पानी भनेर स्प्रीट खाँदा १६ वर्षीय छात्राकाे मृत्यु, दर्जनौँ राउण्ड हवाइ फायर
एक्सन खबर
मुकेशकुमार यादव
सिरहा, २४ पुस । सिरहाको एक निजी विद्यालयको लापरबाहीका कारण छात्राको मृत्यु भएको छ । महिनावारीका कारण पेट दुखेपछि छात्राले औषधि सेवन गर्ने क्रममा पानीको सट्टा स्प्रिट खाँदा छात्राको ज्यान गएको प्रहरीले जनाएको छ । खानेपानीको बोतलमा रहेको स्प्रीट पिउँदा छात्राको मृत्यु भएको हो ।
मिर्चैयास्थित सगरमाथा हायर सेकेन्ड्री स्कूलमा अध्ययनरत सिरहा नगरपालिका–११ पदमपुरका धर्मेन्द्र महराको १६ वर्षीया छोरी सृजना कुमारी महराको मृत्यु भएको हो । पेट दुखेपछि औषधि सेवन गर्नेक्रममा स्प्रिट खाएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महिनावारीका कारण पेट दुखेपछि सृजनाले शुक्रबार स्कूलकै एक शिक्षिकाले दिएको औषधि सेवन गर्ने क्रममा पानीको सट्टा स्प्रिट पिएकी हुन् । तर, पानी भनेर स्प्रिट पिएकी उनलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा विद्यालयका संस्थापक तथा प्रिन्सिपल प्रदिप तिवारी केही भएको छैन भन्दै घर पुर्याइदिएको पीडित परिवारको आरोप छ ।
‘सृजनाले पानीको सट्टा थोरै स्प्रिट खाएकोले नसा लागेको छ, केहीबेर सुतेपछि ठिक भइहाल्छ’ भन्दै सृजनालाई घरमा छाडिदिएर प्रिन्सिपल तिवारी फर्किएको सृजनाका बुबा धर्मेन्द्र महराले बताए । उनले भने, ‘तिवारी सरले थोरै स्प्रिट खाएको भनेपछि हामीले पनि विश्वास गर्यौँ । विस्तारै अवस्था असहज बन्दै गएपछि अस्पताल पुर्यायौँ । तर, अस्पताल लैजाँदा ढिलो भइसकेको रहेछ । शिक्षकको विश्वासमा पर्दा छोरी गुमाउनु पर्यो ।’
मृतकको परिवारले संस्थापकसहित चार जनाविरुद्ध किटानी उजुरी दिएपछि प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ । सागरमाथा हायर सेकेन्डरी बोर्डिङ स्कुलका संस्थापक तथा प्रिन्सिपल प्रदिप तिवारी र सोही विद्यालयमा कार्यरत शिक्षिका अम्बिका लम्साललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यता आक्रोशित विद्यार्थीले बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम गरिरहेका छन् । जाम खुलाउने क्रममा भएको झडपमा इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरिबहादुर ओलीसहित सात जना सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी असई सुरेन्द्र यादवको थप उपचारको लागि काठमाडौं लगिएको र बाँकी समान्य घाइते भएकाले उनीहरुको स्थानीय मङ्गलम अस्पतालमा उपचार भइरहेकोे डीएसपी ओलीले जानकारी दिए।
प्रहरीले आन्दोलनमा विद्यार्थीभन्दा अन्यको घुसपैठ भएको आरोप लगाएको छ । उनीहरुले आन्दोलनलाई उत्तेजित बनाउने काम गरिरहेको र पेट्रोल बमसहित ढुङ्गामुडा गरेको प्रहरीको भनाइ छ । सडक जाम खुलाउन प्रहरीले दर्जनाैँ राउण्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ ।
0 प्रतिकृया