नेपालबाट राजीनामा दिएका पुबुदु तीन घन्टामै क्यानडाकाे राष्ट्रिय प्रशिक्षक
एक्सन खबर
काठमाडौं, ४ साउन । केहि घण्टा अघि मात्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका पुबुदु दासानायके क्यानडा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
दिउसो तीन बजे पत्रकार सम्मेलन गरेर व्यक्तिगत कारण देखाएका पुबुदुलाई त्यसको तीन घण्टा पनि बित्न नपाउँदै क्रिकेट क्यानडाले प्रशिक्षकमा नियुक्त गरेको हो ।
यस अघि क्यानले पत्रकार सम्मेलन अपराह्न चार बजे गर्ने तयारी गरेपनि अन्य कार्यक्रमसँग समय जुधेपछि एक घण्टा छोट्टाएको हो । पत्रकार सम्मेलनमा बोल्दै पुबुदुले आफु व्यक्तिगत कारण नेपाली टिम छाडेको र टिम छाड्दा दुःखी भएको बताएका थिए ।
खुला छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दोस्रो पटक प्रशिक्षण दिन नेपाल आएका प्रशिक्षक पुबुदु दासानायकेले एक वर्ष नबित्दै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले आईसीसी विश्वकप लिग-२ मा बिर्सनलायक प्रदर्शन निस्किएपछि व्यक्तिगत कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनमा बुझाए । ’राजीनामा दिँदा दुखित् छु । व्यक्तिगत कारण यो निर्णय गरेको हो’, पुबुदुले भनेका थिए ।
गत मंसिरमा खुला छनोटबाट क्यानले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । यसअघि पुबुदु सन् २०११ देखि २०१५ सम्म मुख्य प्रशिक्षकको रुपमा नेपालमा काम गरेका थिए ।
0 प्रतिकृया