नेकका विद्यार्थीले बनाए स्वचालित पर्दा र प्रोजेक्टर प्रणाली
एक्सन खबर
भक्तपुर, १० साउन । भक्तपुर चाँगुनारायण नगरपालिका स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का विद्यार्थीहरूले स्वचालित पर्दा र प्रोजेक्टर प्रणाली तयार पारेका छन् ।
सैनिक आवासीय महाविद्यालय भक्तपुरमा जारी अभिभावक दिवसको अवसरमा कलेजका विद्यार्थीहरूले आवश्यक स्वचालित पर्दा र प्रोजेक्टर प्रणाली (Automatic curtain and projector system) को निर्माण तथा जडान गरेका हुन् ।
नेकबाट दीक्षित विद्यार्थी उत्सव खड्का, हाल अध्यनरत विद्यार्थीहरु राजु श्रेष्ठ, विवेक कुमार गणेश तथा अन्य शैक्षिक संस्थामा आबद्ध विद्यार्थीहरु सेबन्त के.सी. र विजय श्रेष्ठले संयुक्त रूपमा स्वचालित पर्दा र प्रोजेक्टर प्रणाली जडान गरेका हुन् ।
सम्बन्धित विद्यार्थीहरूले दिएको जानकारी अनुसार उक्त सिस्टमले रेडियो फ्रिक्वेन्सीमा काम गर्ने तथा एउटै रिमोटले एक मञ्चमा जडित दुई पर्दासहित दुई पर्दाको मध्य भागमा जडित प्रोजेक्टरलाई समेत नियन्त्रण गर्ने छ । रिमोटको विभिन्न तीन वटनले दुई पर्दा र एक प्रोजेक्टर लाई खोल्ने र बन्द गर्ने पनि विद्यार्थीले जनाएका छन् ।
४८ फिट लम्बाई रहेको उक्त पर्दा तथा (१३ * १०.५ ) फिट रहेको प्रोजेक्टर पर्दालाई एउटै रिमोटले बढीमा ७० मिटर टाढासम्म सञ्चालन गर्न सकिने छ । उक्त सिस्टमलाई महाविद्यालयका शिक्षक तथा सैनिक अधिकृतहरुले पनि चलाएका थिए । स्वचालित पर्दा र प्रोजेक्टर प्रणाली कुनैपनि संघसंस्थालाई चाहिएको खण्डमा पनि उपलब्ध गराउन सकिने विद्यार्थीहरूले बताएका छन् ।
विभिन्न प्रोजेक्टमा प्रोटोटाइप बनाएर कलेजमा आफ्नो कला प्रदर्शन गरिसकेका नेकका विद्यार्थीहरु अब पूर्ण सिस्टम बनाउन पनि सक्षम रहेको यस्ता कृयाकलाप र कार्यले प्रमाणित गरेकाे कलेजले जनाएकाे छ ।
सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेकमा इन्जिनियरिङ विधाका विभिन्न विषयहरूमा स्नातक, स्नातकाेत्तर तथा मास्टर्समा पढाइ हुने गरेकाे छ ।
0 प्रतिकृया