कर्णाली प्रतिष्ठानकाे प्रयाेगशाला र अक्सिजन प्लान्ट सञ्चालनमा
एक्सन खबर
जुम्ला, २० साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् । उक्त अक्सिजन प्लान्टले दैनिक १६० वटा सिलिण्डर भर्न सकिने छ ।
शुक्रबार प्रतिष्ठान नै पुगेर राज्यमन्त्री केसीले प्रयाेगशाला भवन र अक्सिजन प्लान्टकाे उद्घाटन गर्दै देशका अन्य प्रतिष्ठानको तुलनामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुर्गम क्षेत्रकाे स्वास्थ्य सेवामा अत्यन्त राम्रो काम गरेको बताए ।
राज्यमन्त्री केसीले राज्यले जुम्लामा स्थापना गरेको प्रतिष्ठानलाई थप सहयोग गर्न आफू प्रतिबद्ध रहेको भन्दै कर्णालीले दक्ष स्वास्थ्यकर्मी उत्पादन गरेर मुलुकलाई दिने विश्वास व्यक्त गरे । ‘दुर्गममा देखिएको स्वास्थ्य समस्यालाई प्रतिष्ठानले हल गर्न सक्ने क्षमता राख्नुपर्ने काम कर्णाली प्रतिष्ठानको काँधमा आएको छ । अनि मात्रै प्रतिष्ठान स्थापना भएको औचित्य साबित हुन्छ । प्रतिष्ठानले अहिलेसम्म पुर्रयाएकाे याेगदान अतुलनीय रहेकाे छ ।’ राज्यमन्त्री केसीले भने ।
कार्यक्रममा बाेल्दै जुम्लाका सङ्घीय सांसद गजेन्द्रबहादुर महतले कर्णालीको विकासमा राज्यले हेर्ने नजर अझै संकिर्ण रहेकाे बताउँदै सबै राजनीतिक दलको सहयोग, समन्वयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको स्पष्ट पारे । कर्णालीबासीकाे स्वास्थ्य सेवा सुधार्न प्रतिष्ठानले टेवा दिएकाे चर्चा गर्दै उनले प्रतिष्ठानको बहुवर्षीय शैक्षिक भवन निर्माणका लागि सरकारको सहयोग आवश्यक रहेको बताए ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले प्रतिष्ठान प्रदेशकै दुर्गम क्षेत्रमा रहेपनि त्यसले दिएकाे सेवाहरूबाट सबै सन्तुष्ठ रहेकाे बताए । प्रतिष्ठानकाे विकास र विस्तार तथा स्तराेन्नतिका लागि मन्त्रालय जुनसुकै सहयाेग गर्न तत्पर रहेकाे जिकीर गरे ।
प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले प्रतिष्ठानकाे विकासमा धेरै काम गर्न बाँकी रहेकाे जनाउँदै अन्य क्षेत्रका प्रतिष्ठानहरू सुविधा सम्पन्न हुनुमा राज्यले गरेकाे लगानी नै रहेकाे बताए । अन्य प्रतिष्ठानमा ९ अर्बकाे लगानीहरू भइसक्दा कर्णालीमा अहिले सम्म एउटा मात्र भवन बनेकाे जनाउँदै उपकुलपति डा. रावलले सरकारले कर्णाली प्रतिष्ठानलाई अझै साधन श्राेत सम्पन्न गर्नुपर्ने बताए ।
‘हाम्रा प्राेफेसरहरू जुम्लामा भाडाकाे घरमा बसरहनु भएकाे छ । १३ वटा विल्डिङहरू भाडामा लिएर चलाइरहेका छाैं । १०, १० वटा कार्यक्रमहरू हुँदा पनि हाम्राे इन्फास्ट्रक्चर गतिलाे छैन ।’ सरकारले पूर्वाधार विकास, जनशक्ति उत्पादनमा सहयाेग गरे प्रतिष्ठानले चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा धेरै गर्न सक्ने डा. रावलले बताए ।
हस्पिटल अपग्रेट गर्न र पूर्वाधार निर्माणमा सबैसँग सहकार्य गरेर अगाडी बढ्ने उनकाे भनाइ छ ।
0 प्रतिकृया