प्रेमगीत ३ काे हिन्दी टिजरमा प्रदीप खड्काकाे एक्सन अवतार
एक्सन खबर
काठमाडाैं, २९ साउन । असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी टिजर सार्वजनिक गरिएकाे छ । भारतीय ट्रेड एनालिस्ट कोमल नाहटाले ट्विटरमार्फत् फिल्मको हिन्दी टिजर सार्वजनिक गरेका हुन् ।
झन्डै एक मिनेट लम्बाईको टिजर एक्सनले भरिएको छ । अभिनेता प्रदीप खड्कालाई प्राथमिकतामा राखिएको टिजरमा उनी एक्सन अवतारमा देखिएका छन् । राजपरिवारमा जन्मिएको प्रेम (प्रदीप खड्का) लाई गीत (प्रेमिका) र राजगद्दीमध्ये एउटा रोज्नुपर्ने बाध्यतालाई टिजरमा देखाइएको छ ।
हिन्दीमा प्रदीपको भागको डबिङ संकेत म्हात्रेले गरेका हुन् । उनले साउथका कयौं सुपरस्टारको फिल्मको हिन्दी डबमा आवाज दिइसकेका छन् । उनको बोल्ड आवाजले ‘प्रेमगीत ३’को टिजरलाई गज्जबकाे बनाएको छ ।
यूट्युबमा फिल्मको हिन्दी डब टिजर आशुसेन फिल्मस्को यूट्युब च्यानलबाट सार्वजनिक भएको छ भने नेपाली टिजर ओएसआर डिजिटलको यूट्युब च्यानलमा हेर्न सकिन्छ । फिल्मको हिन्दी टिजर सार्वजनिक गर्न निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्का बिहीवार मुम्बई उडेका थिए । शनिवार मुम्बईमा एक कार्यक्रमका बीच फिल्मको टिजर सार्वजनिक गरिएको हो ।
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीपका अलावा अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
‘प्रेमगीत ३’बाट क्रिस्टिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छन् । फिल्मका छायाँकार राजेश श्रेष्ठ हुन् । याे फिल्मले नेपाल र भारतमा राम्रै सफलता पाउने संकेत देखिएकाे छ ।
0 प्रतिकृया