केएमसीमा सुत्केरी गराउनेलाई निःशुल्क स्वास्थ्य सेवा
एक्सन खबर
काठमाडौं, १२ साउन । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले प्रसुति गराउन आउने महिलालाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिने भएको छ । केएमसीले ‘आमा तथा नवजात शिशु कार्यक्रम’ सुरु गरेसँगै प्रसुति गराउनेहरुले निःशुल्क स्वास्थ्य सेवा पाउने भएका हुन् ।
काठमाडौं महानगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) विच आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने सम्झौता अनुसार आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सुरु भएको हो ।
केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार केएमसीले आमा तथा नवजात शिशु कार्यक्रम कार्यविधि निर्देशिका, २०६५ (तेश्रो संसोधन २०७३) को अनुसूची ९ र १३ को मापदण्ड पुरागरी आमा सुरक्षा कार्यक्रम लागू गर्न स्वीकृति पाएको हो ।
सम्झौतासँगै अबदेखि केएमसीमा प्रसुति सेवा लिन आउने सेवाग्राही महिलाले निःशुल्क स्वास्थ्योपचार गर्न पाउनेछन् । कार्यक्रम अनुसार केएमसीमा प्रसुतिका आउने महिलाहरुलाई सामान्य, जटिल प्रसुति शल्यक्रिया र शल्यक्रियाद्वारा गरिने प्रसुति सेवा निःशुल्क उपलब्ध गराईने छ । भने, ल्याव सेवाहरु पनि निःशुल्क उपलब्ध गराईने छ ।
यसैगरी सुत्केरीपछि डिस्चार्ज भई (२४ घण्टा पछि) घर गई सकेपछि फेरी जटिलता उत्पन्न भई पुनः स्वास्थ्य संस्थामा आएमा उक्त सुत्केरी महिलालाई निःशुल्क उपचार तथा यातायात खर्च समेत दिइने छ ।
केएमसीमा निःशुल्क आमा तथा नवजात शिशु स्वास्थ्य कार्यक्रमको लाभ लिन जनरल वेडमा भर्ना भएको हुनुपर्छ । क्याविन तथा प्राइभेट वार्डमा बसेकाहरुका हकमा कुनैपनि सेवा निःशुल्क उपलब्ध हुनेछैन भने यातायात खर्च समेत दिइने छैन ।
यसैगरी प्रसुति पश्चात अस्पतालबाट डिस्चार्ज भएर घर जाने बेलामा यातायात खर्चका रुपमा हिमाली क्षेत्रकालाई १५ सय, पहाडी क्षेत्रकालाई एक हजार तथा तराई क्षेत्रकालाई पाँच सय रुपैंया समेत दिने दिइनेछ ।
‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रममा सरकारले उपलब्ध गराउने सबै प्रकारका सेवाहरु अब केएमसीमा उपलब्ध गराइएको छ । यसले सुरक्षित प्रसुति सेवा नपाएर मातृ तथा नवजात शिशुको अकालमै मृत्यु हुने जोखिम न्यूनिकरणमा समेत टेवा पुग्ने विस्वास लिएका छौं ।’ केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले भने । आम सर्वसाधारण जनतालाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले सरकारले लागू गरेका कार्यक्रमहरु केएमसीमा ल्याइएको डा. शर्माले बताए ।
केएमसी र महानगरपालिका विच भएको सम्झौता हाल दुई वर्ष कायम रहने छ । सम्झौता पत्रमा केएमसीका प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रकाश थापा तथा महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले हस्ताक्षर गरेका छन् ।
0 प्रतिकृया