Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


प्रदेशसभा निर्वाचन लड्न नवोदिता चौधरीको नाम जिल्लाबाटै समावेश

एक्सन खबर
भदौ, १६, २०७९


प्रदेशसभा निर्वाचन लड्न नवोदिता चौधरीको नाम जिल्लाबाटै समावेश

सुनसरी, १६ भदौ । नेपाली कांग्रेस सुनसरीले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तरगत प्रदेश १ को प्रदेशसभाका लागि सुनसरी क्षेत्र नं. २ (क) बाट नवोदिता चौधरीको नाम समावेश गरेको छ ।

सुनसरी क्षेत्र नं. २ (क) ले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेकोमा जिल्ला कमिटीले क्षमता योग्यताका आधार केलाउँदै नवोदिता चौधरीलाई सुनसरी क्षेत्र नं. २ (क) मा प्रत्यक्ष तर्फको निर्वाचन लड्न नाम समावेश गरेको हो । उनीसँगै नेपाल तरुण दल जिल्ला सभापति तथा कांग्रेस १ नं. प्रदेश सदस्य सिजन गुरुङको नाम समेत जिल्लाले समावेश गरेको छ ।

कांग्रेस जिल्ला कमिटीले महिला समावेशिताको सिद्धान्तलाई पछ्याउँदै प्रदेश १ सांसद समेत रहेकी चौधरीलाई प्रत्यक्षतर्फको निर्वाचनमा प्रतिष्पर्धा गर्न सिफारिस गरेको हो । बर्तमान १ नम्बर प्रदेश सभा सदस्य समेत रहेकी चौधरीले २०६४ सालको संविधानसभामा रहेर संविधान लेखनमा समेत महत्वपूर्ण योगदान पुर्याएकी थिइन् ।

पहिलो संविधान सभामा नेतृ चौधरीले संविधानको मस्यौदा समिति र सांस्कृतिक तथा सामाजिक ऐक्यबद्धता समितिको सभापति भएर काम गरेको अनुभव छ । साथै, नेतृ चौधरीले प्रदेशसभामा आएर पनि संघीयता कार्यान्वयनका चरणमा प्रदेशका ऐन कानुन निर्माण र समावेशिताका मुद्दाहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।

नेतृ नवोदिता चौधरी आफैंमा शिक्षित र योग्य युवा नेतृ भएकाले जिल्लाले योपल्ट प्रत्यक्षमा उठाउने योजना बनाएको छ । अहिलेसम्म जिल्लामा कांग्रेसबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचन लड्ने आँट गर्ने उनी एउटै महिला हुन् । त्यसमाथि चौधरी आदिवासी जनजाति थारु समुदायको महिला भएकाले पनि अवसर दिनुपर्छ भन्ने आवाजहरु उठिरहेका छन् ।


क्षेत्रीय कमिटीले समानुपातिक तर्फ दिलकुमारी राई र वीरेन्द्र कार्कीको नाम सिफारिस गरेकोमा जिल्लाले शुशिला चौधरीको पनि नाम समावेश गरेको छ । यस्तै, प्रत्यक्षतर्फ सुनसरीका विवादास्पद व्यवसायी भीम पौडेल महाधिवेशन प्रतिनिधि विकास केसी तथा दोस्रो संविधानसभा सदस्यमा पराजित बनेका बद्रीनारायण चौधरीको नाम पनि क्षेत्रीय कमिटीले सिफारिस गरेको छ ।














0 प्रतिकृया