डेटलाइन ४ मंसिरः गच्छदारकाे विदाइसँगै चाैधरीकाे उदय
एक्सन खबर
सुनसरी, २० भदौ । मंसिर ४ गते हुन भइरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ ले उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नं. ३ ले केन्द्रीय सदस्य भगवती चौधरीको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
शनिबार सम्पन्न क्षेत्रीय बैठकले महिला अधिकारवादी, आर्थिक सशक्तिकरणकी अभियान्ता, पूर्वराज्यमन्त्री भगवती चौधरीलाई एकमतले उम्मेदवार सिफारिस गरेको हो । विगत तीन दशकदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय चौधरीले नै सुनसरी क्षेत्रको विकास गर्न सक्ने ठहर गर्दै आर्थिक समृद्धि, युवा स्वरोजगार, सामाजिक न्याय, समानता र महिला सशक्तिकरणका मुद्दाहरुलाई घनिभूत गराउन पुनः उम्मेदवार सिफारिस गरेको हो । नेतृ चौधरी यसअघि २०७० सालको दोश्रो संविधानसभा र ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समेत पार्टीको उम्मेदवार थिइन् ।
नेतृत्व परिवर्तनको लहर
अहिले सुनसरी ३ मा कांग्रेस, माओवादी, राप्रपा लगायत पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको छ । प्रायः निर्वाचनहरुमा यस्ता लहर चल्ने गरेपनि यो पल्ट दशकौंदेखि कांग्रेसमा लागेका टेकचन विस्वास, रामसेवक यादव, अशोक केसी, मिलिराम चौधरी, सतिलाल उराव, विशव गुरुङ जस्ता नेतृत्व पंङ्तीमा रहनेहरु एमालेमा समाहित भएकाले गच्छदारको राजनीति धर्मराएको छ ।
शनिबार आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट दोसल्ला लगाएर एमालेमा प्रवेश गर्नेहरु १५ सय बढी थिए । कार्यक्रममा बोल्दै ३० वर्षदेखि कांग्रेसमा आबद्ध सोनापुर गाउँ कमिटी सभापति अशोक केसीले आफुहरुलाई नेकपा एमालेमा प्रवेश गरेकोमा गौरब लागेको बताए ।
योपल्ट सुनसरी क्षेत्र नं. ३ ले राजनीतिमा नेतृत्व परिवर्तनको आभाष गएको स्थानीय तहको निर्वाचनबाटै दिइसकेको हो । उक्त स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा एमालेले बर्जु तथा गढी गाउँपालिकामा ऐतिहासिक जित दर्ता गर्दा सोही क्षेत्र अन्तरगत केही वडाहरु पर्ने इटहरी उपमहानगरपालिकामा उपमेयर सहित १५ वटा वडामा जित हासिल गर्यो ।
यस्तैगरी दुहवी नगरपालिकामा पनि एमालेले विगतको भन्दा मतसंख्या बढायो । दुहवीमा एमालेका उम्मेदवार विनय पोखरेलले कांग्रेसका वेदनारायण गच्छदारलाई कडा टक्कर दिए । गच्छदार ११९१६ मतले विजयी हुँदा पोखरेलले ११४६१ मत प्राप्त गरेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा वेद गच्छदार र पोखरेल विचनै प्रतिष्पर्धा हुँदा वेद राम्रै मतान्तरमा विजयी भएका थिए ।
२०६० साल अगाडी सुनसरी ३ मा एमालेको खासै प्रभाव थिएन । गच्छदारको दबदबा रहेको क्षेत्रमा भगवती चौधरीले राजनीतिसँगै २०५१ सालदेखिनै लघुवित्त कार्यक्रम मार्फत सामाजिक अभियानहरु चलाईरहेकी थिइन् । गाउँमा कसैले ‘म कम्युनिस्ट हुँ’ भन्दा गच्छदारका कार्यकर्ताहरुले उठिबास लगाउँने परिवेशमा चौधरीले महिलाहरुलाई संगठित गर्दै आर्थिक सशक्तिकरणमा जोडेपछि अन्यायका विरुद्ध बोल्नुपर्छ भन्ने चेतना फैलिएकाले एमालेको संगठन बनेको हो ।
०६४ सालमा चौधरी समानुपातिकबाट संविधानसभा सदस्य हुँदै झलनाथ खनाल नेतृत्वको सरकारमा वन तथा भू–संरक्षण राज्यमन्त्री पनि भइन् । त्यो बेला उनले आफ्नो क्षेत्रका लागि केही दिर्घकालिन कामहरु गर्न खोजेपनि ६ महिना मात्र सरकारमा रहेकाले ठोस काम गर्ने मौका पाइनन् । तर, राजनीतिक रुपमा स्थान हासिल गरेपछि मात्र समाजमा विद्यमान समस्याहरु हल गर्न सकिन्छ । विकास गर्न सकिन्छ भन्ने ज्ञान र अनुभव प्राप्त गरिन् । सोहिबेला केही योजनाहरु आफ्नो क्षेत्रको लागि पठाएपनि पछि सरकार परिवर्तन भयाे गच्छदार पुनः मन्त्री भए । उनले चौधरीले पठाएको योजनाको बजेट नै अन्यत्र सारिदिए ।
पहिलो प्रतिष्पर्धामै ‘आच्छुआच्छु’
सुनसरी ३ को विकास गर्नुछ भने विजयकुमार गच्छदारलाई राजनीतिबाट विदा गर्नु अपरिहार्य छ भन्ने ठानेर दोश्रो संविधासभामा चौधरीले प्रत्यक्ष चुनाब लडिन् । २०४६ सालपछि एकछत्र राज गर्दै आइरहेका गच्छदारलाई भगवतीले पहिलो प्रतिष्पर्धामै ‘आच्छुआच्छु’ पारिन् । यसअघिका निर्वाचनमा प्रतिष्पर्धीसँग १० औं हजार मतले जित्दै आएका गच्छदार चौधरीसँग मात्र ३६२ मतले विजयी भए । गच्छदारले १७५२४ मत प्राप्त गर्दा चौधरीले १७१६२ मत प्राप्त गरेकी थिइन् ।
समाज सेवा र लघुवित्त कार्यक्रममार्फत गरिब, उत्पिडित, दलित, मुस्लिम, पिछडा वर्गका समुदायका घरघर पुगेकी नेतृ चौधरीले हासिल गरेको त्यो मत कुनै जित भन्दा कम थिएन । ४० वर्षदेखि एकछत्र राजनीति गर्दै आएका गच्छदारसँग राजनीतिको कखरा सिक्दै गरेकी चौधरीले चुनाब लड्छु भन्नु नै एक प्रकारले ‘विजयको संखनाद’ थियो ।
गच्छदारले विजयाेत्सव गर्न नसकेकाे चुनाब
पहिलो चुनाबमा जनताले दिएको मतको नेतृ चौधरीले कदर गर्दै त्यो मतलाई सुरक्षित गर्ने अभियान निरन्तर जारी राखिन् । निरन्तर पार्टीको काम, राजनीतिक गतिविधि र उनको लिडरसिप देखेर २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पुनः उनैलाई टिकट दियो । बाम गठबन्धन, त्यसमाथि एमालेको संगठित कार्यकर्ता भएकाले उनी चुनाब जित्नेमा शतप्रतिशत विस्वस्त थिइन् । तर, राजनीतिमा स्वतन्त्र प्रतिष्पर्धा भन्दापनि साम दाम दण्ड भेद र छल कपटद्वारा राज्य प्रशासन लगाएर, मतपेटिका साटेर, मतपत्र कब्जा गर्दै गच्छदार विजयी भए ।
०७४ सालको निर्वाचनमा चौधरीले ४७.५ प्रतिशत अर्थात ३८६५१ मत पाउँदा गच्छदारले ४७.८९ प्रतिशत अर्थात् ३८९७२ मत प्राप्त गरेका थिए । सामान्य प्रशासनमन्त्री भएकाले निर्वाचन जित्न गच्छदारले पुरै राज्य शक्ति लगाए । गच्छदार सुनसरीसँगै मोरङ क्षेत्र नं ७ बाट पनि उम्मेदवार थिए । मोरङमा पराजय व्यहोरे । गच्छदारलाई सुनसरी ३ मा व्यापक धाँधली गरेको आरोप थियो, आफ्नै क्षेत्रमा विजयोत्सव गर्न सकेनन् । न्यायका लागि चौधरीले निष्पक्ष निर्वाचन नभएको भन्दै पुनः मतगणनाको माग गर्दै सर्वोच्च गइन् । तर, न्यायालयले पनि उनलाई उपेक्षा गर्यो ।
भ्रष्ट्राचारकाे मुद्दाले भूमिगत
नेतृ चौधरीले तैपनि हार नखाई समय कुरेर बसिन् । बाम गठबन्धनको सरकार बन्यो, आफ्नै पार्टीको सरकार भएकाले केन्द्रमा लविङ गरेर भएपनि केही योजनाहरु आफ्नो क्षेत्रमा ल्याइन् । जनताले आफुलाई जनमत दिएकोमा उनी ढुक्क थिइन् । त्यहि भएर निरन्तर मतदाताहरु कहाँ गइरहिन् । बाढी पहिरो, डुवान, खडेरी जस्ता प्रकोपहरुमा सहयोग गरिन् । कोरोना महामारीको प्रकोपमा सुनसरी ३ मा राज्यको उपस्थिति भन्दा भगवती चौधरीको उपस्थिति बढी देखियो ।
यसैविच गच्छदारलाई ललिता निवास सरकारी जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लाग्यो, सांसद पद पनि गयो । पक्राउ पर्ने त्रासले भूमिगत जस्तै भए । पछी केपी ओलीको सरकार ढलेपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएकै भोलीपल्ट विशेष अदालतमा हाजिर भएर १० लाख बुझाउँदै धरौटीमा रिहा भए । त्यसपछि भ्रष्टाचार मुद्दाको सफाइमा भाषण गर्दै गच्छदारको दिनचर्या वितेको छ ।
गच्छदारलाई ललिता निवास जग्गा प्रकरणमा मुख्य अभियुक्त भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकोले उनलाई यो निर्वाचनमा उठ्न नैतिकता छैन तर, कांग्रेस क्षेत्रीय कमिटीले सर्वसम्मत नाम सिफारिस गर्यो । प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँड भ्रष्टाचारी र अपराधी आरोपितको संरक्षणमा उत्रिएका छन् । कथंकदाचित गच्छदारले टिकट पाइहाले पनि अब जित्ने परिस्थिति छैन ।
किनकि यो ५ वर्षमा सुनसरी ३ का जनताले सही नेतृत्व नपाउँदा के हुन्छ बुझिसके । उनीहरु गच्छदारको विकल्पमा उभिएका छन् । परिवर्तनको पक्षमा देखिएका छन् ।
0 प्रतिकृया