कतार विश्वकपः अर्जेन्टिनाको ध्यान क्रोएसियालाई हराउनेमा
एक्सन खबर
एजेन्सी । फिफा विश्वकप कतार २०२२ को पहिलो सेमिफाइनलमा आज मंगलबार राती अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । खेलअघि अर्जेन्टिनाको ध्यान क्रोएसियालाई कसरी हराउनेमा नै रहेको प्रशिक्षक लिओनेल स्कालोनीले बताएका छन् ।
उपाधिको बलियो दावेदारको रुपमा रहेको अर्जेन्टिनालाई फाइनल पुग्ने पक्काजस्तै मानिए पनि स्कालोनीले क्रोएसियासँगको खेल कठिन हुने बताए ।‘निकै कठिन खेल हुने अपेक्षा गरिरहेका छौं । क्रोएसिया निकै राम्रो टोली हो । उनीहरु एकतावद्ध भएर विपक्षीलाई चुनौती दिन सक्छन्,’ उनले भने ।
गत संस्करणमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले पराजित गरेको थियो । यसपटक भने दुई टोलीलाई दाँज्न नमिल्ने प्रशिक्षक स्कालोनीको भनाई छ । ‘हामीले पछिल्लो संस्करणको टोलीसँग दाँज्नु राम्रो हुँदैन । तर उनीहरुको स्तर निकै राम्रो छ र खेल प्रतिस्पर्धात्मक हुनेछ,’ उनले थपे ।
नेदरल्यान्ड्स र अर्जेन्टिनाबीच भएको क्वाटरफाइनल खेल विवादबाट टाढा रहन सकेन । दुई टोलीका खेलाडी एक आपसमा झगडामै पनि उत्रिए । स्कालोनीले कहिलेकाहीँ खेलमा यस्तो अवस्था आउने बताए । ‘पछिल्लो खेलमा हामीले त्यसरी नै प्रस्तुत हुनुपर्यो । दुवै टोलीको एउटै रुप देख्यौं । कहिलेकाहीँ यस्तो हुन्छ ।’ उनले भने ।
सेमिफाइनलमा टोलीको आशाबारे स्कालोनीले खुलेर आफ्नो धारणा राखे । सबै अर्जेन्टिनी समर्थक आशावादी रहेको भन्दै उनले आफ्नो समर्थकका लागि खेल्ने जनाए । ‘यो स्थानमा आइपुग्न कति कठिन छ भने हामीले बुझेका छौं । हामीबाट के आशा गरिएको छ भन्ने पनि थाहा छ,’ उनले थपे ।
0 प्रतिकृया