Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


लमजुङमा पहिरो जाँदा मनाङ यात्रा गर्न सकस

एक्सन खबर
असार, २४, २०७९


लमजुङमा पहिरो जाँदा मनाङ यात्रा गर्न सकस

लमजुङ, २४ असार । लमजुङमा पहिरोले जाँदा मनाङको यात्रा सकस बनेको छ । अविरल वर्षापछि बेशीँसहर-चामे सडकखण्डमा लमजुङतर्फको भागमा पहिरो खस्दा यात्रा सकसपूर्ण बन्ने गरेको हो । सडक सञ्जालले जोडिएको १० वर्षसम्म पनि यस सडकको सहज यात्रा गर्न सक्ने अवस्था छैन ।

ठेकेदार कम्पनीले सडकलाई व्यवस्थित बनाउन नसक्दा मनाङ आवतजावत मात्र नभई विकास निर्माणमा समेत असर परेको छ । सोही मार्गमार्फत जिल्लामा खाद्यान्न, पूर्वाधार विकासका सामग्री ढुवानी हुने गर्दछ । समय-समयमा पहिरो खस्दा आवतजावत नै बन्द हुने गरेको छ ।

केही समययतादेखि वर्षाका कारण बेँशीसहर नगरपालिकास्थित खरखरे, मर्स्याङ्दी  गाउँपालिकास्थित अर्खले, च्याम्चे, स्याङगे, सिरचौरलगायतका ठाउँमा पहिराका कारण सवारी आवागमनमा समस्या भएको छ । मनाङवासीले यही मार्ग हुँदै खाद्यान्नलगायत विकास निर्माणका लागि पूर्वाधारका सामग्री ओसारपसार गर्नुपर्ने हुन्छ ।

बर्सेनी यो समस्याले मनाङवासीका साथै पैदलयात्री पर्यटकलाई आवत-जावतमा कठिनाइ भएको स्थानीय बताउँछन् । सहज तवरबाट यात्रा गर्न कहिले पनि नपाउने हो कि भन्ने मनाङवासीको चिन्ताको विषय बनेको छ ।

हुन त मनाङ र लमजुङ जोड्ने एकमात्र बेँशीसहर-चामे सडकको स्तरोन्नति एवं कालोपत्र गर्ने केही स्थानमा भएको छ । तर, पनि सहज भने हालसम्म पनि बनाउन सकिएको छैन । क्याराभानले वि.सं. २०७२ देखि पाएको ठेक्का हालसम्म पनि पूरा गर्न सकेको छैन ।

बेँशीसहर-चामे सडकअन्तर्गत बेँशीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्नका लागि पहिलो चरणको कार्य हालसम्म सम्पन्न भएको डुम्रे-बेँशीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सडक चौडाइ गर्ने, पर्खाल उठाउने, कटिङ गर्ने, कल्भर्ट बनाउने, नाली बनाउनेलगायतका काम भइरहेको छ । पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र मान्छे हिँड्ने एक मिटरको सडक चौडाइ हुनेछ । बस्ती भएको ठाउँमा भने दुईतर्फी नै नाली बन्ने र बस्ती नभएको ठाउँमा एकतर्फमात्रै नाली निर्माण हुने भएको छ ।

वर्षामा बाढी-पहिरो, हिउँदमा हिमपातले गर्दा जिल्लाको विकास निर्माण तथा खाद्यान्न ढुवानीमा समस्या भएको छ । कहिले हिमपात त कहिले बाढीपहिराको बहानाले निर्माणमा ढिलाइ गर्ने गरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।

लमजुङ सदरमुकामबाट मनाङको सिमानासम्म कूल ३५ किलोमिटर लमजुङतर्फ यस सडकमा मात्रै करिब ३५ ठाउँमा पहिरो खसेको अवस्था छ ।













0 प्रतिकृया