करेन्ट लागेर सप्तरीमा गर्भवती ससुरा– बुहारीसहित तीनको मृत्यु
एक्सन खबर
सप्तरी, १९ साउन । सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनपुर नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो भने राजगढ गाउँपालिकामा एकजनाको मृत्यु भएको हो ।
सो घटनामा परेर मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार रहेका छन् । उनीहरु नातामा ससुरा–बुहारी हुन् ।
इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार अञ्जलीलाई आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । सात महिनाको गर्भवतीसमेत अचेत अवस्थामा रहेकी बुहारी अञ्जलीलाई बचाउन गएकी सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए ।
उता, सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा भने ५६ वर्षीय शिवशङ्कर साहको पनि करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो । उनको पनि बुधवार घटनास्थलमा मृत्यु भएको हो ।
0 प्रतिकृया