Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


ज्येष्ठ नागरिक ऐन पास गराउन प्रतिबद्ध छु : मन्त्री भगबती चाैधरी

एक्सन खबर
माघ, ९, २०७९


ज्येष्ठ नागरिक ऐन पास गराउन प्रतिबद्ध छु : मन्त्री भगबती चाैधरी

काठमाडौं, ९ माघ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पशुपति बृद्धाश्रमलाई व्यवस्थित र सुविधा सम्पन्न गराउन सक्दो सहयोग गर्ने बताएकी छिन् । आज सोमबार बृद्धाश्रमको भ्रमण गर्दै मन्त्री चौधरीले ज्येष्ठ नागरिकहरु इतिहासको साक्षी रहेकाले उनीहरुको संरक्षण, स्याहार सुसार गर्नु राज्यकै दायित्व भएकाले बृद्धाश्रमको विकास र सञ्चालनमा मन्त्रालयले ठोस योजनाहरु बनाएर काम गर्ने बताइन् ।

काठमाडौंकै गोठाटारमा व्यवस्थित बृद्धाश्रम, ज्येष्ठ नागरिक अस्पताल बनाउने सरकारको योजना रहेको र कार्य समेत अगाडी बढेको जनाउँदै मन्त्री चौधरीले परिवार नभएका, गाँस बास, कपासको ठेगान नभएका नागरिकको संरक्षण गर्नु राज्यको दायित्व नै रहेको बताउँदै ज्येष्ठ नागरिक ऐन पास गराउन आफु प्रतिबद्ध रहेको जनाइन् । ‘हरेक नागरिकको बाँच्न पाउने अधिकार संरक्षण गर्न राज्य जिम्मेवार छ । ज्येष्ठ नागरिकका हक अधिकार र उनीहरुलाई सहज र सुरक्षित जीवन बाँच्न पाउने बनाउन ज्येष्ठ नागरिक ऐन पारित गर्न म लाग्नेछु ।’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले बृद्धाश्रमलाई व्यवस्थित गर्न, कर्मचारी नियुक्ति गर्न र भौतिक पूर्वाधारहरु निर्माण गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने बताए ।

सोक्रममा बृद्धाश्रमका प्रमुख ओम प्रसाद पाण्डेले बृद्धाश्रमको भौतिक, आर्थिक अवस्था जानकारी गराउँदै २३० जना बृद्धबृद्धाहरुलाई राख्न सक्ने क्षमता भएपनि हाल ९० जना आश्रित रहेको जनाए । बृद्धाश्रममा कोही पनि नभएकाहरुलाई मात्र राखिएको जनाउँदै स्थानीय तहहरुले सिफारिस गरेकालाई राख्ने गरिएको तथा परिवार भएकाहरुलाई पारिवारिक पुर्नमिलन गराउँदै आएको बताए ।

सिमित बजेट, कमजोर पूर्वाधार भएकाले बृद्धाश्रम सञ्चालनमा समस्या भइरहेको उनको भनाई थियो । आश्रममा ११ जना पहिचान नै नखुलेका ज्येष्ठ नागरिकहरु रहेको जानकारी दिँदै उनीहरुले राज्यबाट प्राप्त गर्ने सुविधाहरु नपाएको पनि अवगत गराउँदै मन्त्रालयको सहयोगको अपेक्षा गरे ।

सोक्रममा मन्त्री चौधरीले आश्रित ज्येष्ठ नागरिकहरुलाई न्यानोकपडा पौष्टिक आहार पनि वितरण गरेकी थिइन् । निरीक्षणमा मन्त्री चौधरीसँगै मन्त्रालयका सचिव शर्मा, प्रवक्ता यमलाल भुसाल, स्वकीय सचिव द्रव्यराज चौधरी, सामाजिक शाखाका कर्मचारीहरुको समेत सहभागीता रहेको थियो ।















0 प्रतिकृया