तराईमा अाज चौरचन मनाईदै
सुधा देव
सप्तरी १४ भदौ । सप्तरी सहित तराईका जिल्लाहरूमा भदौ महिनाको गणेश चौठी तिथिमा मंगलबार आज चौरचन मनाईदै छ । चन्द्रमाले सधैं शितल, उज्यालो र आनन्द दिने हुनाले देवता रूपी चन्द्रमाले परिवारको सुख शान्ति र दीर्घायुको कामना गर्दै घरघरमा चौरचन पर्व मनाइने भएको हो ।
यो व्रत भदौं महिनाको गणेश चौठी तिथी, आजैको दिन उदाउदो चन्द्रमालाई, फलफूल, मिठाइ, दही आदि व्रतालु महिलाले दुवै हातले उठाए चन्द्रमालाई देखाउदै चढाउँने र ईच्छाएको बरदान माग्ने चलन रहेको राजविराज नगरपालिका वडा नं २ की व्रतालु ममता देवले बताईन् ।
आफुले चिताएको बरदान माँगेर भाकल गरेको र भाकल पूरा भएपछि चौरचन गर्न थालेको उनले बताईन्। भाकल नभएपनि त्यसैपनि महिलाहरूले आस्था र विश्वास बोकी अनिवार्य रूपमा यो व्रत बस्ने गरेका हुन् । व्रतमा दही, खिर, विभिन्न किसिमको फलफूल मिठाइ, गहुँको पिठोले बनाएको खजुरी, ठेकुवा, पिठोको अपुँगो अनिवार्य रूपमा चढाईने चलन रहेको व्रतालु महिलाहरू बताउँछन् ।
यो व्रतमा श्रीमान, छोरालगायत जति जना पुरूष सदस्य छन् त्यतिवटा मडर बनाउने, त्यतिवटा माटोले बनाएको छाछमा दही जमाउने र छोरीको लागि छाछीमा दही जमाउने चलन रहेको राजविराज नगरपालिका ६ कि कबिता यादवले बताईन् । उनले भनिन् ,´यो व्रतको दिन घरमूली महिलाले व्रत लिने तथा घरका अन्य सदस्यहरू समेत मिलेर चढाउने सामग्री तयार पार्छन् ।'
बेलुका चन्द्रमा उदाउँने बेलामा घरको आँगन वा छतमाथि लिपेर चोखो पारेर चढाउने सबै सामग्री लिपेको ठाउँमा मिलाएर राख्ने र उदाउँदो चन्द्रमालाई व्रतालु महिलाले सबै सामग्री दुबै हातले उठाएर चन्द्रमालाई चढाउने चलन छ ।
त्यसपछि परिवारका सबै सदस्यहरूले एउटा एउटा फलफूल हातमा लिएर पालैपालो चन्द्रमाको दर्शन गरेर ढोग्ने र आफूले चिताएको माग्ने चलन रहेको छ । पूजा सकिने वित्तिकै पूजा स्थलमै बनाएको मडरमा पुरूष पात्रहरू बसेर प्रसाद खाने चलन छ । त्यससँगै परिवारका अन्य सदस्यले पनि प्रसाद खाने चलन छ ।
0 प्रतिकृया