका प्रवक्ता सहसचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । ‘अर्थसचिवज्यू हिजोसम्म अफिस आउनु भएको हो । हिजै मलाई सन्चो भएन भन्दै हुनुहुन्थ्यो । आज बिदामा बस्नु भएको छ,’ उनले भने, ‘कहिलेसम्म बिदामा बस्नु भएको हो, बुझ्न बाँकी छ ।’
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहने सीसीटिभी फुटेज माग्दा १३ दिनको मात्र बाँकी रहने र अरु आफैं मेटिँदै जाने मन्त्रालयले जवाफ दिएको थियो । यसपछि सीसीटिभी फुटेज डिलिट गरिएको र यसमा अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोको आशंका गरिएका बेला उनी बिदामा बसेका छन् ।
यता, प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सारिएको छ । बुधबार बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजेसम्म बस्न नसकेपछि सारिएको हो ।
बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
0 प्रतिकृया