शानदार जित सहित मेस्सी प्रेरित अर्जेन्टिना विश्वकपको फाइनलमा
एजेन्सी
एजेन्सी । अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को फाइनलमा प्रवेश गरेको छ । क्राेएसियासँग शानदार जित निकाल्दै अर्जेन्टिनाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । दक्षिण अमेरिकी च्याम्पियन टीमलाई सहज जित दिलाउन कप्तान लियाेनल मेस्सीकाे प्रदर्शन उत्कृष्ट रह्याे ।
अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनेल मेस्सीले १ गोल गरे । पहिलो हाफमै २-० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा गोल थप्दै जित पक्का गरेको थियो ।
पहिलो हाफमा क्रोएसियाले निरन्तर दबाब बनाएपनि गाेल गर्न नसक्दा अर्जेन्टिनाले गोल गर्न सफल भयो । अर्जेन्टिनाले पहिलो गोल पेनाल्टीमा गरेको थियाे । खेलको ३४ औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई १-० ले अघि बढाए । पेनाल्टी क्षेत्रभित्र जुलियन अल्भारेजलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले लडाएपछि पाएकाे पेनाल्टीलाई मेस्सीले उपयाेग गरे ।
३९ औं मिनेटमा अल्भारेजले अग्रता दोब्बर पारे । काउन्टर अट्याकमा मिडफिल्डदेखि आफैं बल अघि बढाएका उनले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गरे । क्रोएसियाका दुई डिफेन्डरले बल क्लियर गर्ने अवसर पाएपनि सफल नहुँदा पुनः बल अल्भारेजको खुट्टामा पुगेको थियो । अन्त्यमा अल्भारेजले वन भर्सेस वनमा सहजै गोल गरे ।
६९ औं मिनेटमा अर्जेन्टिनाले ३-० को अग्रता लियो । लिओनेल मेस्सीले दायाँ विंगबाट एकल प्रयासमा युवा डिफेन्डर जोस्को भार्डीओललाई छक्याउँदै पेनाल्टी क्षेत्र भित्र आएर दिएको कटब्याकमा अल्भारेजले पहिलो टचमा फिनिस गरे ।
अर्जेन्टिनाले यस जितसँगै फाइनलमा स्थान पक्का गरेको छ । अर्जेन्टिनाले अब बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दैछन् ।
0 प्रतिकृया