चोलेन्द्र शमशेरसँगको दोस्रो दिनको बयानः समितिकाे प्रश्न नै औचित्यहिन
एक्सन खबर
काठमाडौं, १६ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ । उनलाई आज ११ बजे महाभियोग सिफारिस समिति बैठकले बयानका लागि सिंहदरवारमा बोलाएको थियो ।
समितिका सदस्यहरुले आज उनलाई दुईवटा प्रश्न सोधेका थिए । जसमा उनले महाभियोग सिफारिस समितिले सोधेको प्रश्न नै औचित्यहीन भएको दाबी गरे । प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको प्रश्नमा उनले यसको कुनै औचित्य नभएको दाबी गरे ।
राणाले समितिको प्रश्नमाथि नै प्रश्न उठाएपछि समितिमा रहेका सांसदहरू आक्रोशित भएका थिए । समिति सदस्य कल्याणी खड्काले निलम्बित प्रधानन्यायाधीश जबराको उत्तरले समितिमाथि नै प्रश्न उठाएको भन्दै विरोध गरिन् ।
सांसद खड्काले विरोध जनाएपछि जबराले आफूमाथि लगाएको आरोपको जवाफ दिएको भन्दै समितिले आफूलाई असक्षम भनेर लगाएको आरोप गलत भएको बताए ।
जबराले महाभियोग प्रस्ताव गर्नेहरू नै समितिमा बस्न मिल्छ कि मिल्दैन भनेर प्रश्नसमेत उठाए । जबराले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको समेत दाबी गरे ।
समितिले १९ भदौ बिहान ११ बजे उनलाई बयानका लागि बोलाएको छ । बुधबारबाट उनको बयान सुरु गरिएको हो । गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो ।
0 प्रतिकृया