साढे २१ अर्ब ऋणमा तयार भएकाे पोखरा विमानस्थलको लगानी कहिले उठ्ला ?
एक्सन खबर
पोखरा, १२ पुस । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि करिब २२ अर्ब लगानी लागेको छ । २०७३ बैशाख १ मा शिलान्यास भएको विमानस्थल करिव ७ वर्षपछि निर्माण पूरा भएको छ । विमानस्थल बनाउन चीनको एक्जिम बैंकबाट ऋण लिइएको हो । राष्ट्रिय गौरवको आयोजना निर्माण सकिएपछि यही जनवरी १ देखि अन्तर्राष्ट्रिय उडान भर्ने तयारी छ ।
तत्कालीन समयमा २१ अर्ब ४७ करोड लागत लाग्ने बताइएको थियो । इपिसी मोडलमा बनेको विमानस्थलमा काम ढिलो सकिए पनि लागत बढ्ने थिएन । एक्जिमले ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान दिएको हो । २ प्रतिशत ब्याजदरमा लिइएको बैंकको ऋण सरकारले तिर्न थालिसकेको छ ।
करिब ४ हजार रोपनी क्षेत्रफलमा विमानस्थल निर्माण गरिएको छ । यसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा लिइएको छ । तर, यहाँको भूगोलका कारणले ठूला जेट विमान उडान र अवतरण नहुने बताइएको छ । एयरबस मात्रै पोखरामा ल्याण्ड हुन सक्ने प्राविधिक बताउँछन् ।
पोखराको रनवे २ हजार ५ सय मिटर लामो छ । विमानस्थल तयार भएसँगै पोखरेलीको चासो यसको लगानी कसरी उठ्छ भन्नेतर्फ मोडिएको छ । नागरिक उड्ययन प्राधिकरणका जिम्मेवार अधिकारीहरुसँग लगानी उठाउने विषयमा छलफल भएको थियो । पुर्व अर्थसचिव रामेश्वर खनालले अहिलेको भन्दा पर्यटक बढाउन सके ९ वर्षमै लगानी उठ्ने बताएका छन् ।
हवाई विभागका पुर्व महानिर्देशक समेत रहेका खनालले अर्थतन्त्रको हिसावले यो महत्वपूर्ण रहेको बताए । ‘पोखरा आन्तरिक पर्यटकको हव हो । अन्य सहरसँग जोड्न सके नेपाली पर्यटकबाट मात्रै पनि यो इकोनोमेकल्ली भायवल हुन्छ,’ उनले भने, ‘परिकल्पना गरे अनुसार पर्यटक बृद्धी गर्न सके वर्षमा १ खर्वको आम्दानी गर्छ । यो हिसावले यहाँको लगानी ओभर इन्भेष्टमेण्ट भएको होइन ।’
२०१९ को तथ्यांक अनुसार ७ लाख प्यासेन्जर फ्लाइट भएको थियो । २०१६ मा साढे ३ लाख मात्रै जहाजमा आउजाउ गर्थे । लगानी उठाउन पर्यटकको संख्या अझै अधिक बढाउनुपर्ने विज्ञहरुको सुझाव छ । विमानस्थल बनाउन २०३२ सालमा जग्गा अधिग्रहण गरिएको थियो । ४० वर्ष जग्गा अधिग्रहणपछि पनि खेती गरिएको छ । पोखराका नागरिक अगुवा र व्यवसायीहरुले निरन्तर अनसन बसेपछि मात्रै विमानस्थल निर्माण चरणमा प्रवेश गरेको हो ।
महानिर्देशक प्रदीप अधिकारी पोखराको लगानी खासै महँगो नभएको बताउँछन् । ‘सुरुमा महँगो भयो, विमानस्थल बनाउन हुँदैन भन्ने छलफल भएको थियो । कष्ट एनालाइसिस गरेर हेर्दा गौतम बुद्धमा भन्दा पोखराको सस्तो परेको हो,’ उनले भने, ‘१४ वटा विल्डिङ निर्माण र रनवेमा सिमेण्ट कंक्रिट प्रयोग गरिएको छ । संरचना नेपालमा पनि यो लेवलको पुर्वाधार तयार भएको छ । यसमा गर्व गर्नुपर्ने धेरै ठाउँ छन् ।’ तर चुनौति भने पोखरामा अत्यधिक रहेको उनले सुनाए ।
बाटोको समस्या यथावत छ । फोहोर लगभग समाधान भएको छ । पर्यटनको राजधानी पोखरामा ४ बजेपछि फ्लाइट बन्द हुन्छ । त्यसैले राती पनि चल्ने यो विमानस्थल अति आवश्यक रहेकाे बताइएकाे छ । ‘यो विमानस्थलले पोखराको मात्रै होइन, देशको अर्थतन्त्रमा पनि सहयोग पुग्छ ।’ अधिकारीले भने । निर्माण सकिएसँगै विमानस्थलमा पहिलो फ्लाइटको लागि धेरै विदेशी हवाई कम्पनीले पनि चासो दिएका छन् ।
0 प्रतिकृया