कर्णाली प्रतिष्ठानका चिकित्सकले पुनः मुगुमा सेवा दिन थाले
एक्सन खबर
जुम्ला, २ भदाै । एक वर्षदेखि चिकित्सकविहीन मुगुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ चिकित्सक पठाएको छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएकाेमा प्रतिष्ठानले पुनः चिकित्सक पठाएकाे हाे ।
प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार डा. जीतेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा. सिद्धार्थ खातीले मुगुमा दुई वर्ष सेवा दिएका थिए । उनले पनि छाडेपछि मुगुका बिरामी मारमा परेका थिए ।
‘अस्पताल चिकित्सकविहीन हुँदा त्यहाँका सात सुत्केरीलाई हेलिकप्टरबाट बाहिर पठाउनु पर्यो । यही समस्या समाधानका लागि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसी, स्वास्थ्य सचिव डा. रोशन पोख्रेल, प्रजिअ रोमबहादुर महतलगायतको पहलमा बुधबार डा. सुरेन्द्र शाक्यलाई पठाएर सेवा दिन थालिएको हाे ।’ उपकुलपति डा. रावलले भने ।
डा. शाक्यको उपस्थितिले मुगुबाट आकस्मिक र जटिल खालका रोगको उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्नुपर्ने सङ्कट हट्ने अपेक्षा गरिएकाे छ । प्रतिष्ठानका बायोमेडिकल इञ्जिनियर अर्जुन सिंह नेतृत्वको टोलीले बुधबार नै जिल्ला अस्पतालका सम्पूर्ण उपकरण मर्मतसम्भार गर्न थालेको छ ।
कर्णाली प्रतिष्ठानले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाइरहेकाे छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएकाेमा प्रतिष्ठानका चिकित्सकहरूले प्रभावकारी सेवा दिइरहेका छन् ।
0 प्रतिकृया