सुनसरी ३ मा विकासको मूल फुटाउन भगवती चौधरीलाई जिताउनु पर्नेमा जोड
एक्सन खबर
सुनसरी, १४ असोज । सुनसरी क्षेत्र नं. ३ लाई लालकिल्ला घोषणा गर्न र विकासको जनलहर ल्याउन र भगवती चौधरीलाई जिताउन सबै लागि पर्ने बताइएको छ । प्रेस चौतारी नेपाल सुनसरीले आज दुहवीमा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरुले ३० औं वर्षदेखि एउटै व्यक्तिले पटक पटक शासन गर्दा जनताले चाहे अनुसारको विकास नपाएको बताउँदै आगामी मंसिर ४ गतेको आम निर्वाचनबाट भगवती चौधरीलाई जिताएर विकासको मुल फुटाउनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीले विगतमा निर्वाचित जनप्रतिनिधिहरुले आफ्ना जनताका लागि केही नगरेको बताइन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफुलाई जनताले जिताइदिए विकास कसरी गर्नुपर्छ देखाइदिने बताइन् ।
‘सुनसरी ३ अन्य निर्वाचन क्षेत्र मध्ये विशिष्ठ र संवेदनशील क्षेत्र भएकोले निष्पक्ष निर्वाचनमा हुन सक्छ र भन्ने आशंका भएपनि यो पल्ट हामी जुनसुकै तवरले निर्वाचन जित्ने रणनीतिमा बस्नुपर्छ । यसपटक विपक्षीले एक दुई बाकस उटल पुटल गरेपनि केही फरक नपर्ने गरी दशौं हजार मत हासिल गराउन एक हुन आग्रह गर्दछु ।’ तथापि पनि एक दुई मतको बाकस पनि चोरी हुन नदिने रणनीतिमा कार्यकर्ताहरु रहनुपर्ने नेतृ चौधरीले बताइन् ।
चाैधरीले राष्ट्रिय राजनीति र सुनसरीको विकासका लागि भएपनि आफुलाई जिताउनु पर्ने बताइन् ।
कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य देवेन्द्र कार्कीले प्रेस चौतारी नेपालले पत्रकारिताका माध्यमबाट आफ्ना पार्टीका उम्मेदवारहरुका विचार र एजेण्डालाई जनताका घरदैलोमा पुर्याउन सदैव सकारात्मक भूमिका निर्वाह गर्ने बताए । उनले सुनसरी ३ नं. क्षेत्रको विकासका लागि भगवती चौधरीको जित अपरिहार्य भएको जिकीर गर्दै विगतका पटकपटक शासन गर्नेले जनताका पक्षमा कुनै काम नगरेको बताए ।
कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराईले भगवती चौधरीले सुनसरीका मात्र नभएर देशभर लघुवित्त कार्यक्रम मार्फत लाखौं नेपाली महिलाहरुको विकास र उत्थानमा योगदान पुर्याएको चर्चा गर्दै यस्ता व्यक्तिलाई राज्यसत्तामा पुर्याउन पाए विकास र समृद्धिको ढोका खुल्ने बताए । आज गाउँगाउँमा आर्थिक सशक्तिकरणको अभियान पुर्याएर भगवती चौधरी एक्लैको सोच र विचारले महिलाहरुलाई आत्मनिर्भर र स्वाबलम्बी बनाएको बताए ।
प्रेस चौतारी नेपाल १ नं. प्रदेश कमिटी उपाध्यक्ष सुमन पुरीले महिला शसक्तिकरणकी अगुवा नेतृ भगवती चौधरीले महिला, बालबालिकाहरुका लागि मात्र नभएर मुलुककै लागि धेरै काम गरेको बताउँदै ती कार्यहरुलाई जनताका माझ पुर्याउन सञ्चारकर्मीहरुले ध्यान दिनुपर्ने बताए । नेतृ चौधरीसँग जोडिएर हज्जारौं महिलाहरु आत्मनिर्भर भएका, लाखौं महिलाहरुमा आर्थिक पहुँच पुगेको, उनीहरुको जीवनस्तर सुदृढ भएका विषयहरु सञ्चारमाध्यमले खोजी गर्नुपर्ने बताए ।
प्रेस चौतारी सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेलको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ का नेता, जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
0 प्रतिकृया