सडकसँगै गाउँमा पहिरो, ३९ घरपरिवार जाेखिममा
एक्सन खबर
हेमन्त केसी
सुर्खेत , १२ साउन । सडक खन्ने
क्रममा निस्किएको माटो र ढुङ्गा बगेर पहिरोको रूप लिएपछि रुकुमपश्चिमका ३९
घरपरिवार आफन्तको घरमा शरण लिन बाध्य भएका छन् ।
जिल्लाको आठबीसकोट
नगरपालिकाभित्रका दुईवटा वडाका ३९ घरपरिवार पहिरोको उच्च जोखिममा परेपछि
स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको
छ ।
नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अमृत बुढाका अनुसार
मङ्गलबार दिनभर पहिरोलाई हटाउन र थप क्षति हुन नदिन प्रयास गरेर जोखिममा
परेका ३९ वटै घर खाली गरिएको थियो । जोखिममा परेका सबै घरपरिवारका
पशुचौपाया र अन्नपात जोगाएर आफन्तको घरमा बस्ने व्यवस्था मिलाइएको
वडाध्यक्ष बुढाले जानकारी दिए ।
राडिज्युला–दाँजे–खदी–बारिङे
सडकखण्डबाट निस्केको माटो र ढुङ्गाका कारण राडिज्युला, गारा, सिम्तारा
बस्तीको सिँचाइ नहर भत्किएकाले गाउँमाथिबाट पहिरो झरेको हो । पहिरोका कारण
सोही वडामा रहेका चारवटा पानीघट्ट र बाटोमा रहेका घुम्ती पसलसमेत पुरिएका
छन् ।
गाउँमा पसेको पहिरोका कारण कतिपय कच्ची घर भत्किएका छन् भने
कतिपय भत्किने अवस्थामा रहेको स्थानीयवासीले बताएका छन् । भत्किएका घरको
क्षतिको पूर्ण विवरण भने आइसकेको छैन । पहिरोले वडा नम्बर ७ का धान, मकै
खेतीबाली सबै बगाइदिएको छ भने वडा नम्बर ८ को स्यालाका मकैबारी पहिरोले
ढाकेको छ ।
नगरप्रमुख रवि केसीका अनुसार स्थानीय खड्क बुढा,
महेन्द्रकुमार बोहरा, भीमबहादुर बुढा र प्रबिर बुढाको मकैबारीमा पूर्ण
रूपले क्षति भएको छ । त्यसैगरी चार जना स्थानीयवासीका घरको छेवैमा पहिरो
बग्दा घर कतिबेला पुर्ने हो भन्ने डर भइरहेको उनले बताए ।
0 प्रतिकृया