Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


‘कता जाँदा फाइदा हुन्छ त्यसमै प्रचण्डकाे ध्यान, विचार, नीति केही छैन’ केपी ओली

एक्सन खबर
भदौ, ३०, २०७९


‘कता जाँदा फाइदा हुन्छ त्यसमै प्रचण्डकाे ध्यान, विचार, नीति केही छैन’ केपी ओली

पोखरा, २९ भदाै । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा एमालेले विश्व चकित पार्ने गरी कसैले नसोेचेको परिणाम ल्याउने बताएका छन् । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनको मंगलबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेको बहुमत ल्याउन जनतालाई जगाएर निर्वाचनको तुफानी अभियान चलाउने बताए ।

‘मंसिर ४ गतेको निर्वाचन हामीले जित्नैपर्छ । त्यो जित एमालेको लागि होइन, देशको विकास, तमाम जनताको हित, लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता र समानताका लागि जित्नुपर्छ । विकास अबरुद्ध गर्ने, सामाजिक सद्भाव भत्काउनेलाई देखाउन यो निर्वाचन एमालेले जित्नपर्छ ।’  ओलीले भने ।

आगामी निर्वाचन सामान्य र नियमित प्रक्रिया मात्र नभएर लोकतान्त्रिक प्रक्रिया तथा संरचना भत्काउने, संविधान मिच्ने, सामाजिक सद्भाव विथोल्ने, कानुनको उल्लङ्घन गर्ने र राष्ट्रिय हितमा कुठाराघात गर्नेलाई परास्त गर्न केन्द्रित हुनुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले गलत मनसायले बनेको अपवित्र गठबन्धन सरकारले निर्वाचनमा धाँधली र बुथ कब्जा गर्ने रणनीति अपनाएको बताउँदै एमालेजनले मंसिर ४ को निर्वाचनमा एमालेको पक्षमा मतदान गर्नेको सङ्ख्या बढाउनेदेखि मतदाताको सुरक्षा गर्नुपर्नेमा जोड दिए । युवा, विद्यार्थी लगायतका जनसंगठन हुँदाहुँदै कसैले बुथ कब्जा गरे हाम्रो कमजोरी हुने हुँदा बुथ कब्जा हुन नदिन निर्देशन दिए ।

अध्यक्ष ओलीले सरकारले राष्ट्रियता खतरामा पुर्याएको, गठबन्धनले सत्तामा रहेर लुटतन्त्र चलाएको पनि बताए । ‘यस्तो सरकार, जसले परराष्ट्र सम्बन्ध बिगारेको छ, राष्ट्रियता खतरामा पुर्याएको छ, स्वाधीनता, स्वतन्त्रताको उपयोग गर्ने हिम्मत नै गर्दैन । सत्ता प्राप्ति, सत्ता जोगाउने र लुट मच्चाउनेबाहेक गठबन्धनको कुनै ध्यान छैन ।  सरकारले कुनै पनि काममा जवाफदेही र जिम्मेवारी देखाउँदैन ।’ ओलीले अगाडी भने–‘‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रिय समस्या हो भनेर मैले २०५६ सालमै भनेको थिएँ, अहिले पनि उनी देशका लागि समस्या हो, कता जाँदा फाइदा हुन्छ त्यसमै प्रचण्डको ध्यान छ, विचार, नीति केही छैन ।’  नेपाली काँग्रेस पहिलेको काँग्रेस नभई बेहाल अवस्थामा पुगेको उनकाे विश्लेषण थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य नरेन्द्रराज वाग्ले, केन्द्रीय सदस्य फजउद्दिन मियाँ, गोरखाका उद्यमी विजय मल्ल, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य गीता हमाल र नेपाली काँग्रेसका लमजुङका कार्यकर्ता सूर्यबहादुर गुरूङ, नेकपा एकीकृत समाजवादीका नेता राम नेपाली लगायत विभिन्न पार्टीका ५० भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।













0 प्रतिकृया