विश्वफुटबलका महान खेलाडी पेलेको निधन
एक्सन खबर
काठमाडौं, १५ पुस । विश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा बिहीवार राति ब्राजिलको आओ पाउलोमा निधन भएको छ । अल्बर्ट आइन्सटाइन अस्पतालले पेलेको निधन भएको पुष्टि गरेको हो ।
पेले किड्नी र प्रोटेस्टको समस्यासँग केही वर्षयता जुधिरहेका थिए । पेलेकी छोरी केलि नासिमेन्तोले सामाजिक सञ्जालमार्फत आफ्नो बुवाको निधन भएको जनाएकी हुन् ।
पेले विश्वकप फुटबलको उपाधि तीनपटक जितेका छन् । पेलेले सन् १९५८, १९६२ र १९७० को विश्वकप उपाधी ब्राजिललाई जिताएका थिए ।
पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् । उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका छन् । उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।
उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो । पेलेलाई आफ्नो खेल जीवनमा 'फुटबलको राजा' भनेर पनि चिनिन्थ्यो । अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई सताब्दि-खेलाडी उपाधि दिएको छ । उनी राष्ट्रिय सकर ख्याति-बैठकका सदस्य हुन् ।
आफ्नो देश ब्राजिलमा उनको उपलब्धि र योगदानका कारण, पेलेलाई राष्ट्रिय नायकका रूपमा लिइन्छ । फिफाले आधिकारिक रूपमै विश्वभरका लागि उनलाई फुटबल राजदुत नियुक्त गरेको छ । उनलाई ब्राजिलको सरकारले राष्ट्रिय सम्पति घोषणा गरेको छ ।
गरीबहरूको सामाजिक अवस्था सुधार्ने नीतिहरूप्रति उनले गरेका समर्थनहरू निक्कै उलेख्य छन् । जब उनले एक हजारौँ गोल गरे, त्यसलाई उनले ब्राजिलका गरीब बालबालिकाका निम्ति समर्पित गरे ।
पेलेकाे निधनमा विश्व फसटवल जगत स्तब्ध भएकाे छ ।
0 प्रतिकृया