“किर्ते” प्राध्यापक उपकुलपतिको १ अर्बको अनियमित भुक्तानी अनुमोदन गर्ने शर्तमा वीपीको रजिष्ट्रार र निर्देशक नियुक्ति
एक्सन खबर
धरान, १७ साउन । नीजि मेडिकल कलेज व्यवसायी डा. ज्ञानेन्द्र गिरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति जस्तो गरिमामय पदमा आसिन भएको भोलीपल्ट देखि प्रतिष्ठान अस्तव्यस्त छ । गिरीको प्राध्यापक उपाधी “किर्ते” रहेको र तत्कालिन बिराट अस्पतालका मालिक डा. ज्ञानेन्द्र मान सिंह कार्कीले अस्पतालको लेटर प्याडमा लेखेर दिएको आधारमा निजले आफुलाई प्राध्यापक दावी गरेको प्रमाणित भैसकेको छ ।
यसैविच भ्रष्टाचारमा लिप्त गिरीलाई बर्खास्त गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदनमा आफैं हस्ताक्षर गरेर प्रधानमन्त्री देउवाले प्रतिष्ठानको सिनेट बैठक बोलाउन आदेश दिएका थिए तर सर्वोच्चको अल्पकालीन आदेशले प्रतिष्ठानको सिनेट बैठक बस्न सकेन । अदालतमा मुद्दा जारी रहेकै बखत देशमा स्थानीय चुनाव आयो र प्रदेश नं. १ मा देउवाको मोर्चा सम्हालेका मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई आर्थिक रूपमा खुस बनाए पछी गिरीको अवस्था बलियो बन्यो ।
कार्कीले नै प्रधानमन्त्री देउवा समक्ष गिरीलाई हटाउनु भन्दा आफ्नी विशेष कार्यकर्ता डीला संग्रौलाको गनगन सम्बोधन गरेर उनीसँगको सम्बन्धको कदर गर्ने र गिरीलाई तर्साउदै निरन्तर दुहुनो गाई बनाउने सल्लाह दिए । मन्त्री कार्कीको सोही सल्लाह वमोजिम प्रधानमन्त्री देउवाले हरेक दिन जसो आफ्ना स्वकीय सचिव मार्फत स्वास्थ्यमन्त्री र उपकुलपति गिरीलाई संग्रौलाको नियुक्तिको लागि दवाव दिएको उपकुलपति गिरी स्वयम्ले आफ्ना विश्वासपात्रहरुलाई बताउने गरेका छन् ।
बालुवाटार सुत्रका अनुसार रजिष्ट्रार संग्रौलाले आसन्न आम निर्वाचनमा प्रदेश नं. १ अन्तर्गत नेपाली कांग्रेस भित्र देउवा पक्षका उम्मेदवारहरुलाई जनही ५ लाख दिने र बालुवाटारलाई एकमुष्ट बुझाउने बाचा गरेका छन् । यसको निमित्त संग्रौला र उपकुलपति गिरीविच सहकार्य गराउन बालुवाटारमै धेरै चरणको बैठक बसेकोमा बैठकको संयोजन गर्ने कांग्रेस नेतृ डीला संग्रौला र बीपी प्रतिष्ठानमा करिव २ अरब ५० करोडको भवन निर्माण गरिरहेका कांग्रेस केन्द्रीय सदस्य एबं रसुवा कन्स्ट्रक्सनका मालिक मोहन आचार्यले गरेको समेत श्राेतकाे दावी छ ।
यता अस्पताल निर्देशकमा भने स्वास्थ्यमन्त्री खापुंङ्ग र एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालको चुनावी खर्च व्यवस्थापन गरेर उपकुलपति गिरीले प्रतिष्ठानका कनिष्ट चिकित्सक डा. जगत नारायणलाई नियुक्ति गराउन सफल भएका छन् । डा. जगत तिनै हुन् जसले डा. गिरीका अनेकौं अनियमितताहरुमा साथ दिँदै आएका छन् ।
“किर्ते” प्राध्यापक उपकुलपति गिरीले रजिष्ट्रार र अस्पताल निर्देशक नियुक्ति पश्चात यसै हप्ता राख्न लागेका कार्यकारीणी समितिको बैठकमा करिव १ अर्ब हाराहारीको अनियमित भुक्तानी अनुमोदन प्रस्ताव गर्ने तयारी गरेको प्रतिष्ठान श्रोतले बताएकाे छ । “उपकुलपति गिरीले कार्यकारीणी समितिबाट अनुमोदन गराउने गरि आफ्नो अधिकार क्षेत्र नाँघेर करिव २ अर्व ५० करोडको मातृशिशु भवनको २ वर्ष म्याद थप गर्नुका साथै एकल निर्णयबाट करिव ६८ करोड भुक्तानी गरेका छन् र यो विवादास्पद आयोजना अख्तियारको छानविनमा समेत रहेको छ, हेरम नयाँ रजिष्ट्रार र अस्पताल निर्देशकको यस सम्बन्धमा कस्तो भूमिका रहन्छ” प्रतिष्ठानको लेखा शाखाका एक अधिकृतले बताए ।
प्रतिष्ठान श्रोतका अनुसार “किर्ते” प्राध्यापक गिरीले सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्र रद्द गर्न निर्देशन दिएको १८ करोडको आइ.सी.यु. उपकरण खरिद समेत अदालतको “यथास्थितिमा राेक्ने” अल्पकालीन आदेशको अपव्याख्या गर्दै कार्यकारीणी समितिमा अनुमोदन गराउने गरि भुक्तानी गरिसकेका छन् । कमिसन मोहमा यसै प्रक्रियाले गिरीले करिव ९ करोडको हाइ डिसेन्टी युनिट (एचडियू) को समेत भुक्तानी गरिसकेका छन् ।
अन्य भुक्तानीहरु समेत जोड्दा करिव १ अर्बको भुक्तानी कार्यकारीणी समेतिले अनुमोदन गर्नुपर्ने देखिन्छ । यसै भुक्तानीलाई अनुमोदन गर्न र आफ्नो लुटतन्त्र जारी राख्न रिक्त दुई कार्यकारीणी सदस्यमा समेत गिरीले स्वास्थ्यमन्त्री भवानी खापुङ्गलाई रिझाएर आफ्ना “पपेट” भएर कार्य गर्ने डा. ज्ञानेन्द्र मल्ल र डा. स्मृति कार्कीलाई नियुक्त गराई सम्पूर्ण कार्यकारीणी समिति आफ्नो मुठ्ठीमा राखेका छन् ।
बीपी प्रतिष्ठानमा करिव १० जनाको हाराहारीमा प्राध्यापकहरु छन् । चिकित्सा शिक्षा आयोगको निर्देशनमा प्रतिष्ठानको नियुक्तिमा पेशागत दक्षता र वरिष्ठता हुनैपर्ने उल्लेख छ । सोका वावजुद पनि प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई रिझाएर किर्ते प्राध्यापक प्रमाणित भैसकेका गिरीले चिकित्सा शिक्षा आयोग र स्वास्थ्य मन्त्रालयको मापदण्डमा “फिट” नहुने व्यक्तिहरुलाई रजिष्ट्रार र अस्पताल निर्देशक बनाइछाडे । “समग्र कार्यपालिका, न्याय दिने निकाय र नियमनकारी निकाय “नजराना निकाय” मा परिणत भएको समयमा कसलाई फुर्सद छ प्राध्यापकको उपाधी हेर्ने ? यहाँ त नजराना बुझायो भने विश्वविद्यालयका पियनलाई पनि उपकुलपति र राजदुत नियुक्त गरिदिन्छन” प्रतिष्ठानका एक वरिष्ठ प्राध्यापक संस्था गलत व्यक्तिहरूकाे चंगुलमा फसेकाे प्रति चिन्ता व्यक्त गर्दै भन्छन् ।
आज नै सत्याग्रही डा. गाेविन्द केसीले समेत वीपी प्रतिष्ठानकाे पदाधिकारी नियुक्ति चिकित्सा शिक्षा आयाेगकाे पदाधिकारी नियुक्तिको मापदण्ड विपरित भएकाेमा उक्त निर्णय नसच्याए सत्याग्रह गर्ने सम्मकाे चेतावनी दिएका छन् ।
0 प्रतिकृया