३५ ताेला सुन, २५ लाख नगदसहित डिएसपी ठगबहादुर केसी प्रहरी नियन्त्रणमा
एक्सन खबर
बुटवल, पुस ११ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी)ठगबहादुर केसी प्रहरीकै अनुसन्धान टोलीको फन्दामा परेका छन् । प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडाैँबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको बुझिएको छ । तर, घटना गुपचुप राखिएको छ ।
सुनको कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले आइतबार साँझ निवासमा खानतलासी गर्दा लाखौं नगदसमेत फेला पारेको ईलाका प्रहरी कार्यालय स्राेतले बताएको छ ।
गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो ।
आइतबार साँझ बुटवल आएको प्रहरी टोलीले केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको प्रहरी स्राेतले बताएको छ । केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेका थिए । आइतबार व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो ।
यसअघि नै ईलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडाैँबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ ।
केसी करिब १३ महिनाअघि बुटवल आएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले यसबारे आफूले पनि थाह पाएको तर आधिकारीकता बारे बुझ्न अनुसन्धान टोलीलाई भेट्न जान लागेको बताए । ‘म अनुसन्धान टोलीलाई भेट्दैछु, त्यसपछि आधिकारिक कुरा के हो बताउँला,’ रेग्मीले भने ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक कमल थापाले प्रहरी प्रधान कार्यालयको निर्देशनमा केसीमाथि एक्सन लिइएको बताए । ‘यो प्रहरी प्रधान कार्यालयबाट भएको काम हो, जिल्लामा सिआईबीले सघाएको होला,’ थापाले भने ।
0 प्रतिकृया