प्रदेश १ को नाम किरात राख्न माग गर्दै खोटाङमा प्रदर्शन र काेणसभा
एक्सन खबर
खोटाङ, ६ साउन । किरात राई यायोक्खा खोटाङले प्रदेश १ को नाम किरात राख्न माग गर्दै प्रदर्शन गरेको छ । प्रदेश १ को नामाङ्कन पेचिलो बन्दै गएको अवस्थामा यायोक्खाले शुक्रबार दिक्तेल बजारमा प्रदर्शन गरेको हो । प्रदेश १ को नामाकरण किरात गर्नुपर्ने पक्षमा जनदबाब सिर्जनाका लागि र्यालीले दिक्तेल बजार परिक्रमा गर्नुका साथै ठाउँठाउँमा कोणसभा गरिएको छ ।
पुरानो बेस क्याम्पमा भएको कोणसभालाई किरात राई खेलकुद संघका केन्द्रीय अध्यक्ष सञ्जयकुमार राई, हाटडाँडामा भएको कोणसभालाई नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पा, त्रिवेणीचोकमा भएको कोणसभालाई डा. केके राई, भवनगैरामा भएको कोणसभालाई सांस्कृतिक अभियान्ता पर्खनबहादुर राई र यायोक्खाका अध्यक्ष हात्तीराम राईले ‘किरात’ सभ्यता भएकाले सोही आधारमा प्रदेशको नामकरण गर्दा सर्वस्वीकार्य हुने धारणा राखेका छन् ।
किरात राई यायोक्खाको केन्द्रीय कार्यक्रम अनुसार प्रदेश १ को किरात प्रदेश नामाङ्कन गराउन निर्णायक आन्दोलन र दबाबमुलक कार्यक्रमको आयोजना गरिएको अध्यक्ष राईले बताए ।
यायोक्खाले इतिहास, भूगोल, सभ्यता, संस्कृतिको र साझा मनोविज्ञानको आधारमा प्रदेश १ को नामकरण किरात प्रदेश राख्नुपर्ने पक्षमा निरन्तर संघर्ष गर्दै आएको छ । प्रदेश सरकारको पहिलो अवधि समापन हुनै लाग्दा नामाङ्कनको विषयले पुन: तीव्र चर्चा पाएको हो ।
२३ वैशाख २०७६ मा प्रदेश १ को राजधानी विराटनगर तोकिए पनि नाममकरण भने हालसम्म अनिश्चित छ । एकल पहिचान, बहुपहिचान वा भूगोलका आधारमा प्रदेशको नामाकरण गर्ने विषय टुंगो लाग्न नसक्दा प्रदेश नामविहीन छ । कतिपय भूगोल र पहिचानलाई मिलाएर, कतिपयले भूगोलको आधारमा र कतिपय पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने अडान राख्दा प्रदेश नामकरण मुद्दा पेचिलो बनेको हो ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ३९ (सभामुखसहित) जना, कांग्रेसका २१, माओवादी केन्द्रका १५ (१६ मध्ये एक पदमुक्त), एकीकृत समाजवादीका १०, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ जना सांसद छन् ।
प्रदेशको नामाकरणका लागि दुई तिहाइ संख्या पुर्याउन ६२ जना सांसद आवश्यक पर्छ । यसका लागि ठूला चारमध्ये कम्तीमा तीनवटा दल एकातिर नभएसम्म प्रदेशको नामकरणका लागि संख्या पुग्ने सम्भावना देखिन्न ।
0 प्रतिकृया