Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


डा. गाेविन्द केसीलाई राेक्न वीपी प्रतिष्ठानका रजिष्ट्रार आफैं ‘सत्याग्रह’मा

एक्सन खबर
भदौ, ११, २०७९


डा. गाेविन्द केसीलाई राेक्न वीपी प्रतिष्ठानका रजिष्ट्रार आफैं ‘सत्याग्रह’मा

सुनसरी । कहिँ नभएकाे जात्रा वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चलिरहेकाे छ । किर्ते उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठान हाँकेसँगै भ्रष्ट्राचार, अनियमितताले थिल्थिलाे भएकाे संस्थालाई समाप्तै पार्ने हर्कत बर्तमान स्वास्थ्यमन्त्री भवानी खापुङले गरे ।

पछिल्लाे समय मन्त्री खापुङले चुनाबी खर्च उठाउन तथा प्रधानमन्त्री शेरबहादुर देउवा र सांसद डिला संग्राैलालाई खुसी तुल्याउन याेग्यता र क्षमता नै नपुगेका व्यक्तिलाई प्रतिष्ठानकाे रजिष्ट्रार बनाउँदा प्रतिष्ठान अयाेग्यहरूकाे अखडा भएकाे छ ।

श्रीमति डिला संग्राैला नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाकाे खास मान्छे भएकैले याेग्यता नपुगेपनि रजिष्ट्रार भएका डा. सुर्य संग्राैलाले पनि नाैटंकी देखाउन थालेका छन् । उनी भदाै १२ गतेदेखि प्रतिष्ठानमा पाल नै टाँगेर सत्याग्रहमा बस्न लागेका छन् ।

आवास नपाएकाे भन्दै रजिष्ट्रार संग्राैलाले पाल टाँगेर बस्न लागेकाे भनेका छन् तर,  भित्री कुरा भदाै १२ गतेदेखि डा. गाेविन्द केसीले सत्याग्रह गर्ने घाेषणा गरेकाले त्यसका विरूद्ध उनी सत्याग्रहमा उत्रिएका हुन् । डा. केसीले याेग्यता नै नपुगेकालाई रजिष्ट्रार, अस्पताल निर्देशक बनाएकाेमा आपत्ति जनाउँदै उनीहरूलाई बर्खास्त गर्नुपर्ने माग राखिरहेका छन् । डा. केसी प्रतिष्ठानमै आएर बसे आफ्नाे पद जाने भयले उनलाई राेक्न संग्राैलाले क्वाटर नपाएकाे निहुँ बनाएर पाल टाँगेर बस्ने रणनीति अपनाएकाे प्रतिष्ठानका एक अधिकारीले बताए ।

नियुक्ति लिएर आएदेखि क्वाटर नपाएपनि प्रतिष्ठानकाे भिआइपी गेस्ट हाउसमा रजाइ गरिरहेका छन् । संग्राैलाले उपकुलपति डा. गिरीसँग आवासकाे माग गरेपनि क्वाटरकाे व्यवस्था भएकाे छैन । त्यसाे त रजिष्ट्रार जस्ताे शक्तिशाली व्यक्तिले क्वाटर नपाउने कुरै हैन । उनले आफैं क्वाटर खाेजेर बस्न सक्ने हैसियत राख्छन् ।

उपकुलपतिले नै चासाे नदिएपछि रजिष्ट्रारले प्रतिष्ठानमा स्वर्गीय वीपी काेइरालाकाे शालिक अघिल्तिर टेण्ट गाडेर बस्छु भनेर घुर्की लगाएकाे हुन सक्ने केही जानकारहरूकाे अनुमान छ । प्रतिष्ठानमा रहेकाे रजिष्ट्रारकाे क्वाटरमा पूर्वरजिष्ट्रार प्रा.डा. माेहनचन्द्र रेग्मीकाे परिवार बस्छ । पदमा नरहेपछि क्वाटर छाड्नुपर्ने भएपनि डा. रेग्मीकाे परिवारले पनि क्वाटर छाडेकाे छैन ।  
रजिष्ट्रार डा. संग्राैलाले धरान उपमहानगरपालिका वडा नं. १८ लाई शुक्रबार पत्र नै लेखेर रजिष्ट्रारकाे अफिस अगाडी रहेकाे महामानव वीपी काेइरालाकाे शालिक अघिल्तिर अस्थायी आवास टेन्ट गाडेर बस्ने र त्यसका लागि शान्ति सुरक्षा कायम गरिपाउँ भनि निवेदन दिइसकेका छन् ।

वडा नं. १८ का वडाध्यक्ष नरेन्द्रकुमार राईले प्रतिष्ठानले धरान उपमहानगरपालिकाकाे कार्यालय नगर कार्य समितिलाई पत्र पठाउँदै प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. सुर्य प्रसाद संग्राैलाले २०७९ भदाै १२ गतेदेखि वीपी काेइरालाकाे शालिक अघिल्तिर अस्थायी आवास अर्थात् टेन्ट गाडेर बस्ने भनेकाेले शान्ति सुरक्षाकाे व्यवस्था गरिदिन भनेकाे जनाएका छन् ।

गाेविन्द केसीकाे आन्दाेलन डाइभर्ट गर्न संग्राैलाकाे रणनीति

याेग्यता नै नपुगेका रजिष्ट्रार डा. संग्रौला र अस्पताल निर्देशक डा. जगत प्रसादकाे नियुक्ति खारेजीको माग गर्दै चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीले भदौ १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेकाेमा त्यसलाइ ड्राइभर्ट गर्न संग्राैलाले आन्दाेलन गर्न थालेका हुन् । ‘क्वाटर नपाएकाे भन्ने उनकाे वहाना मात्र हाे । उनी रजिष्ट्रारकाे क्वाटर भन्दा सुविधासम्पन्न भिआइपी गेस्ट हाउसमा बसिरहेका छन् ।’ श्राेतकाे दावी छ ।

डा. केसीको अनशनले बल्लबल्ल पाएकाे जागिर जाने सम्भावना भएपछि उनी डा. केसीलाई प्रतिष्ठानमा छिर्न नदिने अभिप्रायले आफैं आन्दोलनमा उत्रिएकाे वरिष्ठ चिकित्सकहरूकाे भनाइ छ । केही समय अगाडी डा. केसीले धरान नै गएर वीपी प्रतिष्ठानका किर्ते उपकुलपति डा. ज्ञानेन्द्र गिरी, नवनियुक्त रजिष्ट्रार तथा अस्पताल निर्देशककाे बर्खास्त नगरे भदाै १२ गतेदेखि सत्याग्रह थाल्ने घाेषणा गरेका थिए ।

प्रतिष्ठान सुधार्ने भन्दै प्रधानमन्त्रीको आसिर्वादमा आएका व्यक्ति आफ्नाे व्यक्तिगत सुविधाको निम्ति आन्दोलनमा उत्रिनु गलत भएको प्रतिष्ठानका चिकित्सकहरुको भनाइ छ । ‘जाेसँग प्रतिष्ठान चलाउने, निर्णय गर्ने अधिकार छ त्याे व्यक्ति आफैं निरिह बनेर क्वाटरका लागि आन्दाेलनमा बस्नु पर्ने अवस्थामा पुगेकाे छ भने त्यसले के प्रतिष्ठान सुधार्ला र ?’ एक चिकित्सकले भने ।

उपकुलपतिसँग सम्बन्ध विग्रियाे

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले रजिष्ट्रार डा. संग्राैलालाई आफ्नाे ‘एसम्यान’ बनाउन खाेजेपछि अहिले उनीहरूकाे सम्बन्धमा दरार आएकाे छ । प्रतिष्ठानकाे आर्थिक श्राेतमा एकलाैटी मनमाैजी गरिरहेका डा. गिरीले रजिष्ट्रारलाई विगतमा आफुले गरेका अनियमित आर्थिक कृयाकलापका फायलमा हस्ताक्षर गर्न भन्दा सम्बन्ध चिसिएकाे छ ।

डा. संग्राैलालाई उपकुलपतिले नियमविपरितका खरिद, टेण्डर तथा भुक्तानीका फायलमा हस्ताक्षर गर्न दवाव दिएकाे र डा. संग्राैलाले विगतमा भएका कुनैपनि निर्णय र भुक्तानीमा हस्ताक्षर नगर्ने अडान लिएका थिए । अहिले उपकुलपतिले संग्राैलालाई आफुले भनेकाे नमान्ने हाे भने पदबाट राजिनामा लेखेर दिन समेत दवाव दिइरहेकाे श्राेतकाे दावी छ ।

डा. गिरी यतिबेला डा. संग्राैलाले असहयाेग गरेकाे भन्दै उनकाे विकल्प खाेज्न राजनीतिक लविङमा पनि जुटेका छन् । अस्पताल निर्देशक डा. जगत नारायण भने उपकुलपतिकाे एसम्यान बन्दै अनियमितता र भ्रष्ट्राचारमा साथ दिइरहेका छन् ।













0 प्रतिकृया