Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


नागरिकता विधेयकमा सांसदहरूकाे वहसः कसले के भने ?

एक्सन खबर
साउन, ६, २०७९


नागरिकता विधेयकमा सांसदहरूकाे वहसः कसले के भने ?

काठमाडौं, ६ साउन । संसदमा नागरिकता विधेयकमा वहस भइरहेकाे छ । विवाह गरेर नेपाल भित्रिएकी महिलालाइ तत्कालै नागरिकता दिने सन्दर्भमा सत्तारूढ र प्रमुख प्रतिपक्षी दलविच मतभेद रहेकाे छ । शुक्रबारकाे संसदमा प्रतिपक्षी दलका सांसदहरूले नागरिकता विधेयक खुकुलाे बनाउनु गलत रहेकाे बताएका छन् ।

नेकपा एमालेका सांसद घनश्याम खतिवडाले सरकारले प्रस्तुत गरेको नागरिकता विधेयक संविधान प्रतिकुल भएको टिप्पणी गरेका छन् । मुल संशाेधनकर्ताको तर्फबाट बोल्दै दक्षिण एसीयाली मुलुकहरूको भन्दा नेपालमा नागरिकता किन सहज तरिकाले दिन खोजिएको हो ? भन्दै प्रश्न गरेका छन् ।

‘नागरिकता ऐन खुकुलो भएका कारण मुलुकको अस्तित्व खतरामा नपरोस्, अझै समय छ, सचेततापूर्वक अझ छलफल गरौं,’ खतिवडाले बैठकमा भने, ‘सार्कका अन्य मुलुकभन्दा खुकुलो व्यवस्था राखेर विधेयक पेस भएको छ, यो किन गरिएको हो ?, नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्र वैवाहिक अंगिकृत दिनुपर्ने भन्ने पूर्ववत् सहमतिलाई किन लत्याएर विधेयक ल्याइएको हो ?

यस्तै, नेकपा एमालेकै अर्का सांसद खगराज अधिकारीले नेपालीसँग विवाह गरेको महिलाले ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने अडान दोहोर्‍याए । बैठकमा मुल संशाेधनकर्ताका तर्फबाट धारणा राख्दै सांसद अधिकारीले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता दिनुपर्ने अडान दोहोर्‍याए ।

‘यसअघि पनि संसदीय समितिमा नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगिकृत दिने भन्ने सहमति भएको थियो,’ अधिकारीले  बैठकमा भने, ‘सोही सहमतिका आधारलाई मानेर नागरिकता दिनुपर्ने व्यवस्था गर्नुपर्छ, नत्र मुलुक फिजीकरणको दिशातर्फ जाने देखिन्छ ।’

नागरिकताजस्तो संवेदनशील विषय ‘फास्ट ट्रयाक’ पारित गर्न नहुने भन्दै संसदीय समितिमा पुन: पठाउनुपर्ने अधिकारीको माग छ । यसअघि संसदमा पेस गरेको नागरिकता विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक पेस गरेपछि प्रतिनिधिसभा बैठकको बैठकमा फास्ट ट्रयाकबाट पारित गराउन प्रयास भएपछि अधिकारीलगायतले आपत्ति जनाएका छन् ।

यता, नेपाल मजदुर किसान पार्टीले नेपालमा जन्मका आधारमा नागरिकता दिनु अघि अन्तवार्ता लिनु पर्ने प्रस्ताव गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीकातर्फवाट सांसद प्रेम सुवालले नेपालको भाषा संस्कृति जानेको हुनुपर्ने भन्दै अन्तवार्ता पछि मात्रै जन्मको आधारमा नागरिकता दिनु पर्ने प्रस्ताव गरेका छन् ।

‘नेपालमा जन्मेर मात्रै हुदैँन, नेपाली भाषा, कला संस्कृति पनि बुझेको हुनुपर्छ, उसले देश प्रति बफादार रहेको लिखित गर्नुपर्छ,’ सुवालले बैठकमा भने, ‘अमेरिकामा ३ बर्ष पछि र बेलायतमा ६ बर्ष पछि मात्रै नागरिकता पाउने प्रावधान छ भने नेपालमा २० बर्ष बसेकाले मात्रै नागरिकता दिने ब्यवस्था गर्नुपर्छ, त्यसका लागि लिखित अन्तवार्ता दिनुपर्छ ।’

एमाले सांसद गंगा चौधरी (सत्गौवा)ले नेपाली पुरुषसँग विवाह गरेर आएलगत्तै विदेशी महिलालाई नागरिकता दिने प्रावधान देशको हितविपरीत रहेको बताएकी छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी हुँदै उनले सार्क मुलुकको सदस्य नेपालले सार्क देशमै नभएको विदेशी महिलालाई विवाह गरेर आएलगत्तै नागरिकता दिने व्यवस्था देश हितविपरीत रहेको बताइन् ।

१२ बुँदै सम्झौतापछि सजिलै नागरिकता पाउने ढोका खोलेको आरोप लगाउँदै उनले ४० लाख विदेशीले नागरिकता लिएको बताए । उनीहरुको सन्तानलाई वंशजका आधारमा नागरिकता दिए, देश कता जान्छ ? उनले बैठकमा प्रश्न गरे । विदेशीलाई नागरिकता दिन नै माओवादी युद्ध भएको थियो ? उनको प्रश्न थियो ।
 
एमाले सांसद कृष्णप्रसाद दाहालले नेपाली महिलाले विवाह गरेर ल्याउने विदेशी पुरुषलाई अंगीकृत नागरिकता दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संशोधन प्रस्ताव पेस गर्दै उनले नेपाली पुरुषले विवाह गरेर ल्याउने महिलालाई नागरिकता दिने प्रावधान राख्दा नेपाली महिलाले विवाह गरेर ल्याउने पुरुषलाई पनि नागरिकता दिने प्रावधान राख्नुपर्ने बताएका हुन् ।

लैंगिक समानताको दृष्टिकोणले पनि नेपाली महिलाले विवाह गरेर ल्याउने विदेशी पुरुषलाई अंगीकृत नागरिकता दिनुपर्ने बताउँदै उनले बरु नागरिकता दिने समयावधि बढाउन सकिने बताए ।













0 प्रतिकृया