Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


नोबेल शिक्षण अस्पतालमा नयाँ विद्यार्थीलाई भब्य स्वागत

एक्सन खबर
भदौ, २१, २०७९


नोबेल शिक्षण अस्पतालमा नयाँ विद्यार्थीलाई भब्य स्वागत

विराटनगर, २० भदौ । अध्ययनका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई कलेजले भब्य स्वागत गरेको छ । कलेज परिसरमा कार्यक्रम आयोजना गरेर एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ्ग, बिएनएस र बीपीटी संकायका विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।

कार्यक्रममा नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे, सहायक प्राचार्य प्रा.डा.रितु शर्मा बराल, अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा.निरञ्जन कुमार, जेनेरल मेनेजर रुद्र प्रसाद शर्मा लगायतले विद्यार्थीहरुलाई अविर लगाएर कलेजमा स्वागत गरे ।

सो अवसरमा ‘ह्वाइट कोट सेरमोनी’ पनि गरियो । कलेजको तर्फबाट सबै नयाँ विद्यार्थीहरुलाई सेतो कोर्ट पहिराइयो । कलेजको नियम र पालना गर्नुपर्ने अनुशासनको बिषयमा कार्यक्रममा विद्यार्थीहरुलाई जानकारी पनि गराइएको थियो ।



सो अवसरमा बोल्दै प्राचार्य प्रा.डा.घिमिरेले चिकित्सा शिक्षाका लागि नोबेल मेडिकल कलेज मुलुककै उत्कृष्ट कलेजको रुपमा स्थापित भएको दावी गर्दै पढाईका लागि नोबेल रोजेकोमा विद्यार्थी र अभिभावकहरुलाई धन्यवाद दिए । मेहनत गरेर अध्ययन गर्न विद्यार्थीहरुलाई सुझाव दिदैं उनले राम्रो पढेमा विद्यार्थीहरुको भविष्य उज्ज्वल रहेको बताए ।

कलेजका अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा.कुमारले छोराछोरीलाई उत्कृष्ट शिक्षाका लागि बाटो देखाउँने र सहयोग गर्ने अभिभावकहरुप्रति आभार व्यक्त गरे । जेनेरल मेनेजर रुद्रप्रसाद शर्माले पनि विद्यार्थीहरुलाई कलेजमा स्वागत गर्दै राम्रो मेहनत गरेर अध्ययन गर्न विद्यार्थीहरुलाई सुझाव दिए ।

नोबेलमा एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ्ग, बिएनएस र बीपीटी संकायमा १५९ विद्यार्थी भर्ना भएका छन् । नेपालका बिभिन्न जिल्लासहित छिमेकी मुलुक भारतवाट पनि विद्यार्थीहरु अध्ययनका लागि आएको नोबेलका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीपीटी, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।
















0 प्रतिकृया