Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


यु २० साफ: भारतलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल

एक्सन खबर


यु २० साफ: भारतलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल

काठमाडौं, १५ साउन । साफ यु-२० च्याम्पियनसिपको तेस्रो खेलमा आइतबार घरेलु टोली भारत र नेपालबीच प्रतिस्पर्धा हुँदैछ । भुवनेश्वरस्थित कालिङ्ग रंगशालामा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ ।

भारतको सामना गर्दा नेपाल जितसहित फाइनलमा स्थान सुरक्षित गर्न  चाहन्छ । पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा लगातार तीन खेल जित्दै बंगलादेश यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

शीर्ष स्थानको बंगलादेशको नौ अंक छ । दुई खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा बसेको नेपाल र समान खेलमा तीन अंकसहित तेस्रो स्थानमा बसेको भारत फाइनलको दौडमा रहेका छन् । माल्दिभ्स र श्रीलंकाको फाइनल प्रवेश सम्भावना भने अन्त्य भइसकेको छ ।



नेपालका प्रशिक्षक मेघराज केसीले आफुहरुले पछिल्लो दुई खेलमा निकालेको सहज जितले टोलीको मनोबल बढेकाले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै सुखद नतिजा ल्याउने बताए ।

भारतविरुद्ध समेत केसीले अघिल्ला दुई खेलकै प्लेइङ सेटलाई मौका दिन सक्छन् । सुरुवाती दुबै खेलमा उनले एउटै सेटलाई मौका दिएका छन् । पहिलो खेलमा माल्दिभ्समाथि ४-० को जित निकालेको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि ३-० को जित हात पारेको थियो ।



यता पहिलो खेलमा बंगलादेशसँग २-१ ले पराजित भएको साविकको विजेता भारतले दोस्रो खेलमा श्रीलंकालाई ४-० ले हराउँदै शीर्ष दुईमा बस्दै फाइनल प्रवेश गर्ने सम्भावना जीवित राखेको थियो ।

भारतलाई हराएमा नेपालले शीर्ष दुईमा स्थान पक्का गर्दै फाइनलमा प्रवेश गर्नेछ । भारतसँग हार वा बराबरीको नतिजाले  नेपालको फाइनल यात्रा बंगलादेशविरुद्ध मंगलबार हुने अन्तिम खेलले मात्र निर्धारण गर्नेछ ।

यु-२० टिमः

गोलकिपरः ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख
रक्षकः अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा
मिडफिल्डरः आयुश घलान  (कप्तान),दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी,
स्ट्राइकरः रोहित सुब्बा निरञ्जन मल्ल, रोहन खड्गी













0 प्रतिकृया