नागरिकताका सवालमा एमाले विरूद्ध भ्रम छरियाेः केपी शर्मा ओली
एक्सन खबर
धनुषा, २७ भदाै । आगामी निर्वाचनमा नेकपा (एमाले) जनताको साथ लिएर आफ्नै बलवुतामा प्रतिस्पर्धा गर्ने नेकपा एमालेका अध्यक्ष ओलीले बताएका छन् । मंसिर ४ गते हुने निर्वाचनले देशको भाग्य र भविष्यको फैसला गर्ने भएकाले विचार पुर्याएर मतदान गर्न सबैमा ओलीले आग्रह गरे ।
लोकतन्त्रको रक्षा र देशमा विकासको अभियान चलाउनका लागि एमालेलाई जिताउन पर्ने ओलीले जिकीर गरे । नागरिकताको सवालमा अन्य दलहरूले एमालेविरुद्ध भ्रम छर्न खोजेको भन्दै एमाले जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने पक्षमा रहेको स्पष्ट पारे ।
ओलीले नेपाली काँग्रेस र माओवादी केन्द्रले भ्रमको राजनीति गरिरहेको भन्दै एमाले त्यस्तो खेती नगरी जनतालाई सचेत र संगठित बनाएर अघि बढ्ने पनि जनाए । नागरिकताको समस्या गम्भीर रहे पनि गठबन्धन सरकारले समस्या समाधानतर्फ ध्यान नदिई गलत मुद्दा उठान गरेको कारण सफल हुन नसकेको उनकाे दावी छ ।
जनकपुरधाम एउटा पवित्र भूमि भएको र यहाँ चार हजार बर्ष अगाडि विभिन्न खालका शास्त्रार्थ र दर्शन बारेमा छलफल हुने गरेको भए पनि यहाँको अवस्था दयनीय भएको भन्दै यस्तो किन भएको भन्ने विषयको खोजी गर्न जनतालाई आग्रह गरे ।
कार्यक्रममा नेकपा एमालेका सचिव एवम मधेश प्रदेशका ईन्चार्ज रघुवीर महासेठले विरोधीहरूले एमालेको विरुद्धमा भ्रम फैलाई राखेकाले त्यसलाई चिर्न नेताकार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा एमालेका स्थायी कमिटीका सदस्य अग्नि खरेल, पोलिटब्युरो सदस्य जुली महतो लगायत नेताहरूले सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र लोेकतान्त्रिक समाजवादी पार्टीका नेताहरू आफ्ना करिव दुईहजार कार्यकर्ता, समर्थकसहित नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
नेकपा (एमाले) धनुषा जिल्ला कमिटीद्वारा आज तिरहुतिया गाछीमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा ओलीले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरे । एमाले प्रवेश गर्नेहरूमा जसपाका मधेस प्रदेससभा सदस्य अन्जु कुमारी यादव, लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य अरबिन्द साह, नेपाली काँग्रेस धनुषाका युवा नेता सन्तोष यादव लगायत स्थानीय नेताकार्यकर्ताहरू रहेका छन् ।
यस्तै, ओलीले आजै नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने उद्देश्य पूरा गर्नका लागि आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताए । ‘मंसिर ४ गतेको निर्वाचनबाट एमालेको सरकार गठन गर्नु अनिवार्य छ,’ उनले भने ‘पछिल्ला १४ महिनामा गठबन्धन सरकारले देशलाई अधोगतितिर लगिरहेको र अब पनि यही गठबन्धनले सरकार गठन गर्ने अवस्था आएमा देश बर्बादीतर्फ जान्छ ।’
अध्यक्ष ओलीले आगामी निर्वाचनले देश, लोकतन्त्र, विकासप्रति समर्पित सरकार दिन सक्नुपर्ने बताए । उहाँले पाँच दलीय गठबन्धन देश र जनताका लागि नभएर तिनै दलका नेताहरूको स्वार्थमा केन्द्रित रहेको बताए ।
0 प्रतिकृया