Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


भक्तपुरमा घण्टाकर्ण पर्वकाे राैनक (फाेटाे फिचर)

एक्सन खबर


भक्तपुरमा घण्टाकर्ण पर्वकाे राैनक (फाेटाे फिचर)

काठमाडौं, १० साउन साउन कृष्णपक्ष अर्थात् घण्टाकर्ण चतुर्दशी, काठमाडौं उपत्यकाका नेवार समुदायले धुमधामकासाथ मनाएका छन् । नेवार समुदायद्वारा परिवारमा रोग नलागोस्, गृहशान्ति होस् भन्ने कामना गर्दै यो पर्व मनाउने गरिन्छ । यस पर्वमा पुरुष यौनाङ्ग (लिंग)लाई विशेष प्राथमिकतामा दिएर मनाइन्छ ।

परम्पराअनुसार भक्तपुरका दोबाटो, चौबाटोहरूमा नर्कट, छ्वाली, पराल, हाँंडी, नाङ्लो लगायतले घण्टाकर्ण (स्थानीय नेपाल भाषामा गथामग) बनाइएकाे थियाे । यो घण्टाकर्ण बनाउँंदा पुरुषको लिङ्गलाई विशेष प्राथमिकतामा राखेर बनाइन्छ । लामो, मोटो, ठूलो लिंगको आकार बनाइन्छ । लठ्ठीमा पराल बेरेर लिंगकाे आकार दिइन्छ । साथै, यौनसम्पर्क गर्दा विर्य झरेको संकेतको रुपमा सेता कपास समेत झुण्ड्याइन्छ ।



साँंझ बनाइएको घण्टाकर्णलाई साँंझै दाहसंस्कार गरी पर्व समापन गरिन्छ । यसक्रममा टोलटोलमा एक सयभन्दा बढी गथांमुगको दाहसंस्कार गरिन्छ । यी मध्ये भक्तपुरको दतात्रयमा गरिने दाहसंस्कार सबैभन्दा बढी आकर्षक मानिन्छ ।  

टोलबासी मिलेर साँंझ टोलटोलमा गथामग बनाएपछि त्यसलाई बोकेर दाहसंस्कारका लागि लिएर जान्छन् । सहभागी सयौं छ्वालीको राँको बालेर दाहसंस्कारमा सहभागी हुन्छन् । टोलटोलमा बनाएको गथामगलाई टोलबाट पूर्वतर्फकाे नजिकैको दोवाटो, चौबाटोमा लगेर जलाइन्छ ।

दाहसंस्कारबाट फर्किदा बाटोमा पर्ने धारा, ढुंगेधारा, कुँवा, पोखरी, इनार आदिमा पुगि चोखिने चलन छ । दाहसंस्कारबाट फर्केर घर घरमा छ्वाली बालेर धुवाले घर सेक्ने चलन छ । साथै, घरको ढोकामा किला ठोकेर सम्हेबजी (भोज) खाने चलन छ ।



यो पर्व लिच्छविकालमै सुरु भएको भनिन्छ । वर्षको चार वटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, पिशाच चतुर्दशी र शिवरात्री चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्रै मनाउने भएकोले यसलाई नेवार समुदायको माैलिक पर्वका रुपमा लिने गरिएको छ ।

किम्वंदन्ती अनुसार घण्टाकर्ण भगवान विष्णुका भक्त थिए । उनी केवल भगवान विष्णुको मात्रै पूजा गर्थे । एक दिन भगवानले विष्णु, शिव र आफू एउटै भएकाले शिवको पनि पूजा गर्नु भन्दा घण्टाकर्णले मानेनन् । तब विष्णुले हरि र शंकर एउटै हो भनेर देखाउन हरिहरको रुपको दर्शन दिए, जसमा आधा विष्णु थिए भने आधा शिव । तै पनि घण्टाकर्ण सन्तुष्ट हुन सकेन । उनी बाहिर निस्केको बेला शिव शिव... भनेर जिस्क्याउँंथे । यो सुन्नुपर्ला भनेर घण्टाकर्णले आफ्नो कानमा ठूल्ठूला घण्टा झुडाएर हिँड्थे ।



कसैले शिवको नाम लिने बित्तिकै कानको घण्टा जोड जोडले बजाउँंथे । त्यसैले यसलाई घण्टाकर्ण भनिएको किंवदन्ति रहेकाे छ । यो पर्वसँंग वैज्ञानिक कारण पनि जोडिएको छ । राेपाईपछि झारका कारण बढ्ने लामखुटे, भुसुनालाई आगो बालेर भगाउने वैज्ञानिक कारण यो पर्वसँंग जोडिएको तर्क पनि छ ।














0 प्रतिकृया