नेक प्रकरणमा लम्बाेदर न्याैपानेबाट ७८ लाख घुस लिएका पाठकको मुद्दा सुनुवाईमा
एक्सन खबर
काठमाडौं, १० भदौ । सामाजिक शैक्षिक संस्थाका रुपमा दर्ता भई सञ्चालित नेपाल इन्जिनियरिङ कलेजलाई प्रा.लि. बनाउने लम्बोदर न्यौपानेबाट ७८ लाख घुस लिएका तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विरुद्ध भ्रष्टाचारको मुद्दामा विशेष अदालतले सुनुवाई थालेको छ ।
विषेश अदालतले आजबाट राजनारायण पाठक र लम्बोदर न्यौपानेविचको प्रकरणको मुद्दा सुनुवाईमा चढाएको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको संयुक्त इजलासले आजबाट सुरु भएको मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेसँगै अब यो प्रकरणको निरन्तर सुनुवाई हुनेछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साल चैत्र १२ गते नेपाल इन्जिनियरिङ कलेजको अनियमितता सम्बन्धी मुद्दामा मिलाउन लम्बोदर न्यौपानेबाट आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस खाएको आरोपमा ७८ लाख रुपैंया विगो तथा कैद सजाय मागदावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
याे पनि
उक्त प्रकरणमा विषेशले २०७६ जेठमा आयुक्त पाठक र उनलाई घुस खुवाउने नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई अख्तियारले ७८ लाख रुपैयाँ विगो र कैद सजाय समेत माग गरी मुद्दा दायर गरेको थियो । प्रकरणमा घुस दिने न्यौपानेलाई ६ देखि ८ वर्ष कैद सजाय माग गरिएको छ । भने, पाठकमाथि ११ वर्ष कैद सजाय हुनुपर्ने मागदावी गरेको थियो ।
भ्रष्टाचार निवारण ऐनको दफा ३ अनुसार ५० लाखदेखि एक करोड रुपैयाँ घुस लिने÷दिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुनेछ । त्यसमाथि विशिष्ट श्रेणीको कर्मचारी भ्रष्टाचारमा संलग्न भएको भेटिए थप ३ वर्ष कैद हुने व्यवस्था छ । सोही अनुसार आयुक्त पाठकमाथि ३ वर्ष थप कैद सजाय माग गरिएको छ ।
२०६० साल भदौ ४ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरमा संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम दर्ता भएको नेपाल इन्जिनियरिङ कलेजलाई २०७४ साल बैशाख २५ गते कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरमा ‘नेपाल इन्जिनियरिङ कलेज प्रा.लि.’ नाम राखि भक्तपुर चाँगुनारायण नगरपालिकामा अवस्थित २०६० सालमा दर्ता भएको नेपाल इन्जिनियरिङ कलेजको सम्पूर्ण चलअचल सम्पत्ति प्रालि.मा जाने भनी गैरकानुनी प्रावधान राखि प्रबन्ध–पत्र स्वीकृत गराएका थिए ।
लम्बोदर न्यौपानेले सामाजिक शैक्षिक संस्था निजीकरण गर्ने सड्यन्त्र गरेको थाहा पाएपछि कलेजका तत्कालिन सञ्चालकहरु मध्ये प्रा.डा.दीपक भट्टराई, हरिप्रसाद पाण्डेले सो प्रकरणसँगै कलेजमा न्यौपानेले करोडौं भ्रष्टाचार गरेको भन्दै छानविन गर्न अख्तियार सहित सरकारका विभिन्न निकायमा उजुरी गरेका थिए ।
त्यसपछि लम्बोदर न्यौपानेले अख्तियारको उजुरी मिलाउन इञ्जिनियर ज्ञानेन्द्र झामार्फत पाठकलाई दुई पटक गरी ७८ लाख घुस दिएका थिए । लम्बोदरले पाठकलाई एक पटक ४० लाख र अर्को पटक ३८ लाख बुझाएका थिए ।
सो प्रकरणमा भिडियो नै बाहिरिए पछि अख्तियारले छानविन गर्दा घुस रकम बुझाउने ज्ञानेन्द्र झाले अख्तियारको अनुसन्धानमा सहयोग गरेको भन्दै उनीमाथि र भिडियो खिच्ने ध्वजमान मोक्तानको हकमा पनि मुद्दा चलाएको छैन ।
सम्पत्ति सुद्धिकरणको मुद्दा पेशी नै चढेन
सोही प्रकरणमा लम्बोदर न्यौपाने लगायतले करोडौं रकम सम्पत्ति सुद्धिकरण गरेको भन्दै सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले २०७८ माघ २७ गते विशेष अदालतमा न्यौपाने विरुद्ध १२ करोड ४४ लाख १२ हजार ७५५ रुपैया विगो कायम गर्दै मुद्दा दायर गरेको छ ।
त्यस्तै कलेजका तत्कालिन सञ्चालक सदस्य मध्येका रामरत्न उपाध्यायलाई १ करोड २५ लाख ३८ हजार ६२ रूपैयाँ, उपेन्द्र गौतमलाई २ करोड २९ लाख ६७ हजार २११ रूपैयाँ, लवराज भट्टराईलाई १ करोड ७९ लाख ५५ हजार ६०० रूपैयाँ, स्वर्गीय सुर्यबहादुर केसीलाई ३४ लाख २१ हजार ५००, हरिप्रसाद पाण्डेलाई २ करोड ४३ लाख ४९ हजार २०७ रूपैयाँ तथा स्वर्गीय दीपक प्रसाद भट्टराईलाई समेत ३६ लाख ५९ हजार रुपैंया विगो कायम गर्दै विशेष सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दायर गरेको छ । उक्त मुद्दाको अहिलेसम्म पेशी चढेको छैन ।
महान्यायाधिवक्ताको चलखेल
नेपाल इन्जिनियरिङ कलेज प्रकरणमा पछिल्लो समय महान्यायाधिवक्ता खम्बबहादुर खाती लम्बोदर न्यौपानेलाई चोख्याउन ठूलै कसरत गरेको देखिएको छ । सर्वोच्चमा नेपाल इन्जिनियरिङ कलेज र नेपाल इन्जिनियरिङ कलेज प्रा.लि.को विचाराधिन मुद्दा तथा विशेष अदालतमा चलिरहेका मुद्दामा महान्यायाधिवक्ता खातीले पदीय आचरण विपरित लम्बोदर न्यौपानेलाई उन्मुक्ति दिन चलखेल गरिरहेको देखिएको छ ।
नेपाली कांग्रेसको सरकार गठन भएसँगै राजनीतिक पहुँच बनाएर न्यौपानेले खाती मार्फत सरकारवादी मुद्दा कमजोर बनाउन ठूलै कसरत गरेको चर्चा छ । केही समय अगाडी महान्यायाधिवक्ता खातीले आफ्नै कार्यकक्षमा न्यौपानेलाई बोलाएर घण्टौं छलफल गरेको विभिन्न सञ्चारमाध्यममा आएको थियो ।
विशेषमा अख्तियारले दायर गरेको पाठक र न्यौपाने विचको घुस प्रकरणमा पनि खातीले अनावश्यक हस्तक्षेप त गर्ने हैनन् ? शंका पनि उत्पन्न भएको छ ।
याे पनि
0 प्रतिकृया