Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


यी हुन् बीपी प्रतिष्ठान डुबाउने ‘किर्ते’ प्राध्यापक डा.गिरीकाे दाहिने हातहरू !

एक्सन खबर
साउन, १०, २०७९


यी हुन् बीपी प्रतिष्ठान डुबाउने ‘किर्ते’ प्राध्यापक डा.गिरीकाे दाहिने हातहरू !

धरान, १० साउन । बिराटनगरस्थित तत्कालिन बिराट अस्पतालका मालिक डा. ज्ञानेन्द्र मान सिंह कार्कीले आफ्नो अस्पतालको लेटर प्याडमा ‘प्राध्यापक’ लेखेर नियुक्ति दिएकाे आधारमा आफुलाई प्राध्यापक दावी गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्ति हुन सफल डा. ज्ञानेन्द्र गिरीको कार्यकालमा प्रतिष्ठान कमिसनखोरी र वेथितिको चरम अवस्थामा छ ।

आफ्नो नियुक्ति भएको दोश्रो दिन देखि कोरोना अस्पताल व्यवस्थापन अनियमितताबाट शुरु भएको गिरीको अनियमितताको फेहरिस्तले एउटा ‘ग्रन्थ’ को रुप लिएता पनि उनको अगाडी सरकार र नियमनकारी निकायहरू समेत निरिह सावित हुँदैछन् ।



प्रतिष्ठानको संयन्त्रसँग अपरिचित गिरी उपकुलपति भएर आएको दोश्रो दिनदेखि भ्रष्टाचारमा संलग्न हुन उनको मात्र बुद्दिले भ्याउने कुरा हुँदै हाेइन । उनले बर्षौं देखि प्रतिष्ठानमा लूट मच्चाएर बसेका गिरोहको साथ लिएर प्रतिष्ठानमा ब्रम्हलूट मच्चाएकाे प्रष्ट हुन्छ ।

‘जवसम्म यो गिराेहको बोलवाला कायम हुन्छ, तवसम्म जो सुकै पदाधिकारी आए पनि बीपी प्रतिष्ठानको सुधार हुन सक्दैन, कर्मचारीमा यो गिरोह स्थायी जस्तै छ, चिकित्सकहरुको हकमा शक्ति र समय अनुरुप पात्र परिवर्तन हुने गरेका छन् ।’ प्रतिष्ठानका एक पूर्व कार्यकारिणी समिति सदस्य बताउँछन् ।
   
किर्ते प्राध्यापक उपकुलपतिको गिरोह  

प्रतिष्ठानमा उपकुलपति डा. गिरीलाई भ्रष्टाचार गर्न मुख्य साथ दिनेहरू तीन जना रहेका छन् । उपकुलपतिलाई कसरी नीतिगत भ्रष्टाचार गर्न सकिन्छ, कसरी ठेकेदार र सप्लायर्सबाट कमिसन लिन सकिन्छ भनेर निर्देश गर्नेहरू प्रतिष्ठानकाे खरिद समितिका सागर ताम्राकार,  कथित बायोमेडिकल इन्जिनियर राहुल मिश्रा तथा डेपुटी अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद रहेका छन् ।



सागर ताम्राकार

ताम्राकार प्रतिष्ठानमा खरिद अधिकारीको रूपमा कार्यरत छन् । प्रतिष्ठानमा खरिद अधिकारी स्थायी पदस्थापन हुने पद हैन तर उक्त स्थानमा ताम्राकारकाे स्थायी घर  जस्तै छ । प्रतिष्ठान व्यवस्थापनले यदी अर्को व्यक्तिलाई उक्त शाखाकाे प्रमुख बनायो भने निजलाई ६ महिनाभित्र हटाएर उनी आसिन हुने क्षमता राख्छन् ।

ताम्राकार यस्ता भाग्यमानी कर्मचारी हुन् जो आफ्नो जागिर अवधीको अधिकांश समय खरिद शाखा र स्टोर शाखामा बस्न पाएका छन् । रक्सी र तासका अम्मली ताम्राकार प्रतिष्ठान भित्रै कार्यालय समयमा ‘म्यारिज’ खेल्ने र व्यापारीको घरमा बसेर अस्पताल उपकरणको ‘स्पेसिफिकेसन’ बनाउने कर्मचारीको रूपमा पनि चर्चित छन् ।

ताम्राकारको सबैभन्दा रोचक पक्ष भनेको उनलाई अख्तियारले नछुनु समेत हो । ताम्राकार सँगै एकै निर्णयमा सहभागी कर्मचारी देखि पदाधिकारीसम्म अख्तियारको फन्दामा पर्दा उनी भने बचेका छन् । उनका सहकर्मीहरू अख्तियारको फन्दामा परेर विशेष अदालत धाउँदा उनी चैं सामदाम दण्ड भेद प्रयाेग गर्दै अख्तियारकाे इटहरी शाखा मिलाउन अभ्यस्त छन् । अख्तियार मात्र नभएर राज्यका विभिन्न शक्ति केन्द्रहरू रिझाएरै ताम्राकारले प्रतिष्ठानका धेरै अनियमितताका अनुसन्धान र छानविनमा आफ्नाे नाम पटक पटक हटाएका छन् ।

केही हप्ता अगाडी मात्र १६ करोडको आइसीयु उपकरण खरिद देखि लिएर अनेकौं अनियमिततामा उपकुलपति डा. गिरीले ताम्राकारलाई कमिसन उठाउने जिम्मेवारी दिएकाे प्रतिष्ठान श्राेतकाे दावी छ ।

राहुल मिश्र:

माेरङ बिराटनगरका डा. महानन्द मिश्रका छोरा भएको नातामा तत्कालिन अस्पताल निर्देशक डा. नारायण कुमारको आशिर्वादले इलेक्ट्रोनिक इन्जिनियरको रूपमा प्रतिष्ठानको सेवामा छिरेका मिश्र प्रतिष्ठानको अस्पताल उपकरण खरिदमा उपकुलपतिसँग सेटिङ भएको व्यापारीको अनुकूल स्पेसिफिकेसन बनाएर कमिसन असुल्ने कार्यमा माहिर छन् ।

पेशाले इलेक्ट्रोनिक इन्जिनियर भएतापनि उपकुलपति गिरीले उनलाई पेशागत मर्यादा विपरित बायोमेडिकल इन्जिनियरको जिम्मेवारी दिएर प्रतिष्ठानकाे बायोमेडिकल इन्जिनियरलाई भने बेरोजगार बनाएर राखेका छन् ।

‘उपकुलपति गिरीका उपकरण खरिद सम्बन्धि प्राय: सबै व्यापारिक डीलिङ मिश्रले नै गर्ने र डील मिले पछी उपकरणको स्पेसिफिकेसन निजले नै बनाएर व्यापारी अनुकूल वातावरण बनाउने गरेका छन् ।’ प्रतिष्ठान श्रोत भन्दछ । प्रतिष्ठान भित्र कर्मचारीको सरूवाको समेत चावी लिएका मिश्रको आर्थिक हैसियतले पाएको उचाई समेत प्रतिष्ठानमा चर्चाको विषय छ ।

डा. जगत नारायण प्रसाद

प्रतिष्ठानको कोभिड अस्पताल खरिद अनियमितता, फार्मेसी औषधी खरिद अनियमितता, आइसीयु उपकरण खरिद अनियमितता लगायत करिव ५० करोडको खरिद अनियमिततामा प्रत्यक्ष संलग्न एनेस्थेसिया विभागका एसोसिएट प्रोफेसर डा. जगत नारायण प्रसादले प्रतिष्ठानमा सेवा शुरु गरेको करिव १० वर्ष मात्र भएकाे छ ।

तर, उनी प्रतिष्ठानमा विसाैं वर्ष रगतपसिना बगाएर काम गर्ने चिकित्सकहरूलाई पाखा लगाउँदै उपकुलपतिकाे प्रिय पात्र भन्न सफल भए । प्रतिष्ठानमा सेवा प्रवेश पछी व्यवस्थापनमा हात मार्ने मौका खोजेर बसेका उनलाई डा. गिरीले ठूलाे पदमा नियुक्ति दिएपछि र कोरोना महामारीले कहिल्लै नपरेकाे चिठ्ठा परेकाे छ ।

कोरोना अस्पताल व्यवस्थापन र फार्मेसी सञ्चालनको जिम्मा पाएका जगतले विगत २ वर्षको अवधीमा करोडौं अपचलन गरेको प्रतिष्ठानमा चर्चाको विषय छ । डा. जगतको यही क्षमताको कदर गर्दै उपकुलपति गिरीले हाल उनलाई ‘अर्को व्यवस्था नभएसम्म डेपुटी अस्पताल निर्देशकको जिम्मेवारी’ दिएपछि उनकाे कमाउ धन्धा दिन दुगुणा रात चाैगुणा बढेकाे छ ।

डा. गिरीले उनलाई प्रतिष्ठानको नियमावलीसँग अमिल्दो तरिकाले एक पटकमा एक लाख सम्मको सामान किन्ने अधिकार समेत दिएका छन् । एक दिनमा एक लाखका १० वटा निर्णय डा. जगतले गरे भने प्रत्येक महिना ३ करोड हाराहारीको टुक्रे खरिद गरेर नै प्रतिष्ठानमा ठूलाे अनियमितता गर्न सक्छन् ।

प्रतिष्ठानमा टुक्रे खरिदमा अत्यधिक अनियमितता हुने गरेको सरकारले गठन गरेकाे विभिन्न छानविन समितिकाे प्रतिवेदन र महालेखा परीक्षककाे रिपाेर्टले समेत जनाइरहेकाे अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डा. जगत विरुद्द प्रमाण सहित उजुरीहरु परेको अख्तियार श्रोतकाे दावी छ ।

त्यसाे त उपकुलपति डा. गिरीकै सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनेकन उजुरी छन् । तर, सामदाम दण्डभेद प्रयाेग गरेर उपकुलपतिकाे पदमा टिक्ने दाउ गरिरहेका उनले ती उजुरीहरू अगाडी नबढाेस् भनेर विभिन्न शक्ति केन्द्रहरू धाइरहेकाे पाइन्छ । धरान साप्ताहिकबाट पुनराेन्थान

 
















0 प्रतिकृया