Follow us:


Follow us

७ वैशाख २०८१, शुक्रवार
७ वैशाख २०८१, शुक्रवार


ब्याटिङ नचल्दा नेपाल केन्यासँग ७ रनले पराजित

एक्सन खबर
भदौ, १३, २०७९


ब्याटिङ नचल्दा नेपाल केन्यासँग ७ रनले पराजित

काठमाडौं, १३ भदौ । टी–२० श्रृङखलाको चौथो खेलमा नेपाल केन्यासँग ७ रनले पराजित भएको छ । नैरविस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले १ सय १ रनको सामान्य लक्ष्य पनि पुरा गर्न सकेन ।

नेपालका कप्तान सन्दीप लामिछानेले किर्तिमानी बलिङ गरेपनि टीमकाे ब्याटिङ खराब रह्याे । २० ओभरमा ९ विकेट गुमाउँदै नेपालले ९४ रन मात्रै जोड्न सक्यो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन लिनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जाेड्न सकेनन् ।

नेपालका ओपनर पवन सर्राफ शून्यमा आउट भए । अर्जुन साउद, ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिं ऐरी ६/६ रनमै आउट भए । चौथो ओभर चल्दै गर्दा १३ रनमा सुरवाती तीन विकेट गुमाएको नेपाल ब्याटिङ विर्सन लायक रह्याे ।

दीपेन्द्रसिह पछि मैदानमा आएका आरिफ शेखले २ रनभन्दा बढी जोड्न सकेनन् । सोमपाल कामी शून्यमा आउट हुँदा आदिल अन्सारीले ८ रन मात्र जोड्न सके । करण केसी १८औं ओभरमा तेस्रो बलमा आउट हुँदा नेपालले आठौं विकेट गुमाउँदा नेपाललाई १५ बलमा २६ रन चाहिएको थियो ।

अन्तिम ओभरमा नेपाललाई १२ रन चाहिएकाेमा मैदानमा रोहित पौडेल र सन्दीप लामिछाने थिए । तर, राखेप पटेलकाे पाँचौ बलमा रोहित ४७ रनमा बोल्ड भए । उनले ५५ बलमा २ चौका र २ छक्का बनाएपनि जितका लागि पर्याप्त भएन ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्या २० ओभरमा १०१ रनमा अलआउट भयाे । केन्याका लागि ओपनर कोलिन ओबुयाले २० रन जोडे । लुकास ओलुओचले ३३ रनको योगदान गरे भने, शेम एनगोचेले १३ रन जोडे । बाँकी ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए ।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै टी-२० पाँच विकेट लिँदा ९ रन खर्चिए । बाँकी ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए । आदिल अन्सारीले २ विकेट, शाहब आलम र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

नेपालले पाँचौ खेल भोलि खेल्नेछ । आज पराजित भएसँगै केन्यासँगको श्रङ्खलाको उपाधि जित्न भोलि हुने अन्तिम खेलमा नेपाल जित निकाल्नै पर्ने दवावमा छ ।

नेपाल पराजित भएसँगै पाँच खेलको सिरिजमा २-२ को बराबरी भएको छ । यसअघि पहिलो र तेस्रो टी-२० मा नेपाल विजयी भएको थियो । केन्याले दोस्रो टी-२० मा जित निकालेको थियो ।















0 प्रतिकृया